रिपोर्टबिहिवार, आश्विन १३, २०७३

महाभूकम्पको डेढ वर्ष: अझै टहरामै पढाइ

सविता श्रेष्ठ

धादिङ, नुवाकोट र रसुवाबाट फर्केर


गेर्खु गाविस–९ वेत्रावतीस्थित रामचन्द्र निमाविका विद्यार्थी पहिलो त्रैमासिक परीक्षा दिंदै।
तस्वीरहरुः सविता श्रेष्ठ

भूकम्पले भत्किएका विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा विद्यार्थी अस्थायी सिकाइ केन्द्र (टहरा) मै पढ्न बाध्य छन्।

१२ वैशाख, २०७२ को भूकम्पले नुवाकोटको गेर्खु गाविस स्यालेकी सिर्जना थापा मगर पढ्ने गेर्खु–९ वेत्रावतीको रामचन्द्र निमाविको १३ कोठे भवन पूर्ण क्षति भयो। भूकम्पले भत्काएको उनको घर र विद्यालय टहरामै छन्। विद्यालयले नुवाकोट हुँदै रसुवा पुग्ने मुख्य बाटोको छेउमै जग्गा भाडामा लिएर अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएको छ। टीनले छाएको, टीन र मान्द्रोले बेरेको टहरामा सिर्जनाले पढ्न थालेको एक वर्ष भइसक्यो। 

“घरमा नि गाह्रो छ” सिर्जनाले भनिन्, “स्कूलमा नि अप्ठेरो छ।” अघिल्लो वर्ष समयमा पढाइ नसकिंदा राम्रोसँग परीक्षाको तयारी गर्न नपाएको आठ कक्षाकी प्रथम विद्यार्थी सिर्जना सुनाउँछिन्।

“घाम चर्किंदा गर्मी हुन्छ, पानी पर्दा बाछिटा आउँछ, हावाले सताउँछ” उनले टीएलसीको अप्ठेरो सुनाइन्। टीएलसी बाटो नजिकै हुँदा विद्यार्थीलाई झ्न् असहज हुन्छ। गाडी तल–माथि गर्दा शिक्षकले बोलेको बुझदैनन्। शौचालयको पनि अभाव नै छ। उनी भन्छिन्, “उता (भत्किनुअघिको विद्यालयमा) केटाकेटीको फरक फरक ट्वाइलेट थियो, यहाँ छैन।”

२०१६ सालमा स्थापना भएको यो विद्यालयमा आठ कक्षासम्म १७० विद्यार्थी अध्ययन गर्छन्। चार कक्षादेखि पाठ्यक्रममा कम्प्युटर विषय समावेश छ। तर भूकम्पपछि विद्यार्थीले कम्प्युटर खोल्न पाएका छैनन्।

सात कक्षाका विद्यार्थी जगदीश थापामगर कम्प्युटर विषय किताबका भरमा मात्रै पढ्नु परेको बताउँछन्। उनले भूकम्प जानुअघि पाँच कक्षामा भने कम्प्युटरमा टाइपिङ र पेन्टिङ गर्न सिकेका थिए। “अहिले किताबमा मात्र पढें, चलाउन पा'छैन” जगदीश भन्छन्, “लाइभ हेरेर, प्राक्टिकल गरेर पढ्दा सजिलो हुन्थ्यो।”

भूकम्पले विद्यालय भवन भत्किंदा प्रयोगात्मक अभ्यास, शिक्षण सामग्रीको प्रयोग तथा खेल्दै, सिक्दै पढ्ने र पढाउने पद्धतिमा नै असर परेको प्रधानाध्यापक रामकृष्ण थापामगर बताउँछन्। मकैबारी फाँडेर एक वर्षका लागि भाडामा लिएको जग्गामा बनाएको अस्थायी सिकाइ केन्द्र (टीएलसी) पनि भत्किन थालेको छ।

जिल्ला शिक्षा कार्यालय, नुवाकोटको सहयोगमा ट्रस राखेर चारकोठे र एक गैरसरकारी संस्थाको सहयोगमा टीनले बेरेर चारकोठे विद्यालय भवन निर्माण भइरहेको छ। “त्यति कोठामा कक्षा चलाउन पुग्दैन। १० वटा त कक्षाकोठै चाहिन्छ” प्रधानाध्यापक थापामगर भन्छन्, “विद्यालय भवनको समस्या स्थायी रूपमा समाधान नहुँदासम्म अहिले टीएलसीमा जस्तै कक्षा मर्ज र ग्रेडिङ गरेर पढाउनुपर्छ।”

रसुवाको लहरेपौव–२ को शिवालय निमाविमा पढ्दै विद्यार्थी।

शून्य पुनःनिर्माण
भूकम्प प्रभावित ३१ जिल्लाका ७ हजार ९२३ विद्यालय भवनमा क्षति पुगेको छ। अति प्रभावित १४ जिल्लामा मात्रै ४ हजार ७८६ विद्यालयमा क्षति पुगेको छ। भूकम्पपछि तीन वर्षभित्र भत्किएका सबै विद्यालयको पुनःनिर्माण गरिसक्ने योजना नेपाल सरकारले बनाएको थियो तर डेढ वर्ष बित्दा सरकारले एउटा पनि विद्यालय भवन पुनःनिर्माण गर्न सकेको छैन। 

सहयोगी संस्थाहरूबाट केही विद्यालय पुनःनिर्माण गरिए पनि अधिकांश विद्यालयका भवन भत्किएकै अवस्थामा छन्। निर्माण गरिएका केही विद्यालयमा पनि सबै विद्यार्थीलाई पुग्ने गरी कक्षा कोठा छैनन्, जसको प्रत्यक्ष असर पढाइमा परेको छ।

शिक्षाविद् मनप्रसाद वाग्ले अहिले शिक्षक र विद्यार्थी विद्यालयसम्म पुग्ने र फर्कने काममा मात्र सीमित भएको बताउँछन्। आधारभूत पूर्वाधार, शैक्षिक सामग्रीको अभावमा विद्यालयमा उपयुक्त शैक्षिक वातावरण बन्न सकेको छैन। जसको कारणले दीर्घकालमा शैक्षिक गुणस्तरमा ह्रास आउन सक्ने वाग्ले बताउँछन्।

“अहिलेको पढाइले विद्यार्थी सिकाइमा कमजोर बनेका छन्” उनी भन्छन्, “कक्षा चढ्दै जाँदा माथिल्लो कक्षामा पुगेर विद्यार्थी असफल हुन सक्छन्।” भवन नै नभएको विद्यालयलाई विद्यालय मान्न नसकिने उनको तर्क छ। लामो समय बिते पनि विद्यालय भवन बन्न नसक्नुलाई सरकारले बालबालिकाप्रति उदासीनता देखाएको उनको भनाइ छ।

धादिङका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकाल विद्यालय पुनःनिर्माणका लागि थुप्रै गैरसरकारी संस्था सम्पर्कमा आए पनि काम शुरू नगरेको बताउँछन्। बाटो नजिक भएका केही विद्यालयबाहेक अरूमा पूर्वाधार निर्माण शुरू नभएको बताउँदै जिशिअ ढकाल भन्छन्, “अभिभावक र संघसंस्थाको पहलमा निर्माण भएका टीएलसीकै भरमा विद्यालय चलेका छन्।”

धेरैजसो विद्यालयले पढाइ नरोकिने र साधारण रूपमा चल्ने गरी टीएलसी निर्माण तथा क्षतिग्रस्त भवन मर्मत गरेर पढाइ सञ्चालन गरिरहेका छन्। ती विद्यालयमा शौचालय तथा पिउने पानीको सुविधा उपलब्ध छैन। खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता, मनोरञ्जनात्मक लगायतका अतिरिक्त क्रियाकलाप गर्न सकेका छैनन्। कक्षाकोठाको अभावमा एउटै कोठामा दुईभन्दा बढी कक्षा चलाइएको छ। (हे.बक्स)

रसुवाको लहरेपौवा–२ को शिवालय निमावि र नुवाकोटको दुईपीपल–८ को महादेव उमाविले पनि केही कक्षा टीएलसीमा, केही कक्षा चर्किएका भवनको मर्मत गरेर पढाइ रहेका छन्। दुईभन्दा बढी कक्षालाई एउटै कोठामा राखेर पढाउँदै आएको छ। एउटै कक्षा कोठामा दुईवटा बोर्ड राखेर दुईवटा कक्षाका विद्यार्थीलाई दुई शिक्षकले पढाउनुपर्ने बाध्यता भएको शिवालय निमाविका सहप्रधानाध्यापक गंगालाल डंगोल बताउँछन्।

“एउटै कोठामा दुईभन्दा बढी कक्षा चलाउँदा शिक्षक र विद्यार्थी दुवैलाई गाह्रो हुन्छ” सहप्रधानाध्यापक डंगोल भन्छन्, “यसले विद्यार्थीको सिकाइमा असर पारेको छ।” हल्ला धेरै हुने र एउटा कक्षाको पढाइले अर्को कक्षा प्रभावित हुने गरेको छ। गत वर्ष नियमित रूपमा नआएका विद्यार्थी यो वर्ष विद्यालय आए पनि रमाइलो वातावरणमा पढाउन नसकिएको उनी बताउँछन्।

महादेव उमाविका प्रधानाध्यापक केदारप्रसाद नेपाल भूकम्पले क्षति पुगेका भवनको मर्मत र चारवटा कोठाको टीएलसी बनाएर विद्यालय सञ्चालन गरेको बताउँछन्।

खेलमैदानमा टीएलसी निर्माण गरिएकाले खेलकुदका लागि ठाउँ छैन। भूकम्पले पाँचकोठे भवन पूरै भत्किएको पछि एउटै कोठामा कम्प्युटर ल्याब र पुस्तकालय राखिएको प्रधानाध्यापक नेपाल बताउँछन्। विद्यार्थीले ल्याब र पुस्तकालय प्रयोग गर्न पाएका छैनन्।

विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार बनाउने जिम्मा गैरसरकारी संस्थालाई दिएको जिल्ला शिक्षा कार्यालयबाट जानकारी पाए पनि भवन निर्माणको काम शुरू नभएको उनी बताउँछन्। “कामचलाउ तरीकाले चलेको छ” प्रधानाध्यापक नेपाल भन्छन्, “कहिलेसम्म यसरी चलाउने हो? थाहा छैन।”

भूकम्पपछि नजिकका तथा विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभ्ने (मर्ज) गरिएको छ। नुवाकोटका ४८४ विद्यालयमध्ये ३१ विद्यालयलाई गाभेर ४५३ बनाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। त्यस्तै, धादिङमा पनि १७ विद्यालयलाई गाभेर ५७७ मा झारिएको छ।

शिक्षाविद् विद्यानाथ कोइराला बर्खा र गर्मीमा पढ्न गाह्रो भए पनि विद्यार्थीको सिकाइमा प्रभाव पार्न नहुने बताउँछन्। सरकारको कमजोरीका कारण विद्यालय भवन पुनःनिर्माण नभए पनि उपलब्ध स्रोतको आधारमा विद्यार्थीको पढाइ नियमित गर्नुपर्ने उनको भनाइ छ। “वैकल्पिक व्यवस्था त हुन सकेन” कोइराला भन्छन्, “सरकार स्कूल निर्माणका लागि एनजिओलाई कुरिरहेको छ। यो ढिलाइले विद्यालयहरू लामो समयसम्म पूर्वाधारविहीन हुन पुगेका छन्।”

नुवाकोटका जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्का भवन अभावमा गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउँछन्। “विद्यालय चलाउन गाह्रो नै छ” जिशिअ खड्का भन्छन्, “अहिलेको अवस्थामा बालमैत्री तरीकाले शिक्षा दिनसकेका छैनौं।”

एउटै कोठामा विद्यालय 
धादिङको गजुरी–२ चालिसेको बागेश्वरी आधारभूत विद्यालयका ३९ विद्यार्थी एउटै टहरामा पढ्छन्। भूकम्पले भत्किएको पुरानो भवनको टीन र काठ प्रयोग गरेर बनाएको टहरामा एकदेखि तीन कक्षासम्मका विद्यार्थी पढ्छन् भने प्रत्येक कक्षाको लागि छुट्टाछुट्टै लहरमा बेन्च राखिएको छ। एक कक्षाका विद्यार्थीलाई अक्षर चिनाउन चार्ट पेपरहरू जालीको पर्खालमा टाँसिएको छ। 

पाँचकोठे भवन भूकम्पले भत्किएपछि टीएलसीको एउटै कोठामा कक्षा र कार्यालय चलाइएको प्रधानाध्यापक कोपिला खरेल बताउँछिन्। भवन बन्ने आशामा टीएलसीमा कक्षा सञ्चालन गरेको भए पनि कसैले सहयोग नगरेको प्रधानाध्यापक खरेल गुनासो गर्छिन्। २०५२ सालमा स्थापना भएको विद्यालय भवनकै काठ र टीन प्रयोग गरेर अभिभावकहरूले खुला टहरा बनाएका हुन्। यसअघि एक कक्षाका विद्यार्थीलाई वाल पेन्टिङ देखाएर, खेलौना सहितका शैक्षिक सामग्री प्रयोग गराएर अक्षर उच्चारण गर्न र लेख्न सिकाइन्थ्यो।

टहरामा पढाउँदा विद्यार्थी बिरामी हुने, नियमित नआउने, पानी पर्दा, हावाहुरी चल्दा पढाइ रोकिने गरेको प्रधानाध्यापक खरेल बताउँछिन्। कक्षा एकमा १७, दुईमा १२ र तीनमा १० जना विद्यार्थी छन्। सबै विद्यार्थी तामाङ, चेपाङ र दलित समुदायका छन्, उनीहरू एक घण्टा हिंडेर विद्यालय पुग्छन्।

यो विद्यालयबाट नजिकको अर्को विद्यालय पुग्न आधा घण्टा हिंड्नुपर्छ। गुलुरी बजारमा रहेको त्यो विद्यालय स–साना बालबालिकालाई सहज छैन। विद्यार्थी संख्या कम भनेर भवन निर्माणका लागि सहयोग नपाएको बताउँदै प्रधानाध्यापक खरेल भन्छिन्, “भूकम्पपछि विद्यार्थीले गर्मी, बर्खा, जाडो सबै खेपिसके। अझै कति खेप्नुपर्ने हो, थाहा छैन।”

प्रतिकृया दिनुहोस