एमाले–माओवादीबीच पद बाँडफाँडमा सहमति
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा सहमति भएको छ ।
आज ललितपुरको मानभवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २ घण्टासम्म चलेको ‘वान टु वान’ वार्ताबाट पार्टी एकीकरण र पद बाँडफाँडको विषयमा सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पार्टी एकीकरण र सरकार गठनको विषय पनि टुंगिएको र अब घोषणा मात्र बाँकी रहेको अधिकारीले बताए । अधिकारीले भने– “नमिलेका केही विषय थिए, जसलाई दुई अध्यक्षबीचको आजको वार्ताले टुंग्याएको छ ।”
पार्टी एकता गर्नेगरी संयुक्त घोषणापत्र र तालमेल गरेर निर्वाचनमा गएका दुवै पार्टीका केही नेताहरुले पछिल्लो समयमा व्यक्त गरेका अभिव्यक्तिले पार्टी एकताको विषयमा संसय उत्पन्न भएको थियो ।
राष्ट्रिय सभाको निर्वाचन परिणाम र निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाए लगत्तै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएपनि एकीकरणको विषयमा दुई पार्टीबीच कुरा नमिल्दा सरकार गठन र पार्टी एकताको विषयमा अन्योलता बढेको थियो ।
एकिकृत पार्टीको अध्यक्ष दाहाललाई दिन नसक्ने र प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नै हुनुपर्ने एमाले नेतृत्व पंक्तिका केही नेताहरुको अभिव्यक्तिले माओवादी नेतृत्वमा आशंका बढेको थियो ।
पार्टी एकता र सरकार गठनको विषयसँगसँगै अघि बढाइनुपर्ने माओवादी दवाव पनि त्यसैको परिणामलाई बुझ्न सकिन्छ ।
२७ माघमा माओवादी अध्यक्ष दाहालले आफूले अफ्ठेरो परिस्थितिमा नयाँ फड्को हान्न सक्ने बताएपछि पार्टी एकताको विषयमा दुई पार्टीबीच थप तिक्तता बढेको आम बझाई थियो ।
१ फागुन बिहान पुनः ओली र दाहालबीच ‘वान टु वान’ वार्ता हुने र त्यसपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।