टिप्पणीशुक्रवार, माघ २६, २०७४

वायुसेवाको बल

विष्णु रिजाल

नेपाल वायुसेवा निगमले अहिलेसम्म अवतरण अधिकार कायम रहेका गन्तव्यहरूमा नियमित उडान गर्नसक्दा मात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्नेछ। 

माघको पहिलो साता म्यान्मार (बर्मा) को पुरानो राजधानी यांगुनमा भेटिएका नेपालीभाषी बर्मेलीहरूको एउटै गुनासो सुनियो– ‘यहाँबाट नेपाल जाँदा घुमेर जानुपर्छ, सीधा हवाई सम्बन्ध हुनुपर्‍यो ।’ हुन पनि, यांगुनबाट काठमाडौं पुग्न थाइल्यान्डको राजधानी ब्यांकक् वा कुनै भारतीय शहर भएर जानुपर्छ जुन लामो, खर्चिलो र झ्न्झ्टिलो हुने नै भयो । 

बौद्ध बहुल बर्मामा गौतम बुद्धको जन्मभूमि नेपाल आउन चाहनेहरू धेरै हुन्छन् । तर भगवान बुद्धका नाममा हुने उनीहरूको यात्रा भारतका विभिन्न स्थानमा रुमल्लिएर टुंगिने गरेको छ ।

कुनै बेला बर्मामा नियमित उडान भर्ने नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स– एनए) को त्यो अवतरण र उडान अधिकार अझै सुरक्षित छ । त्यसलाई पुनः सञ्चालन गराउन नेपाली राजदूत भीम उदासले थालेको प्रयत्न सफल हुन सकिरहेको छैन । गैर–आवासीय नेपाली संघको प्रतिनिधिमण्डलले पनि काठमाडौं गएर सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराएकै रहेछ ।

निजी क्षेत्रको हिमालय एअरलाइन्सले शुरू गरेको उडान चाहिं चार महीनाभन्दा बढी टिक्न सकेन । दोस्रो महीनामै नाफाको खोजी र तेस्रो महीनामा नाफा नहुने निक्र्योलले दीर्घकालीन व्यापार हुन नसक्ने प्रष्टै छ ।

काठमाडौंबाट बर्मा जानुपर्दा बर्माकै आकाश हुँदै ब्यांकक् ओर्र्लेर फेरि अर्को उडान समात्नुपर्ने बाध्यता छ । बर्मा एउटा उदाहरण हो, एनएले उडान गर्नैपर्ने तर नसकेका गन्तव्य धेरै छन् । यो कुरा उठ्नासाथ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार ‘जहाज छैन’ भन्छन् । हुन पनि, तीनवटा जहाजले संसारभरि उडान भर्न सकिंदैन ।

कुनै बेला ३९ देशमा सीधा उडान गर्ने एनए अहिले पाँच देशमा खुम्चिएको छ । ब्यांकक्, दोहा, हङकङ, दुबई, क्वालालम्पुर, दिल्ली, मुम्बई र बैंग्लोर गरी आठवटा गन्तव्यको उडान पनि नियमित हुन सकिरहेको छैन ।

जहाज चाहियो
सरकार बनाउन लागेको वाम गठबन्धनको घोषणापत्रमा पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँचहजार डलर पुर्‍याउने उल्लेख छ । हाम्रो आन्तरिक आर्जन वा स्वदेशी पूँजी परिचालनबाट मात्र त्यति धेरै आम्दानी सम्भव छैन ।

त्यसका लागि आम्दानीका नयाँ स्रोत–सम्भाव्यताहरूको उपयोग गर्नैपर्ने हुन्छ । त्यस दिशामा पर्यटन उद्योग एउटा मुख्य आधार बन्न सक्छ । आवश्यक जहाजहरूको व्यवस्था र सुविधासम्पन्न होटलहरूको निर्माणले पर्यटन विकासलाई नयाँ मोड दिन सक्छ ।

हाम्रो राष्ट्रिय आवश्यकता के हो र कसरी समृद्धितर्फ जान सकिन्छ भन्नेमा हामी सधैं अलमलमा पर्‍यो । अन्य मुलुकहरू आफूसँग जे छ, त्यसैलाई उपयोग गरेर समृद्ध बनेका छन् ।

समुद्र भएका देशका लागि त्यो पूँजी हुन सके जस्तै हिमाली नेपालका लागि यही नै समृद्धिको आधार हुन्छ । त्यसका लागि बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्छ । पर्यटक भित्रिंदा शुरूको विन्दुबाटै नेपालले लाभ लिन सक्ने वातावरण बनाउन सक्नुपर्छ ।

नेपालमा पर्यटक बढ्दा अन्यत्रकै विमान सेवा र ट्राभल एजेन्सीहरूलाई लाभ हुने हो भने हामीले पर्यटन विकासको जति गीत गाए पनि निरर्थक हुन्छ ।

हामीलाई सबभन्दा पहिले आवश्यक मात्रामा जहाज चाहिएको छ, जुन ठूलो हंगामाको विषय मात्र बन्दै आएको छ । साढे तीन वर्ष पहिला ‘जहाज थप्छु, उडान बढाउँछु’ भन्दै निगममा भित्रिएका कंसाकारको समय फाइल च्यापेर सिंहदरबार धाउँदैमा वितेको छ ।

उनको योजना अनुसार बल्लतल्ल आगामी वैशाख–जेठतिर दुईवटा ‘वाइड बडी’ जहाज आउँदैछन् । लामो खरीद प्रक्रिया, धेरै निकायको संलग्नता अनि जहाज ल्याउनु भनेको के, के न हो भन्ने मानसिकताका कारण किन्नै नसकिने अवस्था छ ।

ठूलो कारोबार हुने भएकाले प्रशासक र नेतादेखि दलालसम्मका आँखा त्यसैमा पर्छ । धमिजा, लाउडा, चेज एअर, चाइना साउथ वेस्ट जस्ता काण्डका कारण जहाज ल्याउने निर्णय गर्न डराउनुपर्ने स्थिति छ ।

स्तरीय पर्यटक आकर्षित गर्न टाढाका गन्तव्यसम्म उडान भर्न आवश्यक छ, जसका लागि ‘वाइड बडी’ जहाज चाहिन्छन् । त्यस्ता दुईवटा जहाज थपिएपछि दक्षिण कोरिया, जापान र साउदी अरबमा उडान गर्ने निगमले जनाएको छ ।

हाम्रा लागि बढी फाइदाजनक छोटा गन्तव्यहरू पनि छन्, जहाँ ‘न्यारो बडी’ जहाज बढी उपयोगी हुन्छ । म्यान्मार र श्रीलंका जस्ता बौद्धमार्गी मुलुकबाट दुई–अढाइ घण्टाको उडानमा पर्यटक ल्याउन ‘न्यारो बडी’ ठीक हुन्छ । १५६ सिटको जहाज रित्तै फर्किनु पनि पर्दैन । बिहान उडेर साँझ् आफ्नै घरमा बास बस्न फर्किने गरी ‘न्यारो बडी’ प्रयोग गर्न सकिन्छ ।

निगमको छवि
ब्यांकक् र खाडी मुलुकहरू जाने विमानमा अधिकांश यात्रु नेपाली हुन्छन् । आफ्नै देशको विमान सेवा भरपर्दो भए उनीहरू अरू विमानको टिकट काट्दैनन् । भनेको दिन उडान नहुने, भए पनि समय घर्काउने जस्ता हैरानीका कारण त्यही रुटमा पनि नेपालीहरू एनएको टिकट काट्न हच्किन्छन् ।

आज नेपाल वायुसेवा निगमको छवि यस्तो बनेको छ कि त्यसमा यात्रा गरे समयमै गन्तव्यमा नपुगिने निश्चित हुन्छ भन्ने भएको छ ।

जति उडान गर्न सक्ने हो, त्यतिको घोषणा गर्ने र घोषणा गरिएको उडान ठीक समयमा गर्दा पनि यो छविमा सुधार हुन्छ । आफैं गर्न सक्ने यस्ता सुधारमा निगमलाई कसैले रोकेको पनि छैन ।

एकपटक टिकट काटेर दुःख पाएपछि संकटै परेमा बाहेक मानिस फर्केर आउँदैन भन्ने कुरा पनि उडान क्षेत्रमा वर्षौं बिताएको निगमले बुझेकै छ ।

प्रतिकृया दिनुहोस