दस्तावेजशनिवार, माघ २०, २०७४

अधिकारीका बिर्ता विवरण

ज्ञानमणि नेपाल

शुभ सेनबाट दिङ्लामा बिर्ता पाएका बलभद्र अधिकारीका पूर्वजहरू सिंजा राज्यदेखि नै राजकाजमा सक्रिय थिए।

राजा शुभ सेनले दिङ्लाकोट मुकामबाट बलभद्र अधिकारीलाई दिङ्लैमा बिर्ता दिएका थिए । पछि शुभ सेनका उत्तराधिकारी महीपति सेनले पनि पहिलेको बिर्ताको सन्धिसर्पन मिलाएर धारापानी घडेरी, पाखो, खेत, खर्क समेत गरी थप बिर्ता दिए ।

यसको वर्णन गताङ्कमा दिइयो । सेन राजाका बाबुछोराले दिङ्लामा अधिकारीलाई दुई बिर्ता दिएको देखियो । स्याहामोहरको लगतबाट यो कुरा अवगत भएकोले तिथिमिति उल्लेख त्यहाँ गरिएन ।

महीपति सेनको दिङ्लाकोट मुकाम भएकै वेला नरोत्तम अधिकारीले पनि खोटाङ थुमको मध्य पुरानागाउँ घडेरी, सातबिसे खेत, रातमाटे डिही खर्क गरी ठूलै बिर्ता पाएका थिए ।

त्यसमा उल्लिखित सातबिसे खेत नामैबाट सावाखोला खेत १४० मुरीको माटोको हो भन्ने बुझिन्छ । सय घडेरी सदानन्द सेनको खाइनपाइन हो भनेबाट यस पुराना गाउँमा सय घर बस्ती बसिसकेका थिए भन्ने बुझिन्छ  ।

यी सदानन्द राजाकै खलकका भाइछोरा होलान् । उनको खायल भएबाटै अघि घरबस्ती बसिसकेको १४० मुरी माटाको ठूलो खोला खेत भन्ने हुन्छ । पछि सदानन्द सेनबाट झिकेर ब्राह्मणलाई दिएको देखिन्छ । उनीबाट यो जग्गा खोसिएको वा कतै अर्को खायल सट्टा दिइएको होला ।

रातमाटे डिही खर्क पनि शुभजित थापाको नाममा छाप खर्क दरिएका जग्गा थिए । लेकमा बनाएको बस्तु बाँध्ने कटेरोलाई गोठ भनिन्छ भने ब्यासीकोलाई डिही । रातमाटे र पुराना गाउँ खोल्सा वारिपारि छन् भने त्यसको सीधै तल सावा खोला किनारामा वारिपारि खेतका फाँट ।

बिर्ता दिंदा घडेरी, खर्क, खेत मिलाएर दिइन्थ्यो । घडेरी पाखो जंगल नै पनि हुन्थ्यो । लेकका खर्क प्रायः चरन–घारी हुन्थे । पहिले बस्ती बसेको घडेरी पुराना गाउँ नै मानिन्थ्यो । सदानन्द सेनको खायल र खाइनपाइन शुभजितको डिही आवादी नै हुने भइहाले । यसै कारण यसलाई पुराना गाउँ भनियो ।

२०६८ सालमा छापिएको अधिकारीहरूको सानो आकारको वंशावलीमा सेन राजाहरूबाट पहिला बिर्ता पाउने अधिकारी बन्धुको नामै छैन । शुभ सेन र महीपति सेनबाट बिर्ता पाउने बलभद्रको नाम हुनुपर्नेमा पूर्व पुरुष भनेर वीरभद्र लेखिएको छ ।

शायद यी एउटै व्यक्ति मानिएको होला । तर महीपति सेनबाटै खोटाङ पुराना गाउँ बिर्ता पाउने नरोत्तम अधिकारीको स्याहामोहर अन्त्यमा छापिएको भए पनि तिनको नाम त्यहाँ पाइँदैन । वंशवृक्षमा नाम उल्लेख नभए पनि तिनको चाहिं अत्यन्त संवेदनायुक्त वियोगान्त जीवनी अलिकति दिइएको छ, अधिकारीको बसोबास बिर्ता जग्गा वर्णन गर्दा ।

बलभद्रका दुई छोरा हरिकृष्ण उपाध्याय अधिकारी र गोविन्द जैसी अधिकारी थिए । यसमा पनि कुरा मिल्दैन, बलभद्रका छोरा नरोत्तम र विश्वेश्वर भनी विवरण दिइएकाले । नरोत्तम हरिकृष्ण भएको पनि बुझिन्छ ।

मैले मधुसूदन अधिकारीसँगबाट महीपति सेनले नरोत्तम अधिकारी र अन्तिम सेन राजा कर्ण सेनले नारायण अधिकारीलाई दिएको दुईवटा स्याहामोहर सार्न पाएको थिएँ । अधिकारीको वंशवृक्षमा नारायण अधिकारीको नाम पनि पाइएन । त्यसो हुँदा माथिको पेटबोलीकै लेखाइले पनि नरोत्तम र विश्वेश्वर समेत उनका छोरा थिए भन्नुपर्छ ।

