रिपोर्टमंगलवार, माघ १६, २०७४

लालपुर्जा नहुँदा पुनःनिर्माणमा समस्या

सविता श्रेष्ठ

मच्छेगाउँको टौखेलमा एकीकृत बस्ती विकास योजना अघि बढाइए पनि भूकम्पपीडितहरूसँग लालपुर्जा नहुँदा पुनःनिर्माण हुनसकेको छैन।

तुलसीमाया महर्जन आमासँग । तस्वीरहरुः सविता श्रेष्ठ

महाभूकम्पपछिको तेस्रो हिउँदमा पनि काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ टौखेलका दिलबहादुर महर्जन (४१) चारजनाको परिवारसहित टहरामै छन् । गुनासो फारम भरेपछि उनी भूकम्पपीडित घरमूली त भए तर, अहिलेसम्म राहत पाएका छैनन् ।

यद्यपि राहत रकम पाए पनि महर्जनको घर पुनःनिर्माणको बाटो खुल्दैन । “आफ्नो जग्गा भए पनि लालपुर्जा छैन” उनी भन्छन्, “तीन/चार पुस्ता भइसक्यो यहीं बसेको, पुर्जाको बारेमा ध्यान नै दिइएन ।” 

जीतबहादुर महर्जन (५०) ले भने पुख्र्यौली जग्गा बेचेर गत कात्तिकबाट घर बनाउन थाले । तीनकोठे पक्की घरको ढलान गरेर उनी दोस्रो तलाको काममा जुटेका