मध्यमस्र्याङ्दीको मर्मत तीव्र रुपमा हुँदै
लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत तीव्र रुपमा भइरहेको छ ।
मर्मतका लागि दैनिक चारसय मजदुरले २४ सै घण्टा काम गरिरहेका छन् ।
पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम भइरहेको छ ।
मर्मत भइरहेकाले १० फागुनबाट विद्युत् उत्पादन बन्द रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानेले शनिबार स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत्को माग बढी हुने साँझ र बिहान (पिकआवर) मा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमस्र्याङ्दी बन्द हुँदासमेत लोडसेडिङ गर्नु नपरेको बताए ।
वैकल्पिक व्यवस्थाको रुपमा कुलेखानीबाट विद्युत् आपूर्ति गरिरहेको घिसिङले जानकारी दिए ।
केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि भइरहेको छ । बालुवाको बिक्रीबाट मात्रै करीब १८ लाख रुपैयाँ आम्दानी हुने केन्द्रले अनुमान गरेको छ ।
बालुवा निकालिएपछि जलाशयको भण्डारण क्षमता बढ्ने र विद्युत् उत्पादनमा वृद्धि हुने प्राधिकरणले जनाएको छ ।