साझा यातायतले १६ गतेदेखि गोर्खा र बाग्लुङमा सेवा विस्तार गर्ने, वीरगञ्जमा पनि चाँडै
साझा यातायातले उपत्यका बाहिर पनि लामो दूरीको बस सेवा सञ्चालन गर्ने भएको छ ।
१६ असोज आइतबारबाट गोर्खा र बाग्लुङ्गमा बस सेवा सञ्चालन गरिने साझा सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए ।
प्रत्येक दिन विहान एक एकवटा बस ती जिल्लाबाट काठमाडौं आउने र अरु एक एक वटा बस काठमाडौंबाट जिल्लातर्फ जानेछन् ।
साझाले पहिले पनि लामो दूरीका बस सञ्चालन गरेको भए पनि विभिन्न कारणले रोकिन पुगेकोमा हाल जिल्लाजिल्लाबाट व्यापक माग आउन थालेपछि सेवा विस्तार गरेको पाण्डेले बताए ।
उनका अनुसार साझाले वीरगञ्जमा पनि यातायात सञ्चालन गर्न रुट परमिटका लागि निवेदन दिइसकेको छ र परमिट प्राप्त हुनासाथ सेवा शुरु हुनेछ ।
अहिले आफूहरुसँग सीमित बस भएकाले सबै ठाउँमा सेवा विस्तार गर्न नसकिएको तर विस्तारै बसहरु थपिंदै जाँदा सेवा पनि विस्तार हुने उनको भनाई छ ।
उनले दुईवटा ढोका, आरामदायी सिट, सुरक्षाका लागि सीसी टिभी जडित र इन्टरनेट सुविधा भएका बसले यात्रुलाई सुविधा हुने बताए ।
साझा सेवामुलक संस्था भएकाले अन्य बस कम्पनीहरुसँग आफ्नो प्रतिस्पर्धा नहुने र सबै बसहरुले यात्रुलाई बढीभन्दा बढी सुविधा प्रदान गरुन भन्ने साझाले चाहेको उनको भनाई थियो ।