एमाले सांसद शाहीद्वारा राजीनामा
मन्त्री बन्न नपाएको भन्दै एमाले सांसद चन्द्रबहादुर शाहीले सांसद् पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेको तर्फबाट मुगु प्रदेश (ख) बाट प्रत्यक्ष निर्वाचित शाहीले प्रदेश–६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
एमाले प्रदेश–६ का संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजीनामा दिएको शाहीले बताए ।
६ फागुनमा विस्तार भएको मन्त्रिमण्डलमा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध राजीनामा दिएको शाहीको भनाइ छ ।
सांसद् पदबाट मात्र नभएर पार्टीबाट पनि राजीनामा दिने शाहीले बताए ।
शाही एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत हुन् । रासस