टिप्पणीशनिवार, माघ २७, २०७४

पुन:निर्माणमा बेवास्ता: सांस्कृतिक घर लोप हुँदै

हिमालखबर

भूकम्पीय दृष्टिकोणले सुरक्षित बासस्थान हुनुपर्नेमा दुईमत हुनै सक्दैन, तर घर भनेको संस्कृति पहिचान पनि हो भन्ने कुरालाई बिर्सन मिल्दैन।

- फुर्पा तामाङ

रसुवाका तामाङ गाउँमा भूकम्प अघिको घर (बायाँ) र बन्दै गरेको घर ।

१२ वैशाख २०७२ को महाभूकम्पले पुर्‍याएको जनधनको क्षति त सबैले देखेका छन्, तर घर–संस्कृतिमा पुगेको क्षतिमा कसैको आँखा परेको छैन । भूकम्पपश्चात् धेरैले बलियो घर आवश्यक ठाने । सरकारको पनि ध्यान त्यसैमा छ । र, भूकम्पपछिको पुनःनिर्माणले रसुवाका तामाङ समुदायको जातीय पहिचान झल्कने घर/वास्तुकला/संस्कृतिलाई लोप हुने अवस्थामा पुर्‍याएको छ ।

ती घरहरू प्राविधिक दृष्टिकोणले बलिया थिएनन् होला, तर तिनको बनोटले तामाङ जातिको कला सभ्यतालाई उहिलेदेखि अहिलेका पुस्तासम्म ल्याइपुर्‍याएका थिए । भूकम्प अघि रसुवाका तामाङ गाउँहरूमा पस्दा काठ र ढुंगाका घरहरूले विशेष वास्तुकलाको आनन्द दिन्थ्यो ।

भिरालो जमीनको गरामा काठको फलेकको छानो र ढुंगाको गारो भएका कहीं झुरुप्प तथा कतै डाँडामा लस्करै देखिने घरहरूले देशी–विदेशी पर्यटकलाई निकै आकर्षित गर्थे, जुन अब देख्न नपाइने भएको छ ।

भूकम्पपश्चात् बनेका घरहरू हेर्दा बलिया देखिन्छन् । प्राविधिकले भने अनुसार निर्माण सामग्री प्रयोग भएका छन्, तर तिनले तामाङ पहिचान र संस्कृतिको झल्को दिंदैनन् ।

यसको कारण हो, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको नक्शा–डिजाइन, जुन तामाङ जातिको मौलिकता भन्दा फरक छ । स्वीकृत नक्शा अनुसार घर नबनाए रु.४ लाख अनुदान पाइँदैन ।

यसले गर्दा अब बन्ने घरहरू तामाङ संस्कृति अनुसार नहुने भए । यसको नकारात्मक असर सांस्कृतिक पर्यटनमा समेत पर्नेछ । पर्यटकहरू प्राकृतिक सौन्दर्य मात्र नभएर गाउँबस्तीको कला–संस्कृति हेर्न पनि आउँछन् । यो कुरा सबैलाई थाहा छ ।

रसुवाका तामाङ समुदायले उहिल्यैबाट घरमा फलेकको छानो हाल्दै आएका हुन् । छानो छाउने ‘क्वि–दोङ्पो’ पानी सल्ला प्रजातिको काठ हो । फलेकको छानोलाई ‘पङ्लेप’ भनिन्छ ।

घरभित्र बालेको आगो र धुवाँले यसलाई टिकाउ बनाउँछ । छानो छाउन मिल्ने गरी सल्लाको बाटा (ब्रेङ) ठाडो पारेर हालिन्छ । ब्रेङमाथि तेर्सो क्रस पारेर ‘छूप’ निगालो (म्आ) को चोयाले बलियोसँग बाँधिएको हुन्छ, जसलाई ‘थातोर’ भनिन्छ ।

थातोर तल (पोथी), माथि (भाले) पारेर बाँधिन्छ । यसलाई ‘मम्तिङ–मेमे’ (हजुरआमा–हजुरबा) भन्ने चलन छ । फलेकको छानो छाउन सिपालु व्यक्ति खोजिन्छ । सिकारुले छाउँदा बर्खामा पानी चुहिने डर हुन्छ ।

उहिले ‘भीरबाट लडेर मरेको मूर्दा बौरी आएर घरभित्रका मानिसहरूलाई छोइदिंदा सबै बहुलाएर मरेको’ जनविश्वासले घरहरूमा होचो ढोका बनाउने चलन छ । ‘र्ओलङ’ (लाश वा मूर्दा) निहुरिन सक्दैन, तर ढोका अग्लो भए सजिलै घरभित्र पस्छ भनिन्छ । 

धुरीदेखि तलको भागलाई ज्याखङ भनिन्छ । यो पाँच हात अग्लो हुन्छ । यो भागमा ‘छूप–म्आः’ निगालो मिलाएर काठको फलेकहरू राखिन्छ । रसुवाली तामाङका घरहरूको सुत्ने, बस्ने र खाने कोठालाई सिमखङ, छोखङ र सखङ भनिन्छ ।

यी मुख्य भागहरूमा बौद्ध र बोन धर्म–संस्कृति अनुसार बुट्टेदार झयाल–ढोका राखिएको हुन्छ । सिंढी (थेम्बा) र बार्दली (रब्सल) मा पनि बुट्टा खोपिएको हुन्छ ।

रसुवामा घरको तीनतिर ढुंगाको गारो लगाउने पुरानो चलन छ । अगाडिको भाग (रब्सल) मा पनि फलेकलाई नस् बाँधेर गारोको रूपमा ठड्याइएको हुन्छ ।

घरभित्रको मध्य भागमा आगो गोगा (चूलो) बनाइएको हुन्छ । चूलो माथि भाँडाकुँडा राख्न ‘फुदुल’ बनाएको हुन्छ । फुदुलमा दियालो÷टुकी बाल्न मिल्ने गरी ‘बोर्सो’ बनाइएको हुन्छ । चूलाको सीधा माथि अन्नपात सुकाउन काठको ‘मेलङ’ झ्ुन्ड्याइएको हुन्छ ।

चूलोमा उज्यालो छिरोस् भनेर गारोको मध्य भागमा ‘कङ सुम्प’ (झयाल) राखिन्छ । भित्तोहरूमा सामान राख्न काठका तेम् (दराज), बक्सी÷बङः÷फेगम् (बाकस), क्याङजङ–सङ्री र बौद्ध ग्रन्थहरू राख्ने क्षेट्ठी बनाइएको हुन्छ । यी सबैमा युङ्टुङ (स्वस्तिक), त्रिशूल, बुम्बा (कलश) र ग्याना च्यारीका बुट्टाहरू खोपिएका हुन्छन् ।

काठको गु (डाडु), क्यावा (पन्यू), निगालोको वुर्सिङ (फिट्ने) लगायतका सामग्री राख्न काठकै ठाडो ‘ग्विजङ’ (बाकस) बनाइन्छ । चोयाका बेन्गे (थैली) मा खुर्सानी आदि हालेर मेलङमाथि राखिन्छ ।

छिंडीतिरको भागलाई वाखङ भनिन्छ । धेरैले छिंडीलाई खुल्ला नै राखेका हुन्छन् । कतिले ढुंगाको गारो लगाएर बीचमा ढोका राख्छन् । धेरैजसो घरको छिंडीमा दाउरा, ओखल र भोटे कुकुर देखिन्छ ।

घरको धुरी र आँगनमा रानी सल्लाको रूख ठड्याएर बौद्ध झ्ण्डा फराइएको वा दर्सिङ (लिङ्गो) गाडिएको हुन्छ । घरको अग्र भागको सुरमा झँक्रीले कल्ता दोङ्बो (गोब्रे सल्ला) वा ‘सिङ्रा दोङ्बो’ नाम दिइएको रूखमा कुरिम (पूजा) गरेर बोन्पो झ्ण्डाको रूपमा ‘पाचम’ ठड्याउने चलन छ ।

अहिलेको पुनःनिर्माण प्रक्रियामा पहिलेको निर्माण संस्कृतिलाई विल्कुलै बेवास्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस