ब्लगआइतवार, माघ २८, २०७४

चक्रपथमा ट्वीटे चरो

कनकमणि दीक्षित

चिनियाँ अनुदान सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ विस्तारमा महालक्ष्मीस्थानदेखि बालकुमारीसम्म निर्माण सम्पन्न भएको चौडा सडकमा गाडी हुँइकिन थालेपछि कुरा शुरु भयो । शहरमाझको त्यत्रो चौडा सडकमा स्थानीय पैदल यात्रीलाई बाटो काट्न खतरा हुन पुग्यो ।

सामाजिक सञ्जाल र विशेषगरी ट्वीटरमा चिन्ता पोख्ने क्रम शुरु भयो, यसले अनलाइन र अन्य मिडियालाई तान्यो, राम्रै बहस भयो । चाइनिज डिजाइन र ठेकेदारले बनाइदिएकोमा सुधार हुनै नसक्ने आधिकारिक कुरा आएपछि चासो र चिन्ता चुलियो । कसरी ट्वीटमार्फत जनसरोकारको सामाजिक विषय उठान हुन्छ, को कति पानीमा छ, देख्ने मौका मिल्यो ।

अधिकांश दर्शक/पाठक यो ट्वीटर–मार्गछेउ बसेर हेरिरहे, कतिपयले बहसमा डुबुल्की मारे । सामाजिक सुरक्षाको महत्वपूर्ण विषयलाई उजागर गर्न सक्ने सामाजिक सञ्जालको क्षमता पनि दर्शायो । अलिकति मनोरञ्जन पनि भयो भनौं ।

ट्वीटर छलफल शुरु भएको थियो, शहरी वातावरणका विशेषज्ञ भूषण तुलाधरको पोस्टबाट– “विस्तारित चक्रपथमा दुर्घटनाहरू हुन थालिसकेका छन् । ५० किमी प्रतिघण्टा डिजाइन स्पिड भएको यो ८ लेनको सडकको बीचमा मिडियन छैन, सडक काट्ने ठाउँ पनि छैन । भोलि यो नेपालकै सबैभन्दा खतरनाक सडक हुने देखिन्छ ।”

त्यसपछि विभिन्न अनलाइनले यो विषयलाई टिपे । सेतोपाटी पोर्टलका सुदीप श्रेष्ठ र चेतना गुरागाईंले ‘रिङरोड शृंखला’ नै पेश गरे । अब पालो आयो चिन्ता र चासो राख्नेहरूमाथि बग्रेल्ती टिप्पणी, ट्वीटरका केही ‘मूर्धन्य’ हरूबाटै ।

‘ओपनिङ शट्’ पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यबाट भयो । उनले लेखे– “बाटो डिजाइन मिलेन भन्ने सरो‘कार’ वालाहरूले चार वर्ष लगाएर बनाउन्जेल चाल पाएनछन् ? बनेन किच्किच्, बन्यो किच्किच् !”

उनको ट्वीटमा आपत्ति जनाउनेहरूलाई आचार्यले भने– “लागेको कुरा भनियो, गलफत्ती गर्ने बानी छैन ! आगे यहाँहरुको मर्जी ! !”

डिजाइन राम्रो भएन भन्नेहरूको खिलाफ मुख्य चार बुँदामा ट्वीटे टिप्पणी केन्द्रित भयो–

१. यत्तिका दिन के हेरेर बसेका ?

२. तिमीहरू सब विकास विरोधी ।

३. डोनर फन्डिङमा यस्तो भन्दैछौ र

४. यसो गर्नु चीनको विरोध हो ।

अन्तर्राष्ट्रिय मामलाविज्ञ निश्चलनाथ पाण्डेले ‘विकास विरोधी’ आशयसहित लेखे– “१९७० मै बनिसकेको चक्रपथको पनि अहिले नै विरोध गरिहालून् । त्यो नबनेको भए काठमाडौं यस्तो शान्त हुन्थ्यो... ।”

