समाचारबुधवार, फाल्गुण २, २०७४

रौतहटमा प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

हिमालखबर

रौतहटको वृन्दावन नगरपालिकाको कार्यालय सार्ने विवादले उग्र रुप लि‌ंदा प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

नगर कार्यपालिकाको बैठकले साविक विश्रामपुर गाविस कार्यालयमा रहेको वृन्दावन नगरपालिकाको कार्यालय करिब पाँच किलोमिटर टाढा हर्षाहा चौकमा सार्ने निर्णय गर्न लागेको भन्दै गत हप्तादेखि नै कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेका थिए ।

आज, २ फागुनमा कार्यालय सार्ने निर्णय हुन थालेको भन्दै स्थानीयबासीको ठूलो समूहले कार्यालयलाई चारैतिरबाट घेरा हाली ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

त्यसक्रममा प्रहरीले करिब २१ राउण्ड अश्रुग्याँस प्रहार गरेकोे रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

ढुंगामुढाबाट केहीलाई चोटपटक लागेको र केही घाइते भए पनि कति जना घाइते भए भन्ने एकीन तथ्याङक उपलब्ध हुन सकेको छैन ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालित छन् । घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा रहेको एसपी पोखरेलले बताएका छन् ।
सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस