टिप्पणीशुक्रवार, फाल्गुण ४, २०७४

घर निर्माणमा चोखीनिती संस्कृति

हिमालखबर

मिलन बगाले

वास्तुकला र निर्माण संस्कारसँगै चोखीनिती परम्परा पनि बचाए घरको शरीर र आत्मा दुवै बाँच्छ।

कास्कीको सिक्लेस गाउँ । तस्वीरः मिलन बगाले

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७४ पुस मसान्तको भाका तोकेर भूकम्पपीडितका नाममा उर्दी सुनाएसँगै ३१ जिल्लाभर रातारात घरका जग उम्रिए ।

ती दुईकोठे जगहरू यतिबेला निर्माण सामग्री र निर्माणकर्मीको अभाव तथा छिटो सिध्याउने सरकारी दबाबको चेपुवामा छन् । जग हाल्न नभ्याएकाहरू म्याद थपिने आश र नथपिने त्रासमा छन् । 

यसबाहेक सांस्कृतिक चालचलन थाम्नु पर्दाको अप्ठेरोको पाटो अखबारहरूमार्फत उघ्रिएका छन् । भुईं सतहका मान्छेका कथा खोजीखोजी लेख्ने गोरखाका पत्रकार शिव उप्रेतीले बारपाक सेरोफेरोका गुरुङ/घलेहरूले बेहोर्नु परेको सांस्कृतिक समस्या उधिनेका छन् ।

उनले लेखेका छन्, “यसपालि कुकुर वर्ग चलिरहेको छ । आफ्नो वर्ग चलिरहेको साल घर बनाउन मिल्दैन, हुँदैन । यस्तो समस्यामा पर्नेहरू बारपाकमा करीब १२ जना छन् । अन्यत्रका गुरुङ र घलेलाई पनि यस्तो समस्या छ ।”

सरकारी नियम मान्ने कि युगौं पुरानो संस्कृति ? सरकार संस्कृति मास्नु भन्छ कि पर्खन्छु भन्छ ? उल्झनमा छन्, भूकम्पपीडित । नेपालको सांस्कृतिक विविधता र त्यसको गहिराइलाई बुझ्ने हो भने सिंहदरबारको नियम–कानूनले यस्ता उल्झन सुल्झाउन सक्ने देखिन्न ।

स्थानीय सरकारहरूले उल्झन फुकाउन सक्छन्, तर त्यसका लागि सिंहदरबार आफ्ना अधिकारको केही नासो त्यता बुझाउन तयार हुनैपर्ने देखिन्छ ।

बारपाकको समस्या पढेपछि मैले कास्कीको सिक्लेस गाउँको निर्माण संस्कृति सम्बन्धी आफ्नै अध्ययन सम्झिए । बसोबास पद्धति, निर्माण संस्कृति र ग्रामीण वास्तुकलाको अन्तरसम्बन्धबारे स्नातकोत्तर तहको शोधको लागि मैले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने कास्कीको सुन्दर गाउँ सिक्लेस (तत्कालीन पार्चे गाविस) छानेको थिएँ ।

२०७२ असारमा १० दिन त्यहाँ बस्दा मैले गुरुङ जातिको घर बनाउने, घर चोख्याउने र घरमा केही विघ्नबाधा आइलागे शुद्ध गर्ने विधिहरू पनि टिपेको थिएँ । घरसँग जोडिएका स्थानीय संस्कृति र रीतिस्थिति त्यहाँका लामा लालप्रसाद गुरुङको शब्दमा– गुरुङ घरको जग पूजा गर्दा दुई वटा तामाका कलश, धूप, दीप, सुगन्धित फूल र रक्सीको जोहो गर्नुपर्छ ।

जग पूजा गर्ने ढुंगा कुन वर्गले खोज्ने भनेर पहिला लामाले हेर्नुपर्छ । गुरुङ जातिमा मुसा, कुकुर, बाघ, बिरालो, गाई, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा र मृग गरी १२ वर्गका मान्छे हुन्छन् । घरधनीको वर्ग चलिरहेको वर्ष घर बनाउनुहुँदैन । जग पूजाको लागि तीन वटा ढुंगा, गाईको दूध र गोबर पनि चाहिन्छ ।

लामाले निकालेको शुभ दिनमा जग पूजा हुन्छ । पूजाभन्दा पहिले एक हात गहिरो खाल्डो खनेर त्यसभित्र गोबरले लिपिन्छ । पानी र दूध भरेको कलश त्यहाँभित्र राखिन्छ । त्यसभित्र पैसा राखिन्छ । दहीमा मुछेको सेतो अक्षताले पूजा गरिन्छ ।

पूजा गर्दा तीन वा पाँच जना (बिजोर) मान्छे चाहिन्छ । जोर भए गयो–गयो बिजोर भए आयो–गयो हुन्छ । पूजा सकिएपछि टीकोटालो हुन्छ । त्यसपछि आफ्नो अनुकूलमा घर बनाउन शुरू गरिन्छ । धुरी, खाँबो, थाम, दलिन हाल्ने र छाउने काम पनि शुभ दिन निकालेर गरिन्छ । मूलढोका हाल्ने दिन चेलीबेटी बोलाएर टीकोटालो गर्नुपर्छ ।

जग पूजा गर्दा छावा ! छावा ! (राम्रो राम्रो होस्) भनिन्छ । आयु राम्रो होस्, छोराछोरी होस्, शुभ–शुभ होस् भन्दै सुनपानी छर्कने गरिन्छ । यो माटोको घर हैन, सुनको घर होस्, सुनकै खाँबो, छानो, लिस्नो, झ्याल–ढोका हो भन्दै पूजा गरिन्छ । लामाले ऋण, रोग–शोक नलागोस्, सह आओस् भन्दै कामना गर्छन् ।

लामा विद्या अनुसार एक महीनाको एक दिनमा एक घण्टा ‘आगो समय’ आउँछ । त्यो बेला बार्नु या छल्नुपर्छ । त्योबाहेक सोरुङ भन्ने हुन्छ, त्योचाहिं एक हप्ता बार्नुपर्छ ।

पहिला घरमा खरको छाना हुने र आगोले सखाप पार्ने भएकोले आगो बार्ने चलन चलेको हो । छानो छाउने शुभ दिनमा भाले काटेर घरको चारै सुरमा रगत चढाइन्छ । भाले धुरीमै काटिन्छ र छेदभेद मन्साइन्छ । जंगलबाट काठपात ल्याइने भएकोले भूतप्रेत, सिमे–भूमे मन्साउने चलन चलेको हो ।

घर बनिसकेपछि पूजा (घरसापटी) गर्न ऊन ननिकालेको भेडो चाहिन्छ । भेडोलाई आँगन या घरभित्रै काटिन्छ । पितृ पूजाको काम, महाँकाल धिताम पढ्ने काम पनि हुन्छ । कसैले १८०० बत्ती पनि बाल्छन् । जौ, तिल, धान, मकैले होम पनि गरिन्छ ।

हिन्दू र बौद्ध संस्कृति मिसिएको छ । कसैले लामा पढाउने र पण्डित बोलाएर होम गर्ने दुवै गर्छन् । हुनेखानेले दश मुरी धान कुटेर भोज पनि खुवाउँछन् । तलो छाप्दा गाउँलेले निःशुल्क सहयोग गर्ने भएकोले सबैलाई बोलाएर भोज खुवाइन्छ ।

घरमा सरेको केही समयमै बिरामी पर्ने, मर्ने, चोर लाग्ने जस्ता अनिष्ट देखिए ग्रह फाल्ने काम गरिन्छ । ग्रह फाल्दा लामाले भेडा, बाख्रा या कुखुरा काटेर चढाउँछन् ।

घरधनी र इष्टमित्रले त्यो मासु खानुहुँदैन । पण्डित बोलाएर ग्रह फाल्दा चार सुरमा महादेव, गणेश र विष्णुको पूजा गरिन्छ । बाबियोको डोरीमा तोरण बनाएर घर घेर्ने गरी टाँगिन्छ । लामाले चाहिं चामलको पीठोको मूर्ति बनाएर पूजा गरी ढ्याङ्ग्रो ठोक्छन् ।

आजकल त ठेकेदारले घर बनाउने चलन आयो, उसलाई लागेअनुसार काम गर्छ । परम्परा धर्मराउन थालेको छ, रीतिरिवाज हराउला कि भन्ने डर छ । घर बनाउँदा गरिने रीतिस्थिति बचाउनुपर्छ ।

लालप्रसाद गुरुङले भनेझैं घर बनाउने संस्कृति बचाउनुपर्छ । घरको डिजाइन, आकारप्रकार र शैली मात्रै बचाएर वास्तुकला बाँच्दैन । चोखीनितीको संस्कार पनि जीवन्त राख्नुपर्छ । चोखीनिती बचाए मात्रै घरको शरीर र आत्मा दुवै बाँच्छ । सरकारी उर्दी, भाका र राहतले मात्र संस्कार बाँच्दैन । निर्माण संस्कृतिलाई जगैबाट जोगाउनेको जय होस् !

(नोटः संस्कृतिको काममा वा जुनसुकै नाममा, पशु हत्याप्रति यो पंक्तिकारको पूर्ण विमति छ । संस्कृति रक्षा गर्नेहरूबाटै यसको विकल्प खोजिनुपर्छ ।)

 

 

प्रतिकृया दिनुहोस