हामीले संसदीय व्यवस्था स्वीकार गरेका छैनौं: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले संसदीय व्यवस्थालाई स्वीकार नगरेको बताएका छन् ।
आज, १४ असोजमा प्रेस सेन्टर नेपालको एकता महाधिवेशनको बन्द शत्रमा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘हिजो बन्दुक अग्रमोर्चामा थियो, अहिले अग्रमोर्चामा कलम आइपुगेको छ । हाम्रो पार्टीको कार्यदिशा स्पष्ट छ । संक्रमणकालीन अवस्था र संविधान प्रतिको जिम्मेवारी बोध गर्दै हामीले संसदीय व्यवस्थामा सम्झौता गरेका छौं । तर, संसदीय व्यवस्था स्वीकार गरेका छैनौं ।"
कार्यकारी राष्ट्रपतिसहितको प्रत्यक्ष निर्वाचनले मात्रै देशको स्थिरता र विकासलाई सम्बोधन गर्न सक्ने भन्दै उनले पार्टी पत्रकारहरुलाई यसविषयमा गम्भीरतापूर्वक कलम चलाउन अनुरोध गरे ।
प्रधानमन्त्रीले पार्टी एकताका बेला गरिएको १३ बुंदे सहमतिको अन्तर्वस्तु नै अहिलेको पार्टी कार्यदिशा भएको भन्दै गरीबका लागि सरकार कार्यक्रम त्यसैको सांकेतिक रुप भएको बताए ।
उनले भने, "सरकार गरीबको पक्षमा काम गर्न चाहन्छ । गरीबका लागि सरकारको अर्थ गरीबीमूनी रहेका जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, रोजगारीमा प्राथमिकता दिनु हो । धेरै गर्न सकिने परिस्थिति नभएपनि अन्तिमसम्म जनता र श्रमजीवीको पक्षमा काम गर्न सरकार क्रियाशील छ ।"