भुटानको अवस्थामाथि निरन्तर नजर राखिनेः अमेरिका
गोपाल गडतौला, वासिङ्गटन डिसी
अमेरिकी संसदका बिदेश मामिला अधिकारीहरुले भुटानको मानव अधिकारको अवस्था निरन्तर निगरानीमा रहने बताएका छन् ।
अमेरिकामा पुनर्वास भएका भुटानीहरुको एउटा अधिकारबादी संगठन ‘इन्टरन्यासनल क्याम्पेन फर ह्युमन राइट्स इन भुटान’ का कार्यकारी निर्देशक सुरज बुढाथोकीले मंगलबार अमेरिकी संसदको दुबै सदनका बिदेश मामिला अधिकारीहरुबाट त्यस्तो आश्वासन पाएको बताएका छन् ।
बुढाथोकी र प्रबुद्ध भुटानी भगिरथ खतिवडाले मंगलबार वासिङ्गटन डिसीमा अमेरिकी संसदका बिदेश मामिला अधिकारीहरु ब्रायन ड्रुक र इमली मिनिङ्गसँग अलग अलग भेट गरेका थिए ।
उनीहरुले भेटेका ड्रुक अमेरिकी तल्लो सदनको बिदेश मामिला उपसमितिका र इमली माथिल्लो सदनको पूर्वी तथा एशिया प्रशान्त क्षेत्रका सहायक नीति निर्माता हुन ।
दुबै भेटमा बुढाथोकीले भुटानमा अमेरिकाको कुटनीतिक इकाइ खडा गर्न, पुनर्वास भएका भुटानीलाई भुटान आवतजावत सहज बनाउन र भुटानको मानव अधिकारको अवस्था सुधार्न राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि सामन्थ पाउर मार्फत पहल अघि बढाउन अनुरोध गरेको बताए ।
बुढाथोकीले पूर्वी नेपालका शिबिरमा रहेका शरणार्थीको लागि सहायता निरन्तर कायम राख्न, उनीहरुको भुटान फिर्ती चहानालाई साथ दिन पनि अनुरोध गरेको बताएका छन् ।
“म निक्कै आश्वस्त छु”, आफ्ना माग उपर अमेरिकी अधिकारीहरु सकारात्मक रहेको बताउने बुढाथोकीले अगाडि भने, “अव हामी भुटानी अमेरिकी हौं, हाम्रो आवाज यहाँको सरकारले सुन्नु पर्दछ ।”
दुबै भेटमा बुढाथोकीले ९०हजार माथि भुटानीलाई आफ्नो मुलुकमा पुनर्वास गराएकोमा धन्यवाद समेत दिएका थिए ।
यसैगरी क्यानाडा, अष्ट्रेलिया, डेनमार्क, नर्वे, न्युजिल्याण्ड, नेदरल्याण्ड र बेलायतमा थप १२ हजार भन्दा बढी भुटानी पुनर्वास भएका छन् ।
सन् १९९० आसपासका वर्षमा शुरु चर्काे सरकारी दमन खप्न नसकेर नेपालमा शरण लिन बाध्य एक लाखभन्दा बढी भुटानी सन् २००८ देखि अमेरिका लगायतका आठ पश्चिमी मुलुकमा पुनर्वास हुन थालेका छन् ।
त्यसअघि शरणार्थी घर फिर्तीको लागि नेपाल र भुटान १५ पटक वार्तामा बसेपनि भुटानले आफ्ना नागरिक फिर्ता लैजान अस्वीकार गर्दै आएको छ ।
उता पूर्वी नेपालका शिविरहरुमा करिब १५ हजार भुटानी शरणार्थी छन् जसको ठुलो हिस्सा स्वदेश फिर्तीको पर्खाइमा रहेको शरणाार्थी प्रतिनिधिहरुले बताएका छन् ।