राप्ती लोकमार्ग टालटुलमै दुई करोड स्वाहा !
राप्ती लोकमार्गअन्तर्गत दाङको अमिलियादेखि रुकुमको सल्लेसम्म १६८ किलोमिटर सडक खण्ड जीर्ण बनेको छ । भौगोलिक रूपमा कमजोर भिरालो जमीन भएका कारण बर्खे पहिरो र बाढीले सडकमा क्षति पुग्ने गरेको छ ।
वैकल्पिक सडक नहुँदा रुकुम पूर्व, रुकुम पश्चिम र सल्यानवासी यही सडकमार्फत ओहोरदोहोर गर्न बाध्य छन् । “भगवान पुकार्दै यात्रा गर्नुपर्छ”, चौरजहारी नगरपालिका–३ की यशोदा परियार भन्छिन् ।
२०५८ सालमा निर्माण भएको यो सडक खण्डको स्तरोन्नति नहुनु नै दुरवस्थाको कारण मानिएको छ । आर्थिक वर्ष २०६९/७० मा विश्व ब्यांकको रु.६१ करोडको सहयोगमा गरिएको ओटासिल एक वर्षमै उप्किएको छ ।
जिल्लास्थित सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर नवीन शाह पर्याप्त बजेटको अभावमा सडक कालोपत्रे गर्न नसकिएको बताउँछन् ।
सडक जीर्ण हुँदा यातायातका साधन सञ्चालनमा समेत सकस भइरहेको सानीभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्ल बताउँछन् । “एक वर्षमै नयाँ गाडी थोत्रा हुन्छन्”, उनी भन्छन् ।
सल्यानको सिमाना खौलादेखि रुकुम सदरमुकाम मुसिकोट सल्लेसम्मको सडक खण्ड टालटुल गर्न थालिएको छ । यसका लागि सडक डिभिजन कार्यालयले रु.२ करोड छुट्याएको छ ।
इन्जिनियर शाह कालोपत्रे गर्न बजेट निकासा नभएपछि टालटुल गर्न थालिएको बताउँछन् । सडक डिभिजन कार्यालयका अनुसार, आगामी वैशाखसम्म सडकका १२४ घनमिटर खाल्डाखुल्डी पुर्ने लक्ष्य छ ।
सडकको दुरवस्थाकै कारण राप्ती लोकमार्गमा दुर्घटना बढेको छ । जिल्ला ट्राफिक कार्यालय सल्यानका अनुसार, आव २०७१÷७२ देखि हालसम्म १२७ वटा सवारी साधन दुर्घटना हुँदा ५८ जनाको मृत्यु भइसकेको छ । २०६३ मा सल्यानमा भाण्टाखोलामा भएको दुर्घटनामा एकैपटक ४० जनाको ज्यान गएको थियो ।
ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज गोपाल शर्मा साँघुरो सडक, थोत्रा गाडी, सिन्डिकेट प्रणाली र चालकको लापरबाहीले दुर्घटना बढेको बताउँछन् ।
प्रविर ददेल