महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड
बिहानको सिमसिमे पानी र चिसो मौसमका बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
राति २ बजेदेखि भक्तजनको भीड लागेपछि ३:१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।
पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ ।
यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ ।
यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सहिष्णुता र सद्भाव अभिवृद्धि गरौं: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा उनले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीद्वारा महाशिवरात्रिको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।
उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरेका छन् ।
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।