सम्पादकीयआइतवार, फाल्गुण ६, २०७४

राजनीतिबाट राजकाजतर्फ (सम्पादकीय)

किरण नेपाल

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको करीब साढे दुई महीनापछि मुलुकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीका रूपमा पाएको छ ।

निर्वाचन आयोगले नवनिर्वाचित संघीय संसद्को सम्पूर्ण परिणाम बुझएको भोलिपल्ट ३ फागुन २०७४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा (माओवादी केन्द्र) समेतको समर्थनमा प्रधानमन्त्री बन्न सफल ओली परिवर्तित राज्यव्यवस्थाले अंगीकार गरेको शासकीय संरचनाको सर्वोच्च कार्यकारी स्थानमा जनताबाट अनुमोदित भएर पुग्ने तेस्रो नेता हुन् ।

नेपाली नागरिकहरूले २००७ सालको परिवर्तनबाट सुनिश्चित शासन व्यवस्थाको कमान २०१५ सालको आम निर्वाचनमार्फत विश्वेश्वरप्रसाद कोइरालालाई सुम्पेका थिए भने २०४६ पश्चात्को व्यवस्थामा उनकै भाइ गिरिजाप्रसाद कोइरालालाई, २०४८ सालमा ।

नागरिक सहभागितामा हुने राजनीतिक परिवर्तनको मुख्य आधार भनेको नागरिक आकांक्षा र असन्तुष्टिको अनमेलबाट निसृत बल हो– लोकतन्त्रमा यसको प्रयोग दलहरूले गर्छन् । चाहे २००७ साल होस् या २०४६ साल वा २०६३, भएको यही हो ।

राजनीतिक परिवर्तन लगत्तैको संक्रमण अवधिमा जनआकांक्षा अनुरूपको प्राप्तिलाई व्यवस्थित गरिन्छ । २००७ र २०६३ सालको परिवर्तनलाई व्यवस्थित गर्न निकै लामो समय लाग्यो भने २०४६ मा निकै कम ।

कारण प्रष्ट थियो– २००७ सालमा राजसंस्था र २०६३ मा माओवादीको हिंसा, महŒवाकांक्षाले निम्त्याएको अनिश्चितता र भयावह आकांक्षाले संक्रमणकाल लम्ब्यायो । जबकि, शान्तिपूर्ण संघर्षमा रहेकाहरूमाझ् निश्चित प्राप्ति र स्वाभाविक आकांक्षा २०४६ पछिको संक्रमणको आयु कम हुनुका प्रष्ट कारणहरू थिए ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हाल्दै गर्दा हामीले लोकतान्त्रिक व्यवस्थाअन्तर्गत अंगीकार गरेको शासकीय अभ्यास– संघीयताको कार्यान्वयन शुरू भइसकेको छ । मुलुकभरका स्थानीय सरकारहरू क्रियाशील भइसकेका छन् ।

प्रदेशको कमान जननिर्वाचित मुख्यमन्त्रीहरूको हातमा गइसकेको छ भने सरकारहरू बन्ने क्रममा छन् । संघीयताको अभ्यासको शुरूआती विन्दुमै मुलुकको कमान सम्हाल्न पुगेका प्रधानमन्त्री ओलीको मुख्य कार्यभार संघीय अभ्यासको सफल थालनी हो । त्यस्तो संघीय अभ्यास, जसले जनआकांक्षालाई केन्द्रमा राखेर सम्बोधन गरेको होस् ।

नयाँ शासकीय अभ्यासलाई सफल गराउने मियो बनेका ओलीको अघिल्तिर समृद्धिप्रति चुलिएको जनआकांक्षा, विश्वास हराएको समाज, खोक्रिंदै गएको राज्यकोष, खस्कँदो अर्थतन्त्र, भ्रष्ट र स्वार्थी नोकरशाही, सिन्डिकेटको शिकार भएको राजनीतिक तप्का, भताभुंग नागरिक समुदाय, भूराजनीतिक जटिलता आदि छन् ।

