चेतनामूलक सञ्चार सामग्री (पीएसए) ‘एउटै आकाशमुनी’ सार्वजनिक
करूणा फाउण्डेशन नेपालले तयार पारेको चेतनामूलक सञ्चार सामग्री (पीएसए) ‘एउटै आकाशमुनी’ सार्वजनिक गरिएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले पीएसए सार्वजनिक गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र आत्मसम्मानको लागि ‘इम्ब्रास द चेन्ज’ परियोजना अन्तर्गत फाउण्डेशनले पीएसए तयार गरेको हो ।
अपाङ्गता भएका व्यक्तिहरुले दैनिक जीवनमा झेल्नुपर्ने संरचनात्मक र मनोवृत्तिगत अवरोध हटाउने उद्देश्यका साथ पीएसएको निर्माण गरिएको फाउण्डेशनका अध्यक्ष गोविन्द अधिकारीले बताए ।
पीएसएमा प्रयोग गरिएको ‘उड्छु म आकाशमा के हो बाधा अड्चन ? के हो सिमाना ?...।” बोलको गीतमा प्रमिला राई र प्रताप लामाले स्वर दिएका छन् ।
श्रव्य/दृश्य माध्यममा तयार पारिएको उक्त पीएसको निर्देशन प्रविन श्रेष्ठले गरेका छन् ।
भिडियोमा फाउण्डेशनकी परियोजना संयोजक अमृता ज्ञवालीले मोडलिङ गरेकी छन् ।
सबैको लागि पहुँचयुक्त वातावरण तयार पार्न सचेतना बढाउने र समाजमा विद्यमान गलत धारणा हटाउन पीएसए बनाइएको ज्ञवालीले बताइन् । अपाङ्गता भएका व्यक्तिहरुप्रतिको धारणा सकारात्मक बनाउन पीएसएले भूमिका खेल्ने उनले बताइन् ।
पोखरामा छायांकन गरिएको पीएसएमा मोडल ज्ञवालीले प्याराग्लाइडिङ, जीप फ्लाईङ र बोटिङ् गरेकी छन् । ‘अवरोधमुक्त वातावरण भए हामी सबै स्वतन्त्र रुपमा रमाउन सक्छौं’ भन्ने सन्देश सहित पीएसए बनाइएको छ ।