ब्लगशनिवार, फाल्गुण ५, २०७४

मार्गदर्शक आस्मा

कनकमणि दीक्षित

मानवअधिकार, सामाजिक न्याय तथा लोकतन्त्रका विद्यार्थीले बुझ्नैपर्ने नाम हो– आस्मा जहाँगीर।

आफ्नै समस्यामा घोत्लिएको नेपालले अर्को सार्क सदस्य राष्ट्र पाकिस्तानलाई धेरै याद गर्दैन । गर्ने हो भने प्रष्ट हुनेछ, झण्डै २० करोड पाकिस्तानी नागरिक करीब तीन करोड नेपालीभन्दा बढी तनावमा छन्– निरन्तरको राजनीतिक, सामाजिक, आर्थिक तथा भूराजनीतिक हिंसाका कारण ।

वास्तवमा दक्षिणएशियामै सबैभन्दा तनावग्रस्त छन्, पाकिस्तानी जनता । संसारको (खासगरेर भारतीय) मिडियाले पाकिस्तानी राज्यबारे दशकौंबाट औधी नकारात्मक सूचना निरन्तर पेश गरेको हुनाले पाकिस्तानीहरुको अवस्थाप्रति हामी नेपाली संवेदनशील छैनौं ।

गत साल (२०१७) कै बम विस्फोट र बन्दूकधारीको आक्रमणको शृंखला गन्दा पनि थाहा हुन्छ कत्रो भयावह स्थिति छ पाकिस्तानमा । दश जनाभन्दा बढी (पुरुष, महिला, वृद्ध, बालबालिका) मारिएका घटनाहरूको मात्र गणना गर्ने हो भने पनि तालिका यस्तो बन्छ– २० जनवरी, पाराचिनार (कम्तीमा २५ को मृत्यु), १३ फेब्रुअरी, लाहोर (१४ को मृत्यु), १६ फेब्रुअरी, सोह्यान (८८ को मृत्यु), ३१ मार्च, पाराचिनार (२५ को मृत्यु), १४ अप्रिल, किजीखान (१४ को मृत्यु), २५ अप्रिल, खुर्रम् एजेन्सी (१४ को मृत्यु), १२ मे, मास्टुङ्ग (२५ को मृत्यु), २३ जून, क्वेटा (१४ को मृत्यु), २३ जून, पाराचिनार (७५ को मृत्यु), २४ जुलाई, लाहोर (२५ को मृत्यु), १२ अगस्ट, क्वेटा (१५ को मृत्यु), ५ अक्टोबर, फत्तेपुर (२१ को मृत्यु)... ।

यस्तो आक्रान्त समाजमा मानवअधिकार र नागरिक सुरक्षाको क्षेत्रमा जुझारु योद्धा रहिन् आस्मा जहाँगीर, जसको निधन ६६ वर्षको अल्पायुमै हृदयघातबाट गृहनगर लाहोर (२८ माघ) मा भयो । उनको मानवअधिकार, लोकतन्त्र, महिला अधिकार तथा हरेक खालको उत्पीडन विरुद्धको जिन्दगीभरको लडाइँ नेपाली अधिकारकर्मीको लागि प्रेरक र मार्गदर्शक हुनुपर्दछ ।

आफ्नो जीउज्यानको पर्वाह नगरी राज्य, सैन्य, मुल्लाह वा सामन्ती धनाढ्यद्वारा उत्पीडित नागरिकको सुरक्षाको लागि सदा तत्पर थिइन् आस्मा जहाँगीर ।

जुझारु यात्राको प्रारम्भ सन् १९६९ मा स्कूले केटी छँदै भएको थियो, जब उनले पाकिस्तानमा सैन्य शासनको विरोध गरिन् र स्कूलबाट निष्काशित समेत भइन् ।

जब उनको बुबालाई तानाशाह जनरल याह्या खानले थुने, आस्माले चलाएको मुद्दाको भरमा याह्या खानको सैनिक शासनलाई सर्वोच्च अदालतले अवैध ठहर गरिदियो ।

बहिनी हिना जिलानीसँग मिलेर आस्माले महिला सञ्चालक रहेको पहिलो ल फर्म चलाइन् र पितृसत्तावादी समाजद्वारा शोषित–पीडित महिलाका मुद्दा अदालतसम्म पुर्‍याइन् ।

“महिला अधिकार नहेर्ने हो भने मानवअधिकार अपूरो हुन्छ”, उनको भनाइ थियो । इस्लामिक अतिवादीको पकडमा रहेको समाजमा महिलाको प्रतिरक्षाको झण्डा बोकिन् आस्माले ।

‘हुदूद अर्डिनेन्स’ नामक कानूनले परिवारभित्र महिलाको अवस्था एकदमै कमजोर बनाएको थियो, तानाशाह जियाउल हकको पालामा । बलात्कार पीडित महिलामाथि छाडापनको आरोप लाग्थ्यो । त्यसको खिलाफमा उभिइन् आस्मा ।

महिला अधिकार आस्माको लडाइँको एउटा हिस्सा मात्र थियो । कोठामा बसेर ‘पेपर’ लेख्ने नभई मैदानमै उत्रिहाल्ने, जुलूस आयोजना गरिहाल्ने, अदालतमा मुद्दा हालिहाल्ने लोकतन्त्रको पहरेदार थिइन्, उनी ।

बालश्रम विरुद्ध लडिन्, सैन्य शासन विरुद्ध निरन्तर लागिन्, इस्लामिक अतिवादले समाजमा लगाएको गलपासो खुकुलो पार्न खोजिन् । उनले याह्या खान विरुद्धको पहिलो मुद्दा जितिन्, पछिका तानाशाह जियाउल हक र परवेज मुसर्रफले उनलाई जेल चलान गरे ।

कुख्यात ‘ब्लास्फेमी’ कानूनअन्तर्गत एक दलित बालकलाई इस्लामको अनादर गरेको भनी फाँसी दिन खोजिंदा आस्माले मुद्दा दायर गरिन् । ती बालक त रिहा भए, तर निर्णय सुनाउने न्यायाधीश मारिए । यो लगायतका आरोपमा आस्माले हत्याको धम्की समेत खेपिन् ।

श्रीमान्‌को दुर्व्यवहारबाट मुक्ति चाहेकी एक महिलालाई आस्माको ल फर्मभित्रै परिवारका अन्य सदस्यहरूले गोली हानी मारे । पाकिस्तानमा ‘अनर किलिङ’ (परिवारका पुरुषको बेइज्जत गरेको आरोपमा छोरी, बहिनी, श्रीमतीको हत्या) को घातक परम्परा छ जसको खिलाफ आस्मा आजीवन लडिन् ।

नेपालमा मानवअधिकारको सन्दर्भमा अनगिन्ती चुनौती होलान् जस्तै– दण्डहीनता, अदालतको राजनीतीकरणबाट आउने कमजोरी, प्रहरीको निष्पक्षतामा प्रश्न, द्वन्द्वकालका ज्यादतीमा घोसेमुन्टो– तर यति भन्न सकिन्छ कि पाकिस्तानको तुलनामा नेपाली अधिकारकर्मीका चुनौती सीमित छन् ।

आस्मा र उनका सहयोद्धाहरूले दशकौं सैनिक शासन झेले र इस्लामिक अतिवादी, अन्तर सामुदायिक विद्वेष, पृथकतावाद तथा सिया–सुन्नी विभेदबाट उत्पन्न खतराहरुको सामना गरिनै रहेका छन् ।

पाकिस्तानकी यी वीराङ्गना ‘इन्टरनेश्नालिष्ट’ पनि थिइन् । उनी ‘पाकिस्तान ह्युमन राइट्स कमिशन’ (पीएच्आरसी) की सह–संस्थापक भएर उक्त संस्थालाई दक्षिणएशियाकै नागरिकद्वारा संचालित मानवअधिकार प्रतिरक्षाको अग्रपंक्तिमा पुर्‍याइन् ।

‘पीएच्आरसी’ बाट पनि हामी नेपालीले धेरै सिक्नु छ भने आस्मा संस्थापक रहेको अर्को संस्था ‘साउथ एशियन्स फर ह्युमन राइट्स’ लाई प्रभावकारी बनाउनु छ ।

संयुक्त राष्ट्रसंघले आस्मालाई गैरन्यायिक हत्या विषय तथा धार्मिक असहिष्णुताको लागि ‘स्पेशल रापोर्टर’ बनाएको थियो र पछिल्लो समय इरानको सामाजिक अधिकारसम्बन्धी अध्ययन गर्ने जिम्मा पनि दिएको थियो ।

काश्मिरमा भारतको ज्यादतीबारे उनी निर्धक्क बोल्थिन् भने भारतभित्र उर्लंदो सामाजिक ध्रुवीकरणले उनलाई चिन्तित बनाएको थियो । उनले एक दशकअघि राष्ट्रसंघको लागि भारतभर भ्रमण गरेर राज्यको आडमा मुसलमान, क्रिश्चियन र दलितमाथि भइरहेको दुव्र्यवहार औंल्याएकी थिइन् ।

उनले त्यसबेला औंल्याएको ‘ट्रेन्ड’ आज भारतमा दिनानुदिनको ‘रियालिटी’ मा परिणत हुँदैछ ।

अधिकांश नेपालीले आस्मा जहाँगीरको नाम नै नसुनेको अवस्थामा उनको देहावसान भयो । तर त्यस्तो जीवन नरहँदा पनि हाम्रो लागि प्रेरक हुन सक्दछ, हुनुपर्छ । नेपालमा कानून पढ्ने, मानवअधिकारमा लागिपर्ने, सामाजिक उत्थानमा कार्यरत– जोकोहीलाई आस्माको उदाहरणीय जीवनले सदैव प्रेरणा देओस् । 

प्रतिकृया दिनुहोस