अन्तर्वार्ता/विचारशनिवार, फाल्गुण ५, २०७४

काठमाडौंमा प्रदेश राजधानी बनाउने कुरा सोच्न पनि सकिदैनः मुख्यमन्त्री पौडेल (अन्तर्वार्ता)

हिमालखबर

डोरमणि पौडेल,मुख्यमन्त्री, प्रदेश–३

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश राजधानी काठमाडौं उपत्यकामा ल्याउन नहुने बताउँछन् ।

प्रदेशको नेतृत्व सम्हाल्नुभएको छ । कसरी अगाडि बढ्नुहुन्छ ?
काम गर्नका लागि आवश्यक कानून बनेको छैन । बजेट छैन । माथि र तल पनि सरकार छ, तर प्रदेशमा केही छैन । न टेक्ने ठाउँ छ, न समाउने हाँगो । विज्ञ टोलीलाई पाँचवर्षे योजना बनाउन भनेको छु । कम्तीमा दुई–चार महीना विकासका काम गर्न सक्ने अवस्था छैन । त्यतिञ्जेल नीतिगत निर्णयमै सीमित हुनुपर्नेछ ।

प्रदेश–३ मा प्रमुख समस्या के–के छन् ?
राजधानी काठमाडौं यही प्रदेशमा छ भने यातायात नै नपुगेको दुर्गम क्षेत्र पनि यसैमा छ । शुरुमा प्रदेश–३ का सबै १३ जिल्लालाई यातायात सञ्जालभित्र ल्याउनु छ । घना बस्तीहरूको अधिक जनसंख्या व्यवस्थापन पनि गर्नुछ । जनसंख्याको सन्तुलन बनाइराख्न गाउँमा विकास गर्नुछ । नत्र, गाउँबाट शहरमा बसाइँसराइ रोकिंदैन ।

संघ र स्थानीय सरकारबीचको सम्बन्ध कस्तो हुन्छ ?
स्थानीय सरकारलाई अघि बढ्न प्रेरित गर्छौं । संघ र अन्य प्रदेशसँग समन्वय गरेर अघि बढ्छौं ।

स्थायी रुपमा प्रदेश राजधानी कहाँ रहन्छ ?
प्रदेश राजधानीका लागि हेटौंडा नै उपयुक्त छ । यसलाई अन्त सार्नुपर्छ भन्ने प्रस्ताव आएको पनि छैन । केन्द्रकै राजधानी व्यवस्थित गर्न नसकेको काठमाडौं उपत्यकाभित्र प्रदेश राजधानी लैजाने कुरा सोच्न पनि सकिंदैन । जहाँसम्म हेटौंडा प्रदेश–३ को केन्द्रमा छैन भन्ने कुरा छ, देशको राजधानी काठमाडौं नेपालको कति केन्द्रमा छ ? त्यसबाहेक प्रदेशमा जनताको धेरै काम पनि पर्दैन ।

(प्रदेश सरकारसम्बन्धी रिर्पोटका लागि ६ फागुनको हिमाल खबरपत्रिका हेर्नुहोला)

प्रतिकृया दिनुहोस