नेविसङ्घः सोह्र जना अध्यक्षका आकाङ्क्षी
२३ साउनदेखि काठमाडौंमा शुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११औं राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।
नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, रत्न कार्की, राजीव ढुङ्गाना, क्षितिज भण्डारी, लक्ष्मण आचार्य, अमृत पन्थी र दीपक भण्डारी पनि आकाङ्क्षी देखिएका छन् ।
नेविसङ्घका प्रवक्ता युपी लामिछानेले धेरै वर्ष महाधिवेशन र स्ववियु निर्वाचन नभएका कारणले अध्यक्षको आकाङ्क्षी धेरै देखिएको बताए ।
विसं २०६४ यता नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । ६ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गराउन जिम्मा पाएका अध्यक्ष रञ्जित कर्णले महाधिवेशन गराउन असफल भएका थिए ।
यही साउन २३ देखि २५ गतेसम्म भृकुटीमण्डपमहुने महाधिवेशनले १६१ कार्यसमिति चयन गर्नेछ ।