थप समाचारबुधवार, माघ २४, २०७४

वीरगञ्जः अपराधिक गतिविधिमा संलग्न ७ जना पक्राउ

हिमालखबर

तस्वीर: सुरेश विडारी 

पर्सा प्रहरीले २३ माघमा विभिन्न अपराधिक गतिविधिमा संलग्न ७ जनालाई पक्रउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुमध्ये दुई जनाको साथबाट नक्कली नोट बरामद भएको र अरुको साथबाट लागु औषध भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४ दामन बस्ने २५ वर्षीय नारायण गुरुङ र मकवानपुरको काँकडा गाउँपलिका–५ सिलदानी बस्ने ३१ वर्षीय कृतिबहादुर मोक्तान, काभ्रेपलाञ्चोक पनौति नगरपालिका–९ बस्ने २१ वर्षीय राजीव थापा, वीरगञ्ज महानगरपालिका–१ बस्ने १८ वर्षका अब्दुल आलम, पर्साको सुवर्णपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय सञ्जीव खड्का, वीरगञ्ज महानगरपालिका–९ कुम्हालटोल बस्ने १८ वर्षीय मनीष श्रीवास्तव र बाराको कलैया उपमहानगरपालिका–२३ भटौडा बस्ने २२ वर्षीय नहकुल प्रसाद पटेल रहेका छन् ।

उनीहरुलाई पर्सा प्रहरीले पत्रकार सम्मेलन मार्फत २३ माघमा सार्वजनिक गरेको हो ।

१९ माघमा पक्राउ परेका गुरुङ र मोक्तानको साथबाट १ हजार दरका १९ थान नक्कली नेपाली नोट बरामद गरिएको र अरुको साथबाट लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार नक्कली नोट सहित पक्राउ परेकाहरु विरुद्ध खोटाचलन मुद्दा दर्ता गरिएको छ भने लागु औषध सहित पक्राउ परेका पाँचै जना विरुद्ध लागु औषध शिर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

वेवारिसे सवारी साधन राजश्वमा

पर्सा प्रहरीले विभिन्न समयमा बरामद गरी सवारी धनीलाई सवारी लिन आह्वान गर्दा पनि नआई वेवारिसे बनेका सवारी साधन राजश्व अनुसन्धान विभाग मध्य क्षेत्रिय कार्यालय पथलैयामा पठाउने भएको छ ।

प्रहरी कार्यालय परिसरमा अलपत्र अवस्थामा रहेका १४८ थान मोटरसाईकल, बिहार ०५ एपी १३१५ नम्बरको बोलेरो गाडी र एक थान स्वराज ट्याक्टर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रिय कार्यालयमा पठाउन लागिएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस