टिप्पणीशनिवार, माघ २०, २०७४

लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने उपाय

वसन्त महर्जन

पूजा, सूत्रपाठ तथा ध्यानमा बस्ने वर्गको असुविधा नबुझेसम्म लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिन्न।

तस्वीर: बसन्त महर्जन ।

गौतम बुद्ध (ई.पू. ५६३–४८३) को जन्मस्थल लुम्बिनीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरी आयआर्जनको माध्यम बनाउन चाहने स्थानीय व्यवसायी तथा नीतिनिर्माताहरूको प्रायः एउटै पिरलो पाइन्छ– पर्यटकको बसाइ अवधि लम्ब्याउन अझै सकिइरहेको छैन ।

लुम्बिनी पुग्ने पर्यटकमध्ये ९० प्रतिशत उही दिन फर्कने गरेको तथ्यांकले देखाउँछ । 

उसै पनि बौद्धहरूले प्रायः यात्रा गर्ने चार धाममध्ये लुम्बिनी कमैको गन्तव्यमा पर्छ, जबकि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयामा दिनभरि पाइला राख्ने ठाउँसम्म हुँदैन, बिहान झिसिमिसेदेखि बेलुका अबेरसम्म चहलपहल हुन्छ ।

बोधगया मन्दिरकै कारण वरिपरिको बजार तथा जनजीवन चलायमान रहन्छन् । प्रथम उपदेश दिएको स्थान सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरमा पनि बौद्ध पर्यटकहरूको उस्तै भीड लाग्छ । तर, जन्मस्थान लुम्बिनीमा त्यस्तो वातावरण किन हुन्न भन्नेमा गम्भीर भएर घोत्लिने काम भएको पाइँदैन ।

जबकि, यी चार स्थलमध्ये सबभन्दा बढी विविधता लुम्बिनीमा नै पाइन्छ । बौद्धहरू आफ्नो आस्था, विश्वास र जिज्ञासाअनुसार लुम्बिनी आउँछन्, स्थानीय पर्यटन व्यवसाय वा अन्य चहलपहल होइन भन्ने हेक्का राख्न नसकेसम्म उनीहरूको बसाइ अवधि लम्ब्याउन सकिन्न पनि ।

लुम्बिनीलाई बुद्ध र बौद्ध धर्मसँगै जोडेर हेर्नुपर्छ । त्यसो नगरेसम्म लुम्बिनीको विकासका लागि गरिने तमाम प्रयासहरू अधकल्चो हुन्छन् ।

स्थानीय व्यवसायी र सम्बन्धित निकायले लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउने भनी हालै केही योजना अघि सारेका छन् । आसपासको जनजीवन देखाउन लुम्बिनी वरपरका १३ वटा गाउँको भिलेज टूर, कपिलवस्तुको तिलौराकोट, कुदान, देवदह र रामग्रामको बुद्ध सर्किट यात्रा र मायादेवीलाई प्रसव पीडा शुरू भएदेखि सिद्धार्थ जन्मेर कपिलवस्तु फर्किंदासम्मको झलक प्रस्तुत गरिने ‘विराह नृत्य’ देखाउने योजना आफैंमा राम्रो त छ, तर यत्तिकै भरमा पर्यटकको बसाइ अवधि लम्बिन्छ भन्न सकिन्न ।

यो किन पनि भने भारतका कुनै बौद्ध पर्यटकीय स्थलमा यस्ता कार्यक्रमहरू छैनन् । र पनि, त्यहाँ पर्यटकहरू किन लामो अवधि बस्छन् भन्ने प्रश्नको उत्तर खोजे लुम्बिनीलाई पनि बुझ्न सकिन्छ ।

