समाचारशुक्रवार, माघ २६, २०७४

झस्काउने तथ्यांक: स्कुलमा छात्राको लाइन छोटो हुन थाल्यो

हिमालखबर

स्कूलमा छात्राको लाइन छोटो हुँदै जानु र अस्पतालहरूमा छोरा धेरै जन्मन थाल्नुले जनसांख्यिक असन्तुलनको खतरनाक संकेत गर्छ।

- लक्ष्मी भण्डारी, खोज पत्रकारिता केन्द्रबाट

उषा बालबाटिका बोर्डिङ स्कूल वीरेन्द्रनगर, सुर्खेत ।

बिहान १० बजे सुर्खेतको उषा बोर्डिङ स्कूलको प्रार्थना सभा हुँदै गर्दा शिक्षिका मधु बिसीलाई महसूस भयो– पहिले भन्दा केटीहरूको लाइन घट्दै गएको छ । छेउमै उभिएकी सहकर्मीलाई यो कुरा भन्दा उत्तर आयो, “साँच्चै, हाम्रो पालामा केटीहरूको लाइन लामो भएजस्तो लाग्छ !” 

वीरेन्द्रनगर नगरपालिकाको सेन्टमेरिज बोर्डिङ स्कूलका शिक्षक परमानन्द रेग्मीले पनि छात्राहरूको संख्या घटेको टड्कारो अनुभव गरेका छन् । उनकै स्कूलमा यही शैक्षिक सत्रमा नर्सरीमा भर्ना भएका २६० नयाँ विद्यार्थीमा १४७ केटा छन् भने ११३ जना मात्र केटी ।

वीरेन्द्रनगरकै उषा बोर्डिङमा पनि नयाँ २३४ विद्यार्थीमध्ये १०१ जना मात्र केटी छन् । छोरालाई निजी र छोरीलाई सरकारी स्कूलमा पढाउने चलन रहेकोमा अहिले सरकारीमा समेत छात्रा संख्या घटेको छ । वीरेन्द्रनगरको धुलियाविट माविमा अघिल्लो वर्ष ५४ छात्र र ४१ छात्रा नयाँ भर्ना भएका थिए ।

अस्पतालहरूमा जन्मिएका शिशुको लैङ्गिक अनुपातमा पनि छोरा धेरै देखिन्छ । पछिल्लो पाँच वर्षमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ हजार ५९४ छोरा र ७ हजार २२२ छोरी जन्मिएको रेकर्ड छ ।

त्यस्तै, सुर्खेत जिल्ला अस्पतालमा पछिल्लो पाँच वर्षमा भएको ३२ हजार ७६० जन्ममा १७ हजार ५०८ छोरा र १५ हजार २५२ छोरी जन्मिएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । १०० जना छोरी जन्मँदा ११५ छोरा जन्मेको अनुपात यो तथ्यांकले देखाउँछ ।

स्वास्थ्यका लागि सरकारी तथा गैर–सरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरू भ्रूणको लिङ्ग पहिचान गरेर गरिने गर्भपतनका कारण छोरीको जन्मदरमा कमी आएको हुन सक्ने बताउँछन् ।

हुनेखाने र शिक्षितहरूले नै भ्रूणको लिङ्ग पहिचान गरेर बच्चा जन्माउन थालेकाले छोरीको जन्मदर घटेको यस क्षेत्रका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जन्मँदा नै छोरीहरू कम भएपछि त्यसको असर विद्यार्थी भर्नामा पर्ने नै भयो । जिल्ला शिक्षा कार्यालय सुर्खेतको चार वर्षको तथ्याङ्क केलाउँदा आर्थिक वर्ष २०७०/७१ देखि २०७३/७४ सम्म ५१ हजार ५९३ जना बालबालिका कक्षा १ मा भर्ना भएकोमा २६ हजार १६४ छोरा र २५ हजार ४२९ छोरी रहेको देखियो ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले पनि सुर्खेतमा लैङ्गिक गडबडी देखाउँछ । त्यस अनुसार, जिल्लामा महिलाको संख्या पुरुषको भन्दा ११ हजार ९६२ बढी भए पनि १४ वर्षमुनिका बालबालिकामा छोरीको संख्या छोराको भन्दा ३ हजार ३२१ ले कम देखिन्छ ।

लैंगिक विभेदको मार
पहिलो पटक छोरी जन्माएकी गुर्भाकोट नगरपालिकाकी विष्णुमाया क्षेत्री (नाम परिवर्तन) ले छोराको आशमा लगातार तीन छोरी जन्माइन् । फेरि पनि छोरी नै जन्मिए के गर्ने भन्ने चिन्तामा परेका क्षेत्री दम्पतीले भ्रूणको लिङ्ग पहिचान गरेर छोरी भए गर्भपतन गराउने उपाय निकाले ।

त्यसपछि तीन पटक नेपालगञ्जमा लिङ्ग पहिचान र गर्भपतन गराएकी विष्णुमायाको सातौं गर्भमा छोरा भएको थाहा भयो ।

३९ वर्षको उमेरमा छोरा पाएकी उनी नेपालगञ्जको हेल्थ केयर सेन्टरमा लिङ्ग पहिचान र गर्भपतन गर्ने १५ जना जति त आफ्नो चिनजानकै महिलाहरू रहेको बताउँछिन् । तिनैमध्येकी एक सुनिता हमाल (नाम परिवर्तन) ले त विवाह भएको सात वर्षमा तीन पटक गर्भमा छोरी भएको पहिचान गरेर गर्भपतन गराइन् । चौथो गर्भमा छोरा रहेको देखिएपछि मात्र उनले बच्चा जन्माइन् ।

छोरीप्रति कति निर्मोह छ भने दुई छोरा पाएकी गुर्भाकोटकी विमला बलायर (नाम परिवर्तन) तेस्रो सन्तान जन्माउनै चाहिनन् । “छोरा भए त गरेर खान सक्छन्” उनी भन्छिन्, “छोरी भए चिन्ता मात्रै ।”

लगातार दुई छोरी जन्माएकी अछामकी जोरमाया शर्मा घरपरिवारमै अपहेलित हुनु पर्‍यो । दोस्रो पटक सुत्केरी हुँदा उनले राम्रो हेरचाह पनि पाइनन् । अपहेलनाकै कारण वीरेन्द्रनगर झ्रेकी उनले अहिले दुःख गरेर छोरीहरू पुनम र निलमलाई बीबीएस पढाइरहेकी छन् ।

त्यस्तै, वीरेन्द्रनगरकी मीना पौडेल (४०) भने तेस्रो सन्तान जन्माउनैपर्ने दबाबमा छिन् । “घरपरिवार र छरछिमेक समेत ‘एउटा छोरा त चाहिन्छ’ भन्छन्” उनी भन्छिन्, “हामीलाई होइन, समाजलाई छोरा चाहिने रहेछ ।”

सुनिता, जोरमाया, मीना नेपाली समाजका प्रतिनिधि पात्र हुन् । यीमध्ये कसैलाई छोरा नभई भएकै छैन, कोही छोरीमै चित्त बुझउँछु भन्दा पनि छोरा नै चाहिन्छ भन्ने समाज र छरछिमेकको प्रताडनामा छन् ।

कानून अनुसार विशेष अवस्था बाहेक १२ हप्तापछि भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । तर, पितृसत्तात्मक सोच, धार्मिक, सांस्कृतिक, सामाजिक जस्ता कुसंस्कारले लिङ्ग पहिचानपछि छोरी भए गर्भपतन गर्ने चलन बढेको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. डम्बर खड्का कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा भ्रूणको लिङ्ग पहिचान र गर्भपतन दुवै बढेको बताउँछन् । त्यस्तै, नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन), सुर्खेतकी संगीता वली कसूर थाहा पाएर पनि दोषीलाई न्यायको कठघरामा उभ्याउन नसक्नु मुख्य समस्या भएको बताउँछिन् ।

भ्रूणको लिङ्ग पहिचान गरेर छोरी भए गर्भपतन गर्ने क्रम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले ‘छोरी प्रोत्साहन कार्यक्रम’ ल्याएर राम्रो पहल थालेको छ । नगरपालिकाले छोरी जन्मिए निःशुल्क ब्यांक खाता खोलेर रु.१००० जम्मा गरिदिने कार्यक्रम थालेको छ ।

मेयर देवकुमार सुवेदी लिङ्ग पहिचान र गर्भपतन रोकेर वीरेन्द्रनगरलाई छोरीमैत्री नगर बनाउन लागिपरेको बताउँछन् । “प्रशासनसँग मिलेर कडा अनुगमन गरी दोषीलाई कानूनको दायरामा ल्याउँछौं” उनी भन्छन्, “छोरी भएकै कारण गर्भपतन गर्ने व्यक्ति, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई छूट दिनुहुदैन ।”

हराएका छोरीहरू
२०६८ को जनगणना अनुसार, नेपालको कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ मा महिलाको सङ्ख्या ५२ प्रतिशत (१ करोड ३६ लाख ४५ हजार ४६३) छ । यो संख्या पुरुषको भन्दा करीब ८ लाख बढी हो । यस आधारमा महिला–पुरुष लैङ्गिक अनुपात १००/९४ हुन्छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा. केशव अधिकारी देशभित्र वा बाहिर जहाँ बसेको भए पनि महिला–पुरुषको सङ्ख्या तुलना गरेर हेर्दा नेपालको लैंगिक बनावट अहिले हामीले प्रयोग गरेको तथ्यांक भन्दा ठीक उल्टो देखिने बताउँछन् ।

“महिलाको संख्या बढी छ भन्ने तथ्यांकका आधारमा आरक्षणको व्यवस्था पनि गरिएको छ, तर छोरीलाई गर्भमै नष्ट गरेर महिलाको संख्या घटाइँदैछ भन्नेमा धेरैको ध्यान गएको छैन” उनी भन्छन्, “सुर्खेतमा देखिएको यो जनसाङ्ख्यिक असन्तुलनलाई राष्ट्रिय परिप्रेक्ष्यमा हेर्नुपर्छ ।”

प्रतिकृया दिनुहोस