रिपोर्टआइतवार, फाल्गुण १३, २०७४

कर्णालीमा विकासको छटपटी

सञ्जीव शर्मा

कर्णालीका विकट गाउँहरू सडकसँग जोडिंदै गर्दा शताब्दियौंदेखिको कष्टबाट मुक्त हुने छटपटी बढेको छ।

र्‍याप थ्रीले निर्माण गरेको कालिकोटको सानीघाट–स्युना–सिपखाना सडक । तस्वीरहरुः सञ्जीव शर्मा

“ऊ त्यही हो, बुद्धिसागर हिंडेको बाटो ।” सुर्खेत कटेपछि कर्णाली नदीको बायाँ किनारतर्फको गोरेटो देखाउँदै हामी सवार गाडीका चालकले भने । साहित्यकार बुद्धिसागरले उपन्यास कर्नाली ब्लुज मा उल्लेख गरेको प्रसंग कोट्याएका थिए, उनले । 

“सास्ती थियो है ?”

“अहिले सुविधा भयो तर, जोखिम पनि बढेको छ । सडक बनेपछि दुर्घटनामै सयौंको ज्यान गइसक्यो ।”

सुर्खेतबाट उत्तर लागेपछि दश वर्षअघि खुलेको राजमार्ग कर्णाली नदीको तीरैतीर अगाडि बढ्छ, दैलेख कालिकोटहुँदै जुम्लासम्म । सडकलाई नहेरेर पर–पर आँखा पुर्‍याउने हो भने नदीको तीर मनोरम छ, जुम्लासम्मै ।

कालिकोटको मान्म र रासकोट जोड्ने कर्णाली नदीको झोलुङ्गे पुल ।

कर्णाली नदीमाथिको ठाडो भीर खोलेर बनाउन खोजिएको यो राजमार्ग अहिलेलाई साँघुरो कच्ची सडक मात्रै हो । सडकमा गरिएको ओटासिल (एक तहको पातलो कालोपत्रे) दुई वर्ष पनि टिकेन, पहिरो रोक्ने व्यवस्था नहुँदा वर्षायाममा सडक बन्द रहन्छ । ९ ठाउँमा बन्नुपर्ने पुलको कुरै मात्र भइरहेको छ ।

र पनि, धेरै ठूलो काम भएको छ, कालिकोटबाट कैलाली पुग्न अब बुद्धिसागरहरूले तीन–चार दिन हिंड्नुपर्दैन । जोखिम भए पनि दिनहुँ मानिस र सामान बोकेका ट्रक, बस, ट्रयाक्टर र जीपहरू सुर्खेत–दैलेख–कालिकोट हुँदै मुगु र जुम्लासम्म ओहोरदोहोर गर्छन् ।

नेपाल र भारतमा उत्पादित लत्ताकपडा, सिमेन्ट, चाउचाउ र तेलदेखि तरकारीसम्म दुई दिनमै सुर्खेतबाट जुम्ला पुग्छन् । माथिका स्याउ, सिमी, ओखर तिनै गाडी चढेर सजिलै समथर झर्छन् । पहाडले किन्ने वस्तु धेरै र बेच्ने थोरै छ ।

सानीघाटबाट सिपखाना
गएको १६ माघमा कालिकोट सदरमुकाम मान्मबाट पश्चिम कर्णाली पारि पर्ने रासकोट नगरपालिकामा लस्करै ९ वटा जीप पुगे यही राजमार्ग आधा छिचोलेर । यसअघि एकैपटक यतिका जीप नपुगेकाले पनि रासकोटमा ठूलै रमिता भयो । जीप हाँक्नेदेखि त्यसमा चढेर त्यहाँ पुग्नेहरूले बाजागाजासहितको स्वागत पाए, विकास भएको भन्दै स्थानीयले जयगान गाए ।

सडक हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीय ।

बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) को सहयोगमा आएको ग्रामीण पहुँच कार्यक्रम– तेस्रो (र्‍याप थ्री) ले स्थानीय समुदायको सहभागितामा निर्माण गरेको १८ किलोमिटर लामो सडक रासकोट नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम थियो, त्यो । विद्यार्थी झाेला कक्षामै छोडेर दौडिंदै गाडीको ताँती हेर्न आएका थिए ।

शिक्षकहरू समेत नगरपालिकाको कार्यक्रममा तानिएपछि सडक क्षेत्रका सबै विद्यालय बन्द भए । समारोहमा भाषण गर्ने दलका नेतादेखि भेला भएका मतदातासम्मले र्‍यापजस्तो कार्यक्रमको म्याद थपिनुपर्ने माग गरे । रासकोट–२ बुद्धिसैनकी लछु चौलागाईंले खुशी हुँदै भनिन्, “विकास आयो, कहालीलाग्दो भीरमा आफूभन्दा ठूलो भारी बोकेर हिंड्ने दिन सकियो ।” 

बेलायती सरकारको सहयोगमा निर्मित कालिकोटको सानीघाट–स्युना–सिपखाना सडक रासकोट नगरपालिकालाई हस्तान्तरण गर्दै डीएफआईडी नेपालका प्रमुख रुरिक मार्सडेन ।

आवश्यकता र विकास पनि हो सडक, तर यसलाई आम्दानीसँग जोड्न सक्नुपर्दोरहेछ । त्यसैले र्‍यापको जयगान भएको रहेछ । मानव विकास सूचकांकमा निकै पछाडि परेको जिल्ला कालिकोटमा स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन । यहाँका अधिकांश मानिस खेतीको सिजनपछि मजदूरी गर्न कालापहाड (भारत) जान्छन् ।

तीन वर्षसम्म सानीघाट–स्युना–सिपखाना १८ किमी सडक बनिरहँदा चाहिं रासकोट क्षेत्रका मानिसहरू कालापहाड (भारत) जानु परेन । डोजर, एक्सकाभेटर जस्ता यन्त्रको साटो कुटोकोदालोबाटै सडक खनिएकाले स्थानीयवासीले काम पाए ।

सडक निर्माणमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइएको र समान ज्याला दिइएकाले महिलाहरूको हातमा पनि रकम आयो । पहिले त रुपैयाँ चिन्नै गाह्रो भएको रासकोट–६ कि मेमकुशा शाहीले बताइन् । “अहिले त पैसा पनि चिनियो, दुई चार रुपैयाँका लागि लोग्नेमान्छेको मुख ताक्नु पनि परेन” उनले भनिन्, “हातमा पैसा पर्न थालेपछि गाउँमा महिलामाथि हिंसा पनि घटेजस्तो छ ।”

सडकले गर्दा महिलाको हातमा पैसा आएपछि घरेलु हिंसा पनि कम भएको छ। तस्वीरमा मेमकुशा शाही (४७) रासकोट– ६, कालिकोट

सडकको कामले आम्दानी हुन थालेपछि थुप्रैले छोराछोरीलाई विद्यालयमा नियमित बनाए । रासकोट–२ बुद्धिसैनकी रंगीता शाहीले त छोरालाई पढ्न बुटवल पठाइन् ।

यो सडक अहिले कर्णाली क्षेत्रको नमूना बनेको छ । कुटोकोदालाले खनिएको सडकमा घुम्तीहरू फराकिला छन् । माटोको राम्रो व्यवस्थापन भएको छ । पहिरो खस्न नदिन पर्याप्त व्यवस्था मिलाइएको छ । सडक छेउका धारा, विद्यालयसमेत मर्मत गरिएका छन् ।

तर सडक निर्माण सकिएसँगै आम्दानीको बाटो बन्द भएको छ । डीएफआईडीको आर्थिक सहयोग र स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको संयोजनमा रहेको र्‍याप थ्रीको यो कार्यक्रम सम्पन्न भइसकेपछि अब फेरि भारत नै जानुपर्ने हो कि भन्ने चिन्ता छ, स्थानीयमा ।

यद्यपि, सडक खनेका सबैले ज्यालाको १० प्रतिशत अनिवार्य बचत गर्नुपर्ने प्रावधान अनुसार करीब रु.३ करोड जम्मा भएको छ । त्यसबाट सहकारीमार्फत आयआर्जनको काम गर्ने योजनामा छन्, स्थानीय । र्‍यापले तरकारी खेती, बीउ उत्पादन र बचतका उपाय पनि सिकाएको छ । तर त्यो पर्याप्त देखिंदैन ।

करीब रु.३३ करोडको लागतमा सम्पन्न सानीघाट–स्युना–सिपखाना सडकले यस क्षेत्रका १२ गाउँलाई हुम्लासम्म पुग्ने निर्माणाधीन कर्णाली कोरिडोरसँग जोडेको छ । कर्णाली कोरिडोरले कर्णाली राजमार्गमा जोडेको छ । तर कर्णाली नदीमा पुल नहुँदा फेरीबाट उता पुगेका गाडीहरू उतै रोकिन्छन् । पैदल यात्रुले राजमार्ग भेट्न झाेलुङ्गे पुल तर्नुपर्छ ।

कालिकोटको माथिल्लो भेगमा स्याउ खेती भर्खर विस्तार हुँदैछ । केही ठाउँमा धमाधम ओखर रोपिंदैछ र विस्तारै पशुपालन पनि बढ्दैछ । ठाडो भिरालो चट्टानी जमीन भएको यो ठाउँमा असाध्यै गरीबी छ ।

कालिकोटका अरू ठाउँभन्दा हरिलो–भरिलो देखिने रासकोटका नवराज महताराले तरकारी राम्रोसँग खान पनि सडक बनेपछि नै सिकेको बताए । महतारा भन्छन्, “सडकले आम्दानी बढ्यो, विकास आयो, देख्यौं जान्यौं ।”

सडकले धेरै देखायो, सिकायो तर अब आम्दानी कसरी बढाउने भन्ने छट्पटी छ, उनीहरूमा ।

 

प्रतिकृया दिनुहोस