रिपोर्टसोमवार, माघ २२, २०७४

नेपाली आकाशमा राडार जडान, हवाई यात्रा सुरक्षित हुने विश्वास

मुकेश पोखरेल

ललितपुरको भट्टेडाँडामा स्थापित नयाँ राडारले नेपाली आकाशमा हवाई यात्राको असुरक्षा घटाउने विश्वास गरिएको छ।

तस्वीरहरुः गोपेन राई

१६ साउन २०४९ मा थाई एअरवेज इन्टरनेशनल फ्लाइट ३११ जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर उत्तरतर्फ सोझियो । आधा मात्र हवाई मार्ग (एअर स्पेस) लिएर घुम्नुपर्ने जहाजले पूरै स्पेस लिंदा नुवाकोटको घोप्टेभीरमा ठोक्कियो । दुर्घटनामा चालक दलका १४ सदस्यसहित ११३ जनाले ज्यान गुमाए ।

त्यसको ठीक ५९ दिनपछि, १२ असोजमा कराँचीबाट काठमाडौं उडेको पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्सको फ्लाइट २६८ जहाज ललितपुरको भट्टेडाँडामा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा चालक दलका १२ सहित १६७ जनाको मृत्यु भयो ।

एकै वर्ष नेपाली आकाशमा भएका दुई ठूला दुर्घटनाको कारण भने एउटै थियो– उच्चस्तरको हवाई प्रविधिको अभाव र ‘प्रोसिजर एप्रोच’ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमका भनाइमा, जहाज उडान–अवतरणका लागि तय गरिएको मार्गलाई ‘प्रोसिजर एप्रोच’ भनिन्छ, जहाँ जहाजले उडानको उँचाइ बताएपछि ‘एअर ट्राफिक कन्ट्रोल’ ले त्यसपछिको मार्गबारे निर्देशन दिन्छ ।

सुरक्षित हवाई यात्रा
यसै पनि कठिन भू–बनोट, छिनछिनमा परिवर्तन हुने मौसमलगायतका कारण नेपालको हवाई आकाशलाई चुनौतीपूर्ण मानिन्छ । त्यसमाथि २०४९ सालमा घटित यी दुई ठूला दुर्घटनाले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमै खस्कन पुग्यो । असर, पर्यटन क्षेत्रमा पर्‍यो ।

कतिसम्म भने, अन्तर्राष्ट्रिय हवाई कम्पनीहरू नेपालमा उडान भर्न नै अन्कनाउन थाले । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्राविधिक अध्ययनका लागि जापान सरकारलाई औपचारिक रूपमै आग्रह गरे ।

जापानकै सहयोगमा २०५४ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार (रेडियो डिक्टेसन एण्ड रेन्जिङ) प्रणाली स्थापना गरियो । यो राडारमार्फत ५० नटिकल माइल अर्थात् ८४ किलोमिटरसम्म रहेको विमान मात्रै निगरानी गर्न सकिन्थ्यो ।

तर, १८ माघदेखि ललितपुरको भट्टेडाँडामा सञ्चालनमा आएको नयाँ राडारले २५० नटिकल अर्थात् ४४५ किमि टाढासम्म उडिरहेका जहाज नियाल्न सक्छ । २५ फिटको दूरी मात्रै तल–माथि हुन सक्छ । “अब जहाजले आफू उडिरहेको दूरी, गति र स्थितिबारे गलत रिपोर्ट गरे पनि राडारबाट हुने निगरानीले सचेत गराउन सकिन्छ”, महानिर्देशक गौतम भन्छन् ।

राडार स्थापनापछि पश्चिममा सुर्खेतसहित नेपालभर ३५ हजार फिटसम्म उडिरहेका जहाजको निगरानी विमानस्थलबाटै गर्न सकिनेछ । गौतम भन्छन्, “राडारमार्फत नेपालको ७५ प्रतिशत हवाई क्षेत्र ‘कभर’ भएको छ, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान थप सुरक्षित बनाउनेछ ।” पछिल्लो राडार जडान पनि जापान सरकारको रु.१ अर्ब १० करोड सहयोगकै कारण सम्भव भएको हो ।

खोंचको जोखिम
अन्य सबै खाले उडान राडारको नजरमा परे पनि खोंचमा भने यसले काम गर्दैन । प्राधिकरणका उपनिर्देशक संजीव सिंह कठायत पहाडले राडारको सिग्नललाई छेक्ने भएकाले खोंचमा उड्ने जहाज निगरानीमा पर्दैनन् । तर, भैरहवा, सिमरा र विराटनगरबाट उडान भर्ने जहाज भने ५०० फिट माथिबाट नै राडारको निगरानीमा हुन्छन् ।

नेपालको पहाडी तथा हिमाली क्षेत्रमा भिजुअल फ्लाइट रुल (भीएफआर) र इस्ट्रूमेन्टल फ्लाइट रुल (आईएफआर) का आधारमा उडान भर्ने गरिन्छ । भीएफआरका आधारमा जहाज उडिरहेको ५ किलोमिटरसम्म होरिजेन्टल र भर्टिकल ‘भिजिविलिटी’ हुनुपर्दछ । र, यस्तो जहाज बादलभन्दा एक हजार फिट तल वा माथिबाट मात्र उड्नुपर्दछ । प्राधिकरणका महानिर्देशक गौतम नेपालका अधिकांश दुर्घटना पाइलटहरूले जहाजलाई जबर्जस्ती बादलभित्र लैजाँदा भएको बताउँछन् ।

आईएफआरमा भने जहाजले पहिल्यै तय उडानको बाटो नै पछ्याउँछन् । उदाहरणका लागि, भैरहवा–काठमाडौं रुटमा बादल र वर्षा भएर ‘भिजिविलिटी’ नदेखिए पनि निर्धारित रुटकै आधारमा जहाजले उडान भर्न सक्छन् । तर, उडान थाल्ने र अवतरणका समयमा भने आवश्यक ‘भिजिविलिटी’ हुनुपर्छ ।

प्रतिकृया दिनुहोस