एमाले प्रदेश नं १ संसदीय दलको नेतामा राई
नेकपा एमाले प्रदेश नंं १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।
भोजपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित राईले आज सम्पन्न एमाले संसदीय दलको निर्वाचनमा २६ र उनका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गरे । एक मत बदर भएको छ ।
प्रदेश नं १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।
उक्त अवसरमा प्रदेश नं १ मा संसदीय दलको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन टोलीले निर्वाचित राईलाई प्रमाणपत्र प्रदान गर्यो ।
सञ्चारकर्मीसँग कुरा गर्दै नेता राईले संसदीय दलको बैठक बसेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । संसदीय दलको नेतामा निर्वाचनमा पराजित आचार्यले अब आफू पार्टीको कार्यमा जुट्ने बताए ।
प्रदेश नं १ मा सभामुखको चयन यही माघ २९ गते हुँदैछ ।