हरिकृष्ण अधिकारीका नाति रामविनोदका छोरा छविलाल मेरा प्रमातामह हुन् । उनी मुखिया भएर पल्लो किरातमा नापजाँच गर्न जाँदा अरुण तटको फुगुवा गाउँबाट कुसुमाकर सिलवालले सारेको नेपाली भाषाको भक्तिकाण्ड रामायण ल्याएर घरमा राखेका रहेछन् ।

मैले मावल जाँदा मातामह लक्ष्मीकेशरका कान्छा छोरा मामा नन्दीकेशरका घरमा रहेको सो पुस्तक मावली भाइ तुलसीराम र सीतारामबाट प्राप्त गरेको थिएँ । त्यो अहिले प्रकाशोन्मुख छ ।

अधिकारी वंशावली अलिकति यहाँ उद्धृत गर्दा खोटाङका अधिकारीबारे परम्परागत अनुुश्रुति पनि अवगत हुन आउँछ– ‘हाम्रा पूर्वज बलभद्र उपाध्यायले सेन राजाको दरबारमा राजकाज सम्बन्धी कार्य गरी वि.सं. १७३६ मा दिङ्ला धारापानी र वि.सं. १७५५ मा खोटाङ पुराना गाउँ प्राप्त गरेको हुँदा उक्त दुवै बिर्ता बलभद्रका कान्छा छोरा विश्वेश्वरले चर्ची–भोगी आई आजसम्म उनकै सन्तानले भोगचलन गरी आएका छन् ।’ बिर्ताबार नरोत्तम अधिकारीबारेको अनुश्रुति अनुसार पूर्वज नरोत्तमले एक मात्र ब्राह्मणी तीर्था बिहे गरेका र तिनबाट जुम्ल्याहा छोरा गुर्भु र नर्बु जन्मेका थिए ।

ती छोरा ६ वर्षका हुँदा तीर्था परलोक भइन् । पत्नी वियोग पछि मनशान्तिका लागि नरोत्तम दिङ्ला धारापानी गई बसे । केही दिन पछि खोटाङ रातमाटे फर्केर घर–गोठ–खेत स्याहारे । भोलि आमाको श्राद्ध गर्नुछ भनेर उनी तल गोठबाट घर आएछन् । भान्छे बाहुनी बज्यै पनि गुर्भु र नर्बुलाई खुवाई–पियाई श्राद्धको सरजाम जुटाउन बेलुकै घर आइछन् । गोठमै सुतेका दुवै छोरालाई राति बाघले खाएछ ।

त्यसबेला घना जंगल भएकोले बेसीमा बाघको विगविगी थियो । सिन्धुली पूर्व तीन पाटनमा एक वर्ष (१९१९–२०) मा बाघले खाएका ११७ स्त्री–पुरुषको लगत मैले पाएको छु (हे. नेपाल निरुपण) । यसरी पत्नी विरहले व्याकुल नरोत्तम अधिकारी छोराहरूको शोकरूपी बज्र बज्रदा हृदयघातबाटै बितेछन् ।

यिनको वायुथान बनाएर खीर–बाबर चढाएर धूपधुवाँर गर्दै आएका छन्, अधिकारीहरू । बलभद्र अधिकारीका पूर्वजहरू सिंजा राज्यदेखि नै राजकाजमा सक्रिय थिए । मध्यपश्चिम नेपालको उदयपुरमा राजाको रूपमा रहेका कार्की ब्राह्मण नै कोही अधिकारी कोही गौतम भएका थिए भन्ने गताङ्कको कार्कीको कैरनमा पनि उल्लेख गरेको छु ।

पुरानो भट्ट थरबाट राजकाजको काम पाएर वा धर्माधिकारी भएर अधिकारी उप–थर पाएका यिनीहरू खिड्सेनमा बसेका खिर्सिने कवा लेकमा बसेका कवाली र थानसिङमा बसेका थानसिंगे पनि कहिन्छन् । बलभद्रको वंशवृक्ष चाहिं खिर्सिने कहिन्छ ।

अधिकारी वंशावलीमा छापिएको महीपति सेनको स्याहामोहरको पाठ र मसँग रहेको प्रतिमा अलिअलि भेद देखियो । छापिएको पाठको शिरमा ‘श्री लक्ष्मीनारायेन श्रीवाराहाजीव’ मात्र छ । प्रशस्तिपछि ‘सदानन्द सेन’ सम्मानको माथि नाम लेख्ने चलन छ, त्यस्तै गरेको होला । फट्केमा ‘प्रमान प्रमानगि हरि जैसी वाहार बानिया श्रीचोखाराई’ छ ।

मितिमा ‘रोज २’ र पछि ‘अरुन तट’ छ । (उसवेला महीपति सेनले अरुण तटमा बसेर रामको नाम सम्झ्ेका थिए । पछिल्लो शताब्दीमा गुरु षडानन्द अधिकारी अरुण तटको दिङ्लाकोटमा सीताराम षडेश्वरको मन्दिर, मूर्ति र पाठशाला स्थापना गरी तीर्थस्थल बनाएर यो नाम सार्थक पारिदिए ।)

प्रतिकृया दिनुहोस