पैसा तिरेर ‘पाहुना’ !
‘अतिथि देवो भवः’को मान्यतामा हुर्किएको नेपाली समाजमा आधुनिकताको प्रवेशसँगै ‘पेईङ गेष्ट’ अवधारणा फैलँदो छ ।
नेपाली समुदायमा पाहुनालाई भगवानसरह मान्ने चलन छ । त्यसैले पनि पाहुनाको स्वागत, सत्कार, खानपान र बास व्यवस्थापनमा विशेष ध्यान दिइन्छ । सकेको सेवा, सुविधा दिएर बसाइ सहज बनाउने प्रयत्न गरिन्छ । बदलामा पैसाको आशा गरिंदैन ।
खाना तथा बासस्थान वापत घरधनीलाई निश्चित रकम तिरेर बस्ने पेईङ गेष्ट (पीजी) अवधारणा भने खासगरी पश्चिमा समाजको प्रचलन हो । तर, पछिल्लो समय नेपालमा पनि पेईङ गेष्ट राख्ने क्रम बढेर व्यवसाय नै बनेको छ ।
यो व्यवसाय प्रवद्र्धन गर्नमा आन्तरिक तथा बाह्य पर्यटक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशीको भूमिका सबैभन्दा बढी छ । तर, यसको अर्थ नेपालीका घरमा पैसा नभई बास नै नपाइने भन्ने भने होइन ।
विशेषगरी शहरी क्षेत्रमा, आफ्नो घर हुने मात्र होइन, घर तथा फ्ल्याट भाडा लिएकाहरूले पनि पेईङ गेष्ट राखिरहेका छन् । यिनैमध्ये पर्छन्, ललितपुर बागडोलका रविन शाही ।
शाहीले तीन वर्षदेखि भाडाको घरमै पेईङ गेष्टलाई सत्कार गरिरहेका छन् । पेईङ गेष्टको आतिथ्यतामा शाहीको परिवार नै खटिन्छन् । उनका गेष्टमा नेपाली र विदेशी दुवै हुन्छन् । पेईङ गेष्ट दुई दिनदेखि दुई वर्षसम्म पनि बसेका छन् । “पेईङ गेष्ट राख्दा घरभाडा जुटाउन सहयोग पुग्ने मात्र होइन, साथी पनि हुन्छन्”, शाही भन्छन् ।
मैतीदेवीमा फ्ल्याट भाडामा लिएका नवलपरासीका सुशान्त चापागाई (२०) ले दाइको साथीको सिको गर्दै पेईङ गेष्ट राख्न थाले । नेपाल घुम्न आएका दुई विदेशी पेईङ गेष्ट बसिसके । अहिले उनी नयाँ गेष्टको खोजीमा छन् । यसका लागि उनले फ्ल्याट, रुम, किचनको जानकारीसहितको सूचना अनलाइन साइटमा अपलोड गरेका छन् ।
नयाँ सम्बन्ध
काठमाडौं महाराजगञ्जका अनुप राई (२९) ले पनि आफूलाई बढी भएको एउटा कोठामा पेईङ गेष्ट राख्ने योजना बनाएका छन् । “बोल्ने साथी पनि बन्ने र आम्दानी पनि हुने भएकोले पेईङ गेष्ट राख्न खोजेको हुँ”, उनी भन्छन् ।
पछिल्लो समय अनलाइनमार्फत पेईङ गेष्ट राख्न चाहेको सूचना दिन थालिएको छ । हाम्रो बजार डटकम को ‘फ्ल्याटमेट्स एण्ड पेईङ गेष्ट’ क्याटेगोरीमा ५० बढी यस्ता सूचना पोस्ट गरिएका छन् ।
ललितपुर–११ एकाछेंका दिलीप जोशीले ६ वर्षदेखि पेईङ गेष्टलाई आतिथेय दिइरहेका छन् । पाटन संयुक्त क्याम्पसका प्राध्यापक उनको घरमा नेपाली संस्कृति बारे अध्ययन गर्ने विदेशी, अध्ययन तथा अनुसन्धान गर्ने नेपालीहरू गेष्टका रुपमा बस्छन् ।
छोरा, बुहारी विदेश गएपछि पेईङ गेष्ट राख्न थालेका उनी गेष्ट राख्दा सम्बन्ध विस्तार हुने, नयाँ–नयाँ जानकारी पाइनेसँगै घरको वातावरण नै रमाइलो हुने बताउँछन् । जागिरबाट अवकाश भएपछि यही काममा लाग्ने उनको र श्रीमतीको योजना छ ।
आफ्ना गेष्टलाई पारिवारिक वातावरण दिनुका साथै नेवारी संस्कृति, खानेकुराका बारेमा पनि जानकारी गराउने उनी बताउँछन् ।