बौद्ध धर्म शिक्षामा आधारित छ, तर नेपालमा बौद्ध शिक्षा निकै दयनीय अवस्थामा छ । बुद्धबारे विद्यालयस्तरमा राखिएका अपूर्ण, भ्रमपूर्ण र सीमित पाठ्यसामग्री सुधारिएको पाइँदैन । विश्वविद्यालयहरूमा एकै चोटि स्नातकोत्तर तहमा हुने यसको पढाइ चित्तबुझदो छैन । सबै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या जोड्दा पनि १०० भन्दा बढी नपुग्नुले नेपालमा बौद्ध अध्ययनको अवस्था देखाउँछ ।

राणाकालीन नेपालमा बौद्ध धर्म प्रतिबन्धित वा नियन्त्रित अवस्थामा थियो । पंचायतकालमा बाह्य विश्वको आँखामा छारो हाल्न बौद्ध धर्मको प्रयोग गरियो । प्रजातन्त्र र अहिले गणतन्त्रमा पनि उत्साहप्रद अवस्था छैन ।

यसबीचमा विभिन्न विश्वविद्यालयमा बौद्ध अध्ययनको लागि विभागहरू खोलिएको मात्र नभई लुम्बिनी बौद्ध विश्वविद्यालय नै स्थापना गरिए पनि विद्यावारिधि प्राप्त गरेकाहरूले पनि बौद्ध धर्म–दर्शनको पंचशीलबारे आधारभूत ज्ञान नपाएको जस्ता प्रसङ्गहरूबाट बौद्ध शिक्षाको अवस्था आकलन गर्न सकिन्छ ।

जबकि, नेपाल र भारतका जुनसुकै बौद्ध स्थल आउने बौद्ध पर्यटकहरूमा बुद्ध र बौद्ध धर्मबारे सामान्य जानकारी अवश्य हुन्छ र उनीहरू आफूले नजानेका कुरा सुन्न उत्सुक हुन्छन् । नेपालमा भने सर्वसाधारणदेखि बौद्धिकसम्ममा बौद्ध धर्मबारे ज्ञान पाइँदैन ।

चारै धाम (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) को विशेषता संवेजनीय स्थल हुनु हो । संवेजनीय स्थलहरू ध्यानका लागि उपयुक्त ठाउँ हुन् । गौतम बुद्ध ध्यानमा पनि जोड दिन्थे र सोही अनुसार बौद्धहरू ध्यान गर्नमा सरिक हुन्छन् । बोधगयामा बोधिवृक्ष मुनि दिनभरि नै ध्यान गर्नेहरू हुन्छन् ।

कुशीनगरको महापरिनिर्वाण बिहारमा त्यस्तै दृश्य देखिन्छ, तर लुम्बिनीमा ध्यान गर्ने वातावरण छैन । कोही ध्यानमा बसेका छन् भने विचित्र भावले हेर्ने र अवरोध सिर्जना पो भयो कि भनेर हेक्का नराख्नेहरू धेरै हुन्छन् ।

मायादेवी मन्दिरभित्र प्रदक्षिणा पथ छेउमा पनि ध्यान गर्न सकिन्छ, तर आगन्तुक (नेपाली) हरूमा बौद्ध आचरणबारे ज्ञान नहुँदा होहल्लाका कारण अवरोध पुगिरहेको हुन्छ । त्यसले गर्दा संवेजनीय स्थलमा ध्यान गर्ने अवसर गुमिरहेको हुन्छ ।

लुम्बिनीलाई जीवन्त बनाउन पूजा, सूत्रपाठ तथा ध्यानमा बस्ने वर्गलाई विशेष ध्यान दिनैपर्छ । बसाइ अवधि लम्ब्याउनुपर्ने यही समूहको हो । यिनीहरूको चहलपहल आफैंमा आकर्षणको विषय हुन्छ र अरूलाई पनि प्रभावमा पार्छ ।

ढुंगा, माटो र ईंटाजस्ता पुरातात्विक वस्तुहरू मूर्त संस्कृति हुन् भने पूजा, सूत्रपाठ तथा ध्यान गर्नेहरूबाट अमूर्त संस्कृति प्रवाह भइरहेको हुन्छ । बोधगयामा त्यही भइरहेको छ ।

प्रतिकृया दिनुहोस