आलोपालो गरेर प्रधानमन्त्री बन्नु गलतः माधव नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बन्नु गलत हुने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै नेपालले प्रधानमन्त्रीमा आलोपालो प्रणाली लगाउन नहुने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आज रौतहटमा पत्रकारहरूसँग कुरा गर्दै बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताए ।
नेपालले एमाले र माओवादी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे ।
नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो । रासस