नेपाल पुलिस क्लबले जित्यो आहा–रारा गोल्डकपको उपाधि
कास्कीको पोखरामा भएको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो ।
प्रतियोगिताको विजयी टीम नेपाल पुलिस क्लबले रु सात लाख एक हजारसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टार क्लबले रु तीन लाख ५१ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान घोषित भए । उनले स्कूटर प्राप्त गरे भने खेल अवधिमा सर्वाधिक गोलकर्तामा पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठले तीन÷तीन गोल गरेर जनही रु १२ हजार ५०० पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।
युवराज श्रेष्ठ, पोखरा