डा केसीको समर्थनमा जुलुस प्रदर्शन
स्वास्थ्य क्षेत्रको वेथितिविरुद्ध नवौं पटक आमरण अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा जुलुश प्रदर्शन भएको छ ।
आज, १५ असोज विहान ११ बजे काठमाडौंको माइतिघर मण्डलाबाट शुरु भएको जुलुश नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।
चिकित्सक, विद्यार्थी, सञ्चारकर्मी लगायत सहभागी जुलुशमा डा केसीका माग पूरा गरी स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको वेथिति अन्त्यको माग गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै सांसद सुरेन्द्र चौधरी, कांग्रेस नेतृ लक्ष्मी खतिवडा लगायतले डा केसीले डा केसीका माग अविलम्ब पूरा गर्नु पर्ने बताएका थिए ।
यसपटक डा. केसी अनशन बसेको आज ६ दिन पुगिसकेको छ । आठौं पटकसम्मको अनशन सरकारसँगको सम्झौतामा टुंगाएका केसीले सरकारले प्रत्येकपटक गरेका सम्झौता कार्यान्वयन नभएपछि वाध्य भएर नवौं पटक आमरण अनशन बसेका हुन् ।
डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरु १६ असोजदेखि शैक्षिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
डा. केसीका मागहरु:
१) सरकार समक्ष हामीले पेश गरेका सुझावअनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित गरियोस् ।
२) अदुअआ प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाइयोस् ।
३) मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज गरियोस् ।
४) अघिल्लो पल्ट भएको सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गरियोस्
आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरियोस्
चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरियोस्
आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइयोस् ।