राज्यका कुनै पनि संस्थामा स्फूर्ति छैन, सबै स्वार्थ र भ्रष्टाचारबाट जकडिएका छन् । यो अवस्थाको मुलुकको कमान सम्हाल्न पाउनु आफैंमा दुरुह अवसर हो, जो ओलीले पाएका छन् ।

समृद्धितर्फको थालनी यस्तै अवस्थामा हुने हो । विश्वका विकसित मुलुकहरूले समृद्धितर्फको कदम यस्तै विषम विन्दुबाट चलाएका हुन् ।

एउटा नेताको जीवनमा आउने राजनेता बन्ने यस्तो अभूतपूर्व ‘टर्निङ प्वाइन्ट’ मा अहिले एमाले अध्यक्ष ओली छन् । नेताले नागरिक तहमा व्याप्त आकांक्षा र असन्तुष्टिबीचको अनमेलको पहिचान र सम्बोधन गर्छ ।

जबकि, समग्र राजनीतिक प्राप्तिको सदुपयोगका साथ जनआकांक्षा सम्बोधन गर्ने मार्गचित्र बनाएर तदनुरूपको व्यवहार गर्ने राजनेता कहलाउँछ । वाम–लोकतान्त्रिक राजनीतिमा झण्डै आधा शताब्दी समय खर्चेका र यसअघि पनि सिंहदरबारमा आसीन भइसकेका ओलीले प्रधानमन्त्रीको कुर्सीको महत्व बुझेका छन् ।

त्यसमाथि पछिल्लो संक्रमणकालको चुली मानिएको संविधान निर्माण लगत्तै सम्हालेको राजपाटले ओलीलाई सत्ताको आन्तरिक र भूराजनीतिको गहिराइ बुझइसकेकै हुनुपर्छ ।

नेपालको आन्तरिक राजनीतिको बहुप्रतीक्षित प्रतिफलका रूपमा रहेको संविधानप्रति विमति राखेर भारतले लगाएको नाकाबन्दीलाई समेत मुलुकको भूराजनीतिक उँचाइ र आफ्नो राजनीति बढाउने गरी ‘ट्याक्टफुल्ली ह्याण्डल’ गर्न सफल रहे, ओली ।

संविधान कार्यान्वयन र सबैको सहभागितामा तीनवटै तहको निर्वाचन सम्पन्न जस्तो घटनाक्रम विकास गराउने अग्रमोर्चामा ओली नै थिए, सरकारको नेतृत्वमा अरू नै किन नहुन् । निर्वाचन परिणाम र ओलीको पछिल्लो सिंहदरबार प्रवेशले यसको पुष्टि गरिसकेको छ ।

औपचारिक/अनौपचारिक बोलीहरूमा आफ्नो ‘नाफाको जीवन समृद्ध नेपाल र सुखी नेपालीका लागि’ भन्ने गरेका ओलीले प्रधानमन्त्रीको रूपमा यतिखेर अराजकता र अव्यवस्थाले जड बनाएको मुलुकमा थाल्ने इमानदार राजकीय अभ्यासको पहिलो पाइलाले अभूतपूर्व तरंग पैदा गर्ने निश्चित छ ।

उनको ‘इमान छाड्दिनँ’ भन्ने संकल्प नै काफी भइदिन्छ– मुलुकमा कायम पछिल्लो अव्यवस्था परिवर्तनका लागि । समृद्धि चाहिरहेका नागरिक र राजनेता खोजिरहेको मुलुक– राजनीतिमा लागेका व्यक्तिका लागि विरल अवसर हो । कुशल राजकाजमार्फत ‘डेलिभर’ गरेर इतिहास बनाउने यो अवसर प्रधानमन्त्री ओलीले पाएका छन् ।

प्रम ओलीले बेलाबखत, विशेष परिवेशमा भन्ने गरेका छन्, “मैले लोभिनुपर्ने कुनै कारण छैन । एउटै कुराको लोभ रहन्छ– साथीभाइको माया रहोस् भन्ने । तर त्यसका लागि पनि कुनै कुकर्म गर्ने छैन ।” बस्, यत्ति कुराको निरन्तरता आवश्यक छ– प्रम ओलीको राजकाजमा ।

प्रतिकृया दिनुहोस