कांग्रेसले समानुपातिक सूची सच्यायो
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।
कांग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाई रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस/आर्य कोटामा परेका थिए ।
कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै निर्वाचन आयोगले सच्याउन दुई दिनको समय दिएको थियो ।
कांग्रेसले यस अघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ । आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिदैछ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २९ माघको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले ४० स्थान प्राप्त गरेको छ । रासस