त्रिशुली नदीमा जीप सहित खसेका सचिव यादव मृत अवस्थामा फेला, यादवले नै जीप चलाएको प्रहरीको भनाई
त्रिशुली नदीमा जीप खसेर बेपत्ता भएका सिंचाई मन्त्रालयका सचिव रामानन्द यादव मृत अवस्थामा फेला परेको छन् ।
सचिव यादव जीपभित्र चालकको सिटमा, सिट बेल्ट बाँधेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीका गोताखोहरुले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाका अनुसार जीप सचिव यादवले नै चलाएका थिए ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा आज, शनिबार बिहान जीप खस्दा सचिव यादवका २५ वर्षका छोरा सन्तोष यादव र जीपमा सवार १५ वर्षका उन्नती गुप्ता बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।
कपिलबस्तुबाट काठमाडौं जाँदै गर्दा यादव सवार बा २ झ ३१४० नम्बरको जीप शनिवार विहान २ः४५ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।
जीप खस्दा घाईते भएका गाडीका चालक नीरन्जन यादव अधिकारीको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
सो क्रममा उद्धारमा खटिएका गोताखोर, सशस्त्र प्रहरी हवल्दार तारानाथ चापाई समेत घाइते भएका छन् ।
पानीभित्र अन्य व्यक्तिहरुको अवस्थाबारे बुझ्न गएका उनी गाडिभित्रै अड्किएपछि अन्य सहयोगीले बाहिर निकालेका थिए ।
बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि अहिले राजमार्ग सामुदायिक अस्पताल मलेखु लगिएको प्रहरीले जनाएको छ ।
सानुबाबु तिमिल्सना, धादिङ