नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत
व्यवस्थापिका–संसद्को आजको बैठकले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२० र १२७ को उपनियम (१), नियम १४२ र १५६ को उपनियम (१) निलम्बन गरेको छ ।
नियमावली निलम्बनको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक परशुराम तामाङको समर्थनमा माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतले निलम्बनको प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।
प्रस्ताव प्रस्तुत गर्दै सांसद बस्नेतले आर्थिक वर्ष २०७३/७४ को बजेट लागू गर्न आवश्यक पर्ने अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि आर्थिक विधेयक २०७३, ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक–२०७३ र राष्ट्र ऋण उठाउने विधेयक–२०७३, पारित गर्न नियम निलम्बनको प्रस्ताव गर्नुपरेको बताए ।
यसअघि केपी ओली नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा पेश गरेका यिनै विधेयक कांग्रेस र माओवादीद्वारा अस्वीकार गरिंदा पारित हुन सकेको थिएन । चालु बजेटको विनियोजन विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको पनि सत्ता गठबन्धनमा आएको परिवर्तनले बजेटसँग आश्रित तीन विधेयक भने अस्वीकृत भएका थिए ।
सांसद राजेन्द्र पाण्डेले प्रस्तावको विरोध गर्दै नेकपा एमालेले त्यसको विपक्षमा मतदान गर्ने बताए ।
व्यवस्थापिका–संसद्को बैठक आधा घन्टाका लागि स्थगन भएको छ । रासस