प्रस्तावित मेडिकल कलेज सञ्चालकका घरमा ओली र दाहालको भेटवार्ता
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको विषयमा छलफल गर्न व्यवसायीका निजी घर छनोटमा पर्ने गरेका छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने भेटघाट पार्टी कार्यालय, अफ्नै आवास वा सरकारी कार्यालयमा नभई व्यवसायीका घरमा हुन थालेपछि ती घर र घरधनीले पनि चर्चा पाइरहेका छन् ।
दुवै नेताबीच आज, ६ फागुनमा पनि भक्तपुरस्थित एक निजी निवासमा भेटघाट भएको छ ।
यसअघि दुई नेताबीच शैलुङ कन्स्ट्रक्सनका प्रोप्राइटर शारदाप्रसाद अधिकारीको ललितपुरको मानभवनस्थित घरमा भेटघाट भएको थियो ।
दुई दलका शीर्ष नेताबीच आजको भेट ब्यापारी तथा झापाको विर्तामोडस्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँको घरमा भएको हो । दुवै नेताको दिवा–भोजन पनि प्रसाईँकै घरमा भयो ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल निकट प्रसाईँ बी एण्ड सीलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन प्रयासरत छन् । उनको यो प्रयास डा केसीको आन्दोलनका कारण रोकिएको छ ।
९ मंसीर २०७३ मा शिक्षा मन्त्रालयले बी एण्ड सीलाई सम्बन्धनका लागि प्रारम्भिक राय दिन नेपाल मेडिकल काउन्सिललाई आग्रह गरेपछि काउन्सिलले कलेजको निरीक्षणका लागि निरीक्षण टोली झापा पठाएको थियो ।
त्यतिबेला काउन्सिलका रजिष्ट्रार डा. दीलीप शर्माले तत्कालीन प्रधानमन्त्री दाहालको दबाबका कारण कलेजको निरीक्षण गरेर प्रारम्भिक राय मन्त्रालय पठाउनुपरेको हिमाललाई बताएका थिए ।
दाहालको दबाबपछि काउन्सिलले १७ मंसीरमा शिक्षा मन्त्रालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन ‘प्रारम्भिक राय परामर्श’ दिएको थियो ।
अहिले बि एण्ड सीलाई सम्बन्धन दिने प्रक्रिया शिक्षा मन्त्रालयमा अड्किएको छ । केयू मन्त्रालयको पत्रको पर्खाइमा छ ।
यसअघि बी एण्ड सी अस्पतालको उद्घाटन पनि दाहालले नै गरेका थिए ।
-रामु सापकोटा