थप समाचारशुक्रवार, फाल्गुण ११, २०७४

लिम्बु भाषालाई कामकाजी भाषाका रुपमा प्रयोग गर्न माग

हिमालखबर

मातृभाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न माग गर्दै धरान उपमहानगरपालिकामा लिम्बु भाषामा पहिलो पटक निवेदन परेको छ ।

सिरिजङ्गा अनुसन्धान केन्द्र धरानले लिम्बु भाषा र सिरिजङ्गा लिपिमा मागपत्र बुझाउँदै निवेदन दर्ता गरेको हो ।

आज केन्द्रका सचिव अमित थेवेको नेतृत्वमा धरान उपमहानगरपालिका पुगेको टोलीले नगर प्रमुख तारा सुब्बालाई कार्यकक्षमा भेटेरै पत्र बुझाएको थियो ।

सचिव थेवेले भने, ‘यसरी निवेदनहरू दिन सकिए मात्रै राज्यका निकायहरूमा मातृभाषाको व्यावहारिक प्रयोग शुरु हुनेछ ।’

प्रदेश–१ मा लिम्बु भाषीहरू तेस्रो ठूलो सङ्ख्यामा रहेका छन् ।

२०६८ को जनगणनाअनुसार १४ जिल्लाको यस प्रदेशमा ७.१ प्रतिशत लिम्बु भाषी समुदायहरू छन् । नेपाली र मैथिलीपछि प्रदेश–१ मा लिम्बु भाषा प्रयोग भइरहेको छ ।

मातृभाषामा परेको निवेदनलाई समुदायको सकारात्मक पहलकदमीका रूपमा लिँदै नगर प्रमुख सुब्बाले निरन्तरता दिन अभियानकर्मीहरूलाई आग्रह गरेका छन् ।

लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई पहिलो चरणमा लिम्बु बाहुल्य क्षेत्रबाट प्रयोगमा ल्याउन सकिने लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय सदस्य प्रदीप नेयोङले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस