टिप्पणीशनिवार, माघ २७, २०७४

उपत्यकाका तीन शहरको सांस्कृतिक गौरव खतरामा

वसन्त महर्जन

खर्च धान्न नसकेर बन्द भइसकेका सांस्कृतिक गतिविधिको फेहरिस्त बनाउँदा केही दशकपछि उपत्यकाका तीन शहरले आफ्नो सांस्कृतिक गौरव गुमाउने अवस्था आउने आकलन हुन्छ।

भक्तपुरको थथुबही । तस्वीर: वसन्त महर्जन

हरेक मकर–सङ्क्रान्तिमा भक्तपुरको थथुबहीमा सम्यक् दान पर्व मनाइन्छ । ललितपुरको नागबहालमा पाँच वर्ष र काठमाडौंको भुइँखेल (स्वयम्भू) मा १२ वर्षको अन्तरालमा यस्तै दान पर्व मनाउने परम्परा छ ।

नियमित बाहेक कुनै दाताले चाहे बेग्लै ऐच्छिक सम्यक् दान पर्व मनाउन सकिन्छ । बौद्धजगतमा सम्यक् दानको परम्परा पुरानै हो । कुनै बेला यो परम्परा अन्यत्र पनि थियो होला, तर अहिले काठमाडौं उपत्यकाका तीन शहरमा मात्र कायम छ । यो हाम्रा लागि गौरव पनि हो । 

भक्तपुरको सम्यक् दान पर्व पटक–पटक अवलोकन गरिसकेको यो पंक्तिकार यस वर्ष १ माघमा पुनः त्यहाँ जाँदा थाहा पायो– महाविहार रहेको जग्गा अहिले महाविहारको नाममा छैन ।

थथुबहीलाई जयकीर्ति विहार र शक्रवर्ण विहार पनि भनिन्छ  । इताछें टोलस्थित तःपुखू (सिद्धपोखरी) भन्दा पूर्व र नःपुखूको पश्चिमस्थित खुल्ला चौरको बीचमा रहेको सुन्दर थथुबहीमा लिच्छविकालीन कलाकृतिहरू पनि देख्न पाइन्छ ।

अग्रभागमा भने २०१६ सालमा स्थापित श्री ज्ञान विजय आधारभूत विद्यालयको साइनबोर्ड देखिन्छ । सर्वसाधारणको हितमा खोलिएको त्यही विद्यालय अहिले विहार अतिक्रमणकारीको रूपमा देखा परेको छ ।

अतिक्रमण त्यत्तिमै सीमित छैन । कुनै बेला यही महाविहार रहेको जग्गामा अहिले भक्तपुर अस्पताल, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, जिल्ला हुलाक कार्यालय, सरकारी वकिलको कार्यालय र सैनिक तालिम केन्द्र छन् ।

निकै साँघुरो क्षेत्रमा सीमित बनेर सम्यक् पर्व मनाउन बाध्य बनेको थथुबही जहाँ छ, त्यो जमीन पनि उसको नाममा छैन । यो अवस्थाले ऊँटलाई बास दिंदाको कथा सम्झाइरहेको छ, जुन सांस्कृतिक विचलनको ज्वलन्त उदाहरण हो ।

दाताहरूले राखिदिएको जग्गाको आयस्ताबाट धार्मिक–सांस्कृतिक गतिविधि संचालन हुने गर्छन् । काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका थुप्रै सांस्कृतिक जीवन यसरी चल्दै आएका छन् । त्यस्ता जग्गाहरू मासिने प्रक्रियामा तीव्रता आएको छ ।

धार्मिक–सांस्कृतिक संघ–संस्थाको नाममा रहेका जमीन गुठी संस्थानअन्तर्गत परेको छ । धार्मिक–सांस्कृतिक गुठीहरूको जग्गा संस्थानले भोगचलन गरेर सम्बन्धित संघ–संस्थाको गतिविधि संचालनको लागि आवश्यक खर्च उपलब्ध गराउँछ ।

उहिले र अहिलेको बजार भाउमा आकाश–पाताल फरक परिसक्दा पनि गुठी संस्थान ‘अपडेट’ नभइदिएपछि सांस्कृतिक गतिविधि प्रभावित हुन पुगेको छ ।

जात्रा–पर्व मनाउन खर्च पुग्दैन भन्नुको अन्तर्य यही हो । यो जानकारी नहुनेहरू यसलाई सरकारले दिने अनुदान वा चन्दा बुझछन् । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा मितव्ययिता अपनाउने भन्दै उक्त खर्च कटौती गरिदिंदा सात दिन मनाउनुपर्ने इन्द्रजात्रा अवरुद्ध भएर स्थानीय जनता सरकारसँग आक्रोशित भएका थिए ।

दाताहरूले राखिदिएका गुठी जग्गाको आयस्ताबाट धार्मिक–सांस्कृतिक पर्वहरू संचालन हुने परम्परा लिच्छविकाल भन्दा अघि नै शुरू भएको मानिन्छ । पछि कानून बनाएर गुठी संस्थानले लिएको त्यस्ता जग्गाजमीनको सुरक्षा र लगत राख्ने काम संस्थानकै हुन्छ ।

तर, वास्तविकता के छ भने, गुठी संस्थानसँग न ती जग्गाको लगत छ न त धार्मिक–सांस्कृतिक पर्वहरूमा रुचि । बरु पछिल्ला वर्षहरूमा त्यस्ता जग्गा निकै सस्तोमा बेच्ने, लिज वा भाडामा दिने र अन्ततः मास्ने अखडाको रूपमा प्रस्तुत भइरहेको छ, गुठी संस्थान आफैं । जिम्मेवार संस्थानका अधिकारीहरू कर्तव्यपरायण नहुँदाको परिणाम हो, यो ।

कति गुठियारले आफ्नै खल्तीबाट पैसा जुटाएर वा चन्दा उठाएर पनि संस्कृतिलाई निरन्तरता दिएका छन् । त्यस्ता संस्कृतिकर्मीहरू अनेक लन्ठा र नचाहिंदो झ्मेलाको कुरा सुन्नुपर्ने हुनाले नियमतः पाउनुपर्ने खर्च लिन पनि जाँदैनन्, जसोतसो आफैं टार्छन् ।

त्यस्तो बेला गुठी संस्थान चाहिं हाइसन्चो मान्छ । यसले गर्दा जग्गाधनी गुठी र सरकारी अड्डा गुठी संस्थानको सम्बन्ध नै पातलिन थालेको छ ।

झ्ट्ट हेर्दा सांस्कृतिक रूपमा सम्पन्न देखिए पनि आन्तरिक रूपमा विशेषगरी आर्थिक दृष्टिले दयनीय अवस्था छ । खर्च धान्न नसकेर प्रायः बन्द नै भइसकेका सांस्कृतिक गतिविधिको फेहरिस्त बनाउने हो भने लामै हुन्छ ।

यो स्थिति नसुधारे केही दशकपछि काठमाडौं उपत्यकाका तीन शहरलगायतले आफ्नो सांस्कृतिक गौरव गुमाउने अवस्था आउने देखिन्छ ।

जो–कोही नेपालीसँग धर्म, संस्कृति, परम्परा र इतिहासको कुरा गर्दा आदर्शका अनेकौं वाक्य फलाक्छन्, तर व्यवहार त्यसको ठीक उल्टो पाइन्छ ।

यसलाई संस्कृतिसम्बन्धी शिक्षाको अभाव र धर्म–संस्कृति रक्षार्थ जिम्मेवार पद ओगट्नेहरूको नालायकीको नतिजा मान्नुपर्छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस