मनोनित राष्ट्रिय सभा सदस्यप्रति कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यमा मनोनित भएका तीन सदस्यप्रति आपत्ति जनाएको छ ।
सरकारले आधारहिन तरिकाले राष्ट्रियसभा सदस्यमा नयाँ नाम सिफारिश गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला राई पौड्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिश गरेको थियो ।
लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जनालाई राष्ट्रिय सभामा मनोनित गरेकी छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई सिफारिश गरेको थियो ।
५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीनजना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि नै ७ प्रदेशबाट ५६ जना सदस्य राष्ट्रिय सभामा निर्वाचित भइसकेका छन् ।