खतिवडा, विडारी र पौड्याल राष्ट्रिय सभा सदस्यमा मनोनित
राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला राई पौड्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् ।
संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारले सिफारिश गरेका तीनै जनालाई मनोनित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, विडारी र पौड्याललाई राष्ट्रिय सभा सदस्यको लागि सिफारिश गरेको थियो ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिश गरेको थियो।
देउवा सरकारको उक्त सिफारिश राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थिएन ।