उनले अर्को पोस्टमा थपे– “...ज्यान जोगाउनु गाडी हाँक्नेको मात्र (अभिभारा) होइन, पैदल यात्रुको पनि कर्तव्य हो जस्तो लाग्छ । नत्र गाडीहरू सबै हटाएर, घोडा र बग्गी चलाए बेस हुन्छ ।”

यी सब विकास विरोधी हुन् भन्ने खेमाबाट यस्तैले हुन् रानीपोखरी पुनःनिर्माणमा अवरोध गरेका, र बूढीगण्डकी आयोजना पनि बन्न नदेलान् है खबरदार भन्ने आयो ।

ट्वीटे जितेन्द्र जीसीले लेखे– “कुन चाहिं ठेकेदार र कमिशनखोरको कहाँ स्वार्थ जोडियो । बनाउने भन्दा भत्काउनेको बिगबिगी छ ।”

पूर्व सचिव भीम आचार्यले भूराजनीतिक सन्दर्भ पनि कोट्याएः “कलंकी–कोटेश्वर चक्रपथलाई ८ लेन बनाउने काम सकिन लाग्दा बुद्धि पलाएका बुद्धिजीवीहरू अहिले पोस्टमोर्टम् गर्नमा लागिरहेका देखिन्छन् । विगत तीन वर्षदेखि काम चालू थियो र त्यसको एक वर्षअघि डिजाइन पूरा भएको हो । कुम्भकर्णहरू जागे । चीनको आलोचना गर्ने रोजगारी धर्म पूरा गरेका हुन् कि !”

आलोचकहरूमाथि टिप्पणी पनि ओइरिए । घोडा र बग्गी चलाउनुपर्छ भन्नेलाई सम्पादक अमित ढकालको जवाफ थियोः “... यति चाँडै बग्गीमा नचढौं । बालकुमारी गएर बाटो काटेर पारि गाडीमा पुग्न खोज । बग्गीका तर्कबाट ओर्लिने छौ । आम मानिस सडकमै हिंड्छन्, सडक धेरै उनीहरूकै हो । उनीहरूको पक्षमा सुधार सम्भव छ । विकास त त्यही हो ।”

रिङ्गरोड विस्तारमा भाँजो हाल्नेहरूले लुट्न खोज्दैछन् सबै कुरा असरल्ल छोडेर भन्ने अर्को आरोप लेखक केदार शर्मालाई अति भएछ, र प्रतिक्रिया दिए यसरीः “यत्रो सार्वजनिक महत्वको विषयमा छलफल गर्नु भाँजो हाल्नु हो ? अनि कसले, के, कसरी लुट्न खोज्यो ? काम असरल्ल पार्ने निकाय र प्रश्न उठाउने नागरिक एकै हुन् ?”

जत्तिकै बहस उजागर गर्ने क्षमता सामाजिक सञ्जालले राखे पनि आखिर यसको फल–प्राप्तिको लागि आमनेसामने भेटघाट र छलफल नै हुनुपर्छ । यसै सन्दर्भमा ‘विरोध कार्यक्रम’ होइन, छलफल कार्यक्रम चल्यो नेपाल टुरिजम बोर्डको हलमा बिहीबारसाँझ ।

त्यो बहसको निष्कर्ष कार्टुनिष्ट राजेश केसी (फलानो) ले ट्वीटैमार्फत बहसको प्रारम्भ गर्ने मधुरमण आचार्यलाई प्रत्युत्तर यसरी दिए: ”सर, आज टुरिजम बोर्डमा नागरिक, साइकल र पैदल यात्री, सरो–कार वाला, पत्रकार, वकिल, चाइनिज ठेकेदार, सडक सुरक्षा इन्जिनियर, यातायात विभाग आदि भेला भए । चक्रपथ विस्तारका निर्देशकले त्रुटि स्वीकारेर सकेसम्म सच्याउने र बाँकी १७ किमीमा नयाँ डिजाइन गर्ने वचन गरेर ‘गलफत्ती’ नै गरे भन्या !” 

प्रतिकृया दिनुहोस