रिपोर्टशुक्रवार, फाल्गुण १८, २०७४

महिलाको भरमा जुत्ता उद्योग

रामु सापकोटा

वार्षिक रु. १९ अर्बको कारोबार हुने मुलुकका जुत्ता उद्योगहरू महिला कामदारको भरमा चलिरहेका छन्।

सुकेधाराको नीलोपुलस्थित किरण शूज म्यानुफ्याक्चरर्समा गोल्डस्टार जुत्ता स्टिचिङ (सिलाइ) गरिरहेका महिला कामदार । तस्वीरहरुः रामु सापकोटा

फूटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) का अनुसार देशभित्रका उद्योगमार्फत वर्षमा आठ करोड जोर जुत्ता–चप्पल उत्पादन हुन्छ । जसबाट करीब रु.१९ अर्ब बराबरको कारोबार हुने गरेको छ ।

यो नेपाली बजारमा हुने कुल जुत्ता–चप्पल कारोबारको आधा हो । बाँकी ५० प्रतिशत जुत्ता–चप्पल आयात गरिन्छ । कुल बजारको करीब आधा कारोबार ओगटेको नेपाली जुत्ता उत्पादनमा झ्ण्डै ५० प्रतिशत कामदार महिला छन् । 

पुरुष प्राधान्य समाजमा धेरैलाई लाग्न सक्छ, यतिका नेपाली जुत्ता–चप्पल उद्योगहरूमा काम गर्ने पुरुष कामदार नै होलान् । तीन वर्षअघिसम्म यो अनुमान ठीक हुन्थ्यो, अहिले परिस्थिति बदलिएको छ । नेपालका जुत्ता उद्योगहरू अहिले पूरापूर महिला कामदारको भरमा छन् ।

३ फागुन, साँझ ४:१५ बजे । सुकेधाराको नीलोपुलस्थित भवनको तेस्रो तलाको एउटै हलमा ३७० जना महिला गोल्डस्टार जुत्ता स्टिचिङ (सिलाइ) गरिरहेका थिए । पाँच वर्षअघि यो उद्योगमा महिला कामदारको संख्या जम्मा २० प्रतिशत थियो ।

अहिले ६५ प्रतिशत महिला रहेको गोल्डस्टार जुत्ता उत्पादन गर्ने किरण शूज म्यानुफ्याक्चरर्सका मानव संसाधन विभाग प्रमुख गौरव बस्नेत बताउँछन् । उनका अनुसार, यो बाहेकका १० वटा स्टिचिङ युनिटमा ८० प्रतिशतभन्दा बढी महिला छन् । जुत्ता सिलाउने मेशीनमा किशोरीदेखि प्रौढावस्थातिर ढल्कन लागेका महिलासम्म व्यस्त थिए ।

युनिटका इन्चार्ज अर्जुनबम मल्लका अनुसार उद्योगमा ‘अपर’ र सोल कटिङदेखि सिलाउने, किला ठोक्ने, पालिस लगाउने र प्याकिङसम्मका काममा महिला संलग्न छन् । उनले कटिङ र स्टिचिङदेखि प्याकिङसम्मका काममा धेरैजसो महिला रहेको बताए ।

बालाजुस्थित कोसेली छाला जुत्ता उद्योगमा पनि किरण शूजमा जस्तै महिला कामदार बढी छन् । २ फागुनको दिउँसो दुई बजे बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा पुग्दा दुई पुरुष र बाँकी सबै महिला जुत्ताको अपर बनाउने, पोलिस गर्ने र प्याकिङको काममा व्यस्त थिए ।

उद्योगका मार्केटिङ प्रमुख खड्क श्रेष्ठ २०५६ सालमा उद्योग शुरू हुँदा एकजना पनि महिला कामदार नभेटिएको बताउँछन् । “अहिले लगभग शतप्रतिशत कामदार महिला छन्” उनी भन्छन्, “सबैजसो ठूला जुत्ता उद्योग महिला कामदारको बलमा अगाडि बढेका छन् ।”

उद्योग मन्त्रालयका अनुसार, नेपालमा दर्ता १५०० जुत्ता–चप्पल उद्योगमध्ये ८० प्रतिशत चलेका छन् । तीमध्ये पनि १५० उद्योग व्यावसायिक रूपमा चलेका छन् । यी उद्योगमा कार्यरत ५५ हजार कामदारमध्ये ४० प्रतिशत महिला छन् ।

कोसेली छाला जुत्ता उद्योगका संचालक समेत रहेका एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठ एक वर्षभित्र महिला कामदारको संख्या ५० प्रतिशतभन्दा बढी पुग्ने बताउँछन् । उद्योगहरूलाई महिला मैत्री बनाएर विदेशी कामदारलाई प्रतिस्थापन गर्ने हिसाबले काम गरिरहेको उनको भनाइ छ ।

