राष्ट्रपतिकाे निर्वाचन २१ फागुनमा गर्ने दलहरुबीच सहमति
राष्ट्रपतिको निर्वाचन २१ फागुनमा गर्ने दलहरुबीच सहमति भएको छ ।
आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन २१ फागुनमा गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको आयोगले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।
जसमा संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
छलफलमा नेकपा (एमाले) का नेता अग्नि खरेल, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र डा. शिवजी यादव सहभागी थिए । रासस