रिपोर्टशुक्रवार, फाल्गुण १८, २०७४

पुनःनिर्माणमा नक्शा पासको अड्को

सविता श्रेष्ठ

लालपुर्जा, नक्शा पास, कित्ताकाट, मापदण्ड जस्ता थुप्रै प्रक्रियागत झमेलाका कारण भूकम्पपीडित वर्षौंसम्म पीडित नै बनिरहने छाँट देखिंदैछ।

ललितपुरको ठेचोमा पुनःनिर्माण हुँदै । तस्वीरहरुः सविता श्रेष्ठ

गोदावरी नगरपालिका १२ ठेचोका भाइकृष्ण महर्जन (३९) ले एक वर्ष लगाएर ३ आना जग्गामा साढे तीन तलाको घर बनाएका छन् । कात्तिक २०७३ सालमा घर बनाउन थाल्नुअघि उनले पहिलो किस्ता अनुदान पाएका थिए । तर, घर सकिएपछि पनि बाँकी दुई किस्ता अनुदान पाएका छैनन् । 

कारण, उनीसँग जग्गाको ६ भागमध्ये एकको मात्र लालपुर्जा छ । अरू कित्ता ‘फिल्ड बुक’ मा बाजेहरूको नाममा छ । बाजेका सन्तानहरूसँग भोगचलन गर्दा दाबी नगर्ने मञ्जुरीनामा बनाए पनि जग्गाको पुर्जा पाउन नसक्दा घरको नक्शा पास हुनसकेको छैन । “घर शुरू गर्नुअघि नै प्रक्रिया थाले पनि काम सकिएको छैन”, भाइकृष्ण भन्छन् । मेटलको मूर्तिका व्यवसायी उनले नक्शा पास नभएकै कारण घरजग्गा धितो राखेर ऋण लिन पाएनन् । खेत धितो राख्नुपर्‍यो ।

नक्शा पास नभएकै कारण गोदावरी १२ कुशिकोकी सुर्जमाया महर्जन (७२) ले पनि भूकम्पले भत्काएको पुख्र्यौली घरको पुनःनिर्माण रोकेकी छिन् । १ आना ३ पैसामा बन्दै गरेको उनको घरको जग्गा लालपुर्जामा भने १ आना १ पैसा मात्र देखिएपछि नक्शा पास हुनै सकेन । तीन तलाको घर बनाउने योजना भए पनि तल्लो तला ढलानपछि निर्माण स्थगित गरेकी सुर्जमाया भन्छिन्, “पुर्जामा २ पैसा जग्गा कम रै’छ, नक्शा पास हुन्छ कि हुन्न थाहा छैन ।”

भूकम्पपछि घर पुनःनिर्माणको अनुदान सम्झैता गरेका ललितपुरका २३ हजार २८५ परिवारमध्ये १ हजार २३ परिवारले मात्र अनुदानको तेस्रो किस्ता बुझेका छन् । यसको सोझे अर्थ हो, ९५ प्रतिशतभन्दा बढी भूकम्पपीडितले अझ्सम्म पूर्ण अनुदान पाएका छैनन् ।

लालपुर्जा नभएका, नक्शा पास नभएका, जग्गाको समस्या, मापदण्ड नपुगेका लगायत समस्याका कारण भूकम्पपीडितका लागि दोस्रो र तेस्रो किस्ता ‘आकाशको फल’ झै‌ बनेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, ललितपुरकी प्रमुख गोमादेवी ढकाल दोस्रो किस्ता राहत माग गर्ने भूकम्पपीडितको संख्या न्यून रहेको बताउँछिन् । “कतिपय नगरपालिकाले अभिलेखीकरण गरेर पुनःनिर्माण लचिलो बनाए पनि धेरैजसोमा समस्या कायम छ”, ढकाल भन्छिन् । 

अझै अन्योल
भूकम्पले घर भत्केपछि महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भीमसेन टोलकी मनमाया महर्जन (७६) दम्पती अहिले भाडामा बसिरहेका छन् । नगरपालिका क्षेत्रमा घर बनाउन कम्तीमा साढे २ आना जग्गा हुनुपर्ने नियम भएकोले २ पैसा जग्गामा बन्दै गरेको उनको घरको पनि नक्शा पास भएको छैन ।

ऋण लिएर घर बनाउँदै गरेकी उनी नक्शा पास भएर राहतको दोस्रो र तेस्रो किस्ता पाए आफ्नै घरमा बस्ने सपना पूरा हुने बताउँछिन् ।

सिद्धिपुरकै देवननीकी सूर्यमाया अवाले अमात्य (४६) को पनि उस्तै अवस्था छ । नयाँ घर बनाएर बस्न थाले पनि नक्शा पास हुनसकेको छैन । सरकारी अधिकारीले पुरानो र भित्री बस्तीको नियम नै आएको छैन भनेर नक्शा पास नगरिदिएको उनी बताउँछिन् । “मापदण्ड पालन गरेरै भूकम्प प्रतिरोधात्मक घर बनाएको छ तर पनि नक्शा पास भएको छैन”, उनी भन्छिन् ।

अर्का पीडित हुन्, ठेचोको लाईजोलका रत्नमान माली (३५) । ३ आनामा रहेको उनको पुख्र्यौली घरको लालपुर्जा नै थिएन । तीन कित्तामा रहेको स्वबासी जग्गालाई उनले २०७० र २०७२ मा गरी दुई कित्ता मात्र दर्ता गरेका थिए ।

भूकम्पमा घर भत्केपछि माघबाट नयाँ बनाउन थालेका छन् । “दर्ता नभएको बाँकी जग्गामा पहिले घर भए पनि नक्शामा घर नकोरिएकोले छूट जग्गामा परेको छ, छूट जग्गाको दर्ता नखुलेका कारण नक्शा पास हुनसकेको छैन”, उनी भन्छन् ।

नक्शा पास नभएपछि दोस्रो र तेस्रो किस्ता पाउने कुरै भएन । “पहिले यस्तो थिएन, नगरपालिका बनेपछि नियम पूरा गर्न गाह्रो भएको छ”, उनी भन्छन् ।

गोदावरी १२ लाक्षीटोलकी रेश्मा माली (३५) ले लालपुर्जा नहुँदा अनुदान सम्झैता नै गर्न पाइनन् । भूकम्पपछि २ आना जग्गामा दुईकोठे घर बनाएर बस्न थाले पनि सम्झैता नहुँदा अनुदान पाएकी छैनन् । “धान खेत बेचेर घर बनाएँ, सुको अनुदान पाएको छैन”, उनी भन्छिन् ।

एक वर्षअघि नै पुनःनिर्माण गरिएको घरमा बस्न थालेको सिद्धिपुर गच्छेंकी ज्ञानमाया महर्जन (५४) को परिवारले पनि अनुदानको दोस्रो र तेस्रो किस्ता पाएको छैन । उनलाई पनि सरकारी अधिकारीले नक्शा पास नभएकै कारण अनुदान रोकिएको बताउने गरेका छन् । 

लुमन्ती आवासका लागि सहयोग समूहले ठेचोमा बनाउँदै गरेका ११५ घरमध्ये ५२ घरको लालपुर्जा नै नभएको ठेचो परियोजना संयोजक यात्रा शर्मा बताउँछिन् ।

स्वबासी, बेनिस्सा र छूट जग्गासँगै पुर्जा भएका मध्येको पनि पुर्जा र फिल्डमा जग्गा फरक हुने समस्या देखिएको छ । लालपुर्जा भएका ६३ जनामध्ये अहिलेसम्म २१ परिवारले मात्र नक्शा पास भएर तेस्रो किस्ता अनुदान लिएका छन् । लालपुर्जा र नक्शा पास नभएकाले पनि ऋण गरेर घर भने बनाइसकेका छन् ।

लालपुर्जा बनाऊ, नक्शा पास गर र राहत लेऊ भन्न सजिलो छ तर, प्रक्रिया पुर्‍याउन भने उत्ति नै कठिन । पहिलेका गाउँ विकास समितिहरू अहिले नगरपालिकामा परे पनि समस्या झ्नै थपिएको छ । “सर्जमिन र अभिलेखीकरणबाट समस्या सुल्झ्न्छि कि भन्ने छ” शर्मा भन्छिन्, “तर, यत्तिले मात्र भूकम्पपीडितको समस्या समाधान हुँदैन ।”

जनप्रतिनिधिको पहल
ठेचोको तननी टोलका ज्ञानेन्द्र महर्जन (३७) ले लुमन्तीकै सहयोगमा घर पुनःनिर्माण गरे । पुख्र्यौली घरले चर्चेको दुई कित्तामा एउटा बाबु र अर्को बाजेको नाममा रहेकोले उनलाई नक्शा पास गर्नै समस्या भयो ।

१ आना ३ पैसा २ दाममा घर बनाउन थाल्नुअघि नै उनले नक्शा पासको प्रक्रिया शुरू गरेका थिए । “घर बनिसक्दा बल्ल नक्शा पास भयो” उनी भन्छन्, “बल्ल दोस्रो र तेस्रो किस्ता अनुदान लिन नाम पठाएको छु ।” खेती गर्ने साढे ३ आना पुख्र्यौली जग्गा बेचेर ज्ञानेन्द्रले घर बनाउन थालेका थिए ।

ठेचो परियोजनाले भूकम्पपीडितका समस्याहरूबारे गोदावरी नगरपालिकासँग छलफल गरेपछि मात्र ज्ञानेन्द्रजस्ता थुप्रैले नक्शा पास गर्न सकेका थिए । छलफलमा पुर्जा र फिल्डमा जग्गा फरक भएमा, भोगचलन गर्दै आएको जग्गाको केही भागको मात्र पुर्जा भएमा, साँध–सँधियारको मञ्जुरीनामाको आधारमा वडाबाट सर्जमिन गराई सिफारिशको आधारमा नगरपालिकाले नक्शा पास गर्ने निर्णय गरिएको थियो ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन पुनःनिर्माणमा लालपुर्जा नहुने, बेनिस्सा, गुठीको जग्गा लगायतका धेरै समस्या देखिएको बताउँछन् ।

“शहरको ‘कोर एरिया’ मा मापदण्ड परिमार्जन गरेर पहिलेकै स्थितिमा घर बनाउन सकिने, बाटो छोड्नु नपर्ने, साढे २ आना भन्दा कम जग्गामा पनि घर बनाउन सकिने लगायतका व्यवस्था गरिएको छ” उनी भन्छन्, “यसले जग्गा कम हुनेलाई पनि घर बनाउन सहज हुनेछ ।” उनी पुनःनिर्माणमा विद्यमान कानूनमै समस्या रहेको स्वीकार्छन् । नगरपालिकाले पुर्जा नहुनेलाई पनि फिल्ड नक्शाको आधारमा जग्गाको चार किल्लाको सर्जमिन गरेर घर बनाउन दिने निर्णय गरेको छ ।

(‘लुमन्ती आवासका लागि सहयोग समूह’ को सहकार्यमा)

प्रतिकृया दिनुहोस