नेपाल महिला उद्यमी महासंघका द्वितीय उपाध्यक्ष मिरु रायमाझी खत्री जुत्ता उद्योगमा महिला कामदार बढ्नुलाई नेपाली समाज परिवर्तन भएको रूपमा बुझनुपर्ने बताउँछिन् । उनी भन्छिन्, “महिलाहरू घरायसी कामको घेराबाट निस्केर उद्योगमा आउन थाल्नु ठूलै उपलब्धि हो ।”

काभ्रेकी मनु तामाङ (२२) २०६९ सालदेखि किरण शूज म्यानुफ्याक्चरर्समा गोल्डस्टार जुत्ता बनाइरहेकी छन् । एसएलसी दिएर घरमा खाली बसेको बेला एकजना आफन्तले ‘महिलालाई कामको राम्रो अवसर भएको’ भन्दै यो क्षेत्रमा ल्याएको उनी बताउँछिन् ।

किरण शूजको नीलोपुलस्थित स्टिचिङ युनिटमा अनुभवी कामदार बनेकी उनले तालिम लिएर काम थालेपछि केही दिनमै दक्ष भएको बताउँछिन् । “रोजगारीका लागि विदेश भन्दा स्वदेशको यो काम धेरै राम्रो छ” मनु भन्छिन्, “परिवार सँगै बसेर यत्तिको कमाइ हुन्छ भने धेरै के खोज्नु ?”

गुल्मी, सिमलटारीकी मुना जिसी (२८) ले पनि २०६९ सालबाट गोल्डस्टार जुत्ता सिलाउन थालेकी हुन् । अहिले जिसी किरण शूजमा दैनिक आठघण्टा काम गर्छिन् । उनले पनि वैदेशिक वा अन्य रोजगारभन्दा यही काम ठीक भएको बताइन् । दोलखा, चरिकोटकी ३४ वर्षीया अनिता बस्नेत चाहिं बालाजुको कोसेली छाला जुत्ता उद्योगमा काम गर्छिन् ।

यो उद्योगमा उनीसहित ३५ जना महिला कामदार छन् । दैनिक बिहान नौदेखि अपराह्न पाँच बजेसम्म २० जोर जुत्ताको अपर बनाउने अनिताले त्यसबाट मिल्ने पारिश्रमिकप्रति आफू साँच्चै सन्तुष्ट रहेको बताइन् । चरिकोटकै कमला थापा २०६४ यता कोसेलीमा जुत्ताको अपर बनाउने काम गर्छिन् ।

खटेर काम गर्दा मासिक रु.३० हजारसम्म पारिश्रमिक पाइने उनले बताइन् । उनको भनाइले, छाला–जुत्ता उद्योगमा कार्यरत महिलाहरूको मासिक कमाइको रूपरेखा बताउँछ ।

किरण शूजमा नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ र पर्साका महिला धेरै छन् । २०७२ वैशाखको महाभूकम्पपछि जुत्ता कारखानाहरूमा महिला कामदारको संख्या बढेको हो ।

भूकम्पअघि किरण शूजमा कुल २४०० कामदारमध्ये ६०० महिला थिए । अहिले २३७३ कामदारमध्ये १४१४ महिला छन् । किरण शूजका मानव संसाधन प्रमुख गौरव बस्नेत गत कात्तिकयता एकहजार महिला कामदार थपिएको बताउँछन् । त्यस्तै, कोसेलीमा कार्यरत ५५ कामदारमध्ये ३५ जना महिला छन् । उद्योगले संचालन गरिरहेको तालिममा सहभागी ८० मध्ये ७६ जना महिला छन् ।

यस कारण बढे महिला
आर्थिक वर्ष २०७२/७३ मा रोजगारीका लागि विदेशिएका ४ लाख १८ हजार ७१३ मध्ये पुरुष ३ लाख ९९ हजार ४०६ जना रहेको वैदेशिक रोजगार विभागको आँकडाले देखाउँछ । आव २०६६/६७ मा विदेशिएका ३ लाख ३ हजार ७७१ मध्ये पुरुष २ लाख ९९ हजार ३९५ जना थिए ।

रोजगारीका लागि विदेशिने पुरुष कामदारको संख्या बढिरहँदा महिलाहरूको रोजाइमा स्वदेशकै उद्योगहरू पर्न थालेको देखिन्छ । किरण शूजका बस्नेत पुरुष कामदार विदेशिंदा उद्योगमा महिलालाई तालिम दिएर दक्ष जनशक्तिको अभाव पूर्ति गर्नुपरेको बताउँछन् ।

उद्योगले शुरूमा ६ महीने तालिम दिएर काममा लगाउने गरेको छ । महिलालाई प्रोत्साहित गर्न तालिम अवधिमा मासिक रु.४००० भत्ता दिने गरिएकोमा अहिले पूरै तलब (रु.९,७००) नै दिन थालेको छ । कोसेलीका मार्केटिङ प्रमुख खड्क श्रेष्ठ काममा पुरुषभन्दा महिला टिकाउ हुने बताउँछन् ।

उनका अनुसार, ६० प्रतिशत हाराहारी पुरुष कामदारले बीचमै काम छाड्छन् भने महिलामा त्यो दर ५ प्रतिशत छ । त्यसैले उद्योगहरूले महिलालाई प्रोत्साहन गरेका छन् । परिणाम, जुत्ता उद्योगहरूमा गाह्रो मानिने मेशीन चलाउने काम पनि महिलाहरूले थालेका छन् ।

जुत्ता उद्योगमा राम्रो वातावरण पाएपछि एउटै परिवारका एकभन्दा बढी सदस्यले काम गरिरहेको किरण शूज म्यानुफ्याक्चरर्सका मानव संसाधन प्रमुख बस्नेत बताउँछन् । “हाम्रैमा करीब २०० जोडी श्रीमान्–श्रीमतीले सँगै काम गरिरहेका छन्” उनी भन्छन्, “एकै घरका देवर–भाउजूहरू पनि उत्तिकै छन् ।”

महिला कामदारका लागि पहिले तालिममा लगानी गर्नुपरे पनि उनीहरूको कामले पछि राम्रो ‘बिजनेश’ भएको उद्योग संचालकहरूको अनुभव छ । उनीहरूका अनुसार, पुरुषले छिटो सिक्छन्, तर औसत स्तरको काम गर्छन् । महिलाले ढिलो सिक्छन्, तर पछिसम्म ध्यान दिएर राम्रो काम गर्छन् ।

त्यसैले, उद्योगहरूको रोजाइमा महिला कामदार परेको किरण शूजका मानव संसाधन प्रमुख बस्नेत बताउँछन् । “उद्योगहरूमा उपस्थिति बढेसँगै महिला कामदारको हातमा पैसा पुगेको छ” उनी भन्छन्, “त्यो पैसाले पूरा परिवारको जीवनशैलीमा परिवर्तन आएको छ ।”

बदलियो जीवन
किरण शूजमा काम गर्ने काभ्रेकी मनु तामाङको मासिक तलब रु.१३ हजार छ । तलबको आधा रकम घर खर्चका लागि आमालाई दिने र ‘ओभर टाइम’ सहितको बाँकी रकम बचतमा राख्ने उनी बताउँछिन् ।

अहिले उनको खातामा बचत, मनमा आत्मविश्वास र समाजमा इज्जत पनि छ । “पहिला ‘सार्कीले गर्ने काम’ भन्दै उडाउनेहरू अहिले ‘मलाई पनि काम लगाइदेऊ’ भन्छन्” उनी भन्छिन्, “कोही सरसापट माग्छन् ।”

अर्थात्, जुत्ता उद्योगमा काम गर्ने महिलाहरू आर्थिक रूपमा स्वतन्त्र हुन थालेका छन् । किरण शूजमा जुत्ता सिलाउने गुल्मीकी मुना जिसी हुन् या कोसेलीकी कमला थापा; घरखर्च र छोराछोरीको स्कूल फी टारेर मासिक बचत गरिरहेका छन् ।

किरण शूजमा काम गर्ने गोमा दाहालले लाख, करोड बचत नभए पनि दुःख–बिमार वा त्यस्तै अपझर्ट पर्दा अरूसँग माग्नु नपरेको बताइन् । जुत्ता सिलाउने कामले आर्थिक रूपमा स्वतन्त्र बनाएको दाहालको अनुभव छ ।

कोसेली छाला जुत्ता उद्योगमा काम गर्ने दोलखाकी कमला थापा दैनिक सरदर २० जोर जुत्ताको अपर बनाएर मासिक रु.३० हजारसम्म कमाउँछिन् । उनका अनुसार, कारखानामा जति धेरै काम गर्‍यो, उति आम्दानी हुन्छ ।

त्यसरी कमाएको पैसा घरायसी खर्च गरेर बाँकी ब्यांकमा जम्मा गर्ने गरेको उनले बताइन् । किरण शूज म्यानुफ्याक्चरर्सका प्रमुख कार्यकारी अधिकृत निपुन गोयल मासिक आय र बचतले सानै संख्यामा भए पनि महिला सशक्तिकरणमा ठूलो टेवा पुगेको बताउँछन् । उनी भन्छन्, “अरूले नारा मात्र लगाएका छन्, हामीले व्यवहारमै उतारेका छौं ।”

(अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पुनः प्रकाशित ।)

प्रतिकृया दिनुहोस