प्रधानन्यायाधीश पराजुली विरुद्धको मुद्दा दर्ता भएन
सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयमा प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्धको मुद्दा दर्ता गर्न अस्विकार गरेको छ ।
२३ माघमा इलामका मनोजकुमार अधिकारीले स्वतन्त्र नागरिकका तर्फबाट ‘अदालतको अवहेलनामा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गरि पाउँ’ भन्दै मुद्दा दर्ता गर्न खोजेका थिए । तर अदालतको मुद्दा फाँटले उनको मुद्दा दर्ता गर्न नसक्ने भनेर दरपिठ गरिदियो ।
चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रह गरेका डा.गोविन्द केसीका तर्फबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएपछि अधिकारीले अवहेलनाको मुद्दा दर्ता गर्न खोजेका थिए ।
सर्वोच्चका सह–रजिष्टार महेन्द्रप्रसाद उपाध्यायले अदालतको अवहेलना सम्बन्धी मुद्दा दर्ता र दरपिठ गर्न नमिल्ने भनेर फिर्ता पठाएको निवेदक अधिकारी बताउँछन् । उनी भन्छन्, “सह–रजिष्टारबाट मुद्दा दर्ता नभएपछि म आज मुख्य रजिष्टार राजन भट्टराईको कार्यकक्षमा पुगें, तर उहाँले पनि मुद्दा दर्ता गर्न अस्वीकार गर्नुभयो ।”
भट्टराईले अधिकारीलाई पत्रिकामा प्रकाशित समाचारको कटिङका आधारमा प्रधानन्यायाधीश विरुद्ध मुद्दा दर्ता गर्न नमिल्ने भनेर जवाफ दिएका थिए ।
अधिवक्ता भण्डारीले आफुलाई प्रधानन्यायाधीश पराजुलीले १६ पुसमा ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका थिए ।