ओली सरकारलाई पुँजीबजारको स्वागत, नेप्से ३६ अङ्कले बढ्यो
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै शेयर बजार परिसूचक (नेप्से) उच्च अङ्कले वृद्धि भएको छ ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३६ दशमलव १ अङ्कले बढेर १ हजार ४२४ दशमलव ९५ विन्दुमा पुगेको हो ।
नेप्से यो साता घटेर १ हजार ३८० अङ्कसम्म झरेको थियो ।
बिहीबार सबै उपसूचकहरु बढेका छन् । ब्याङ्किङ समूह ३१ दशममलव ३१ अङ्कले बढेको छ ।
बीमा २१३ दशमलव ९५ अङ्कले बढेको छ । निर्वाचनपछि शेयर बजार परिसूचक बढ्ने अपेक्षा गरिएपनि बजार झन् ओरालो लागेको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको बहिगर्मन र प्रधानमन्त्रीमा ओलीको नियुक्तिले राजनीतिक ‘ब्रेक थ्रु’ भएकाले लगानीकर्तामा उत्साह देखिएको हो ।
बिहीबार कारोबार रकम पनि बढेर रु. ६६ करोड ३९ लाख पुगेको छ ।
आन्तरिक कारणलेभन्दा सरकार परिवर्तनको कारणले बजारमा उत्साह देखिएकाले यसको निरन्तरतामा भने आशंका छ ।
ब्यांक तथा वित्तीय संस्थाको पुँजी वृद्धिका लागि हकप्रद आपूर्तिको चाप र ब्यांकको उच्च ब्याजदरका कारण लगानीकर्ता निराश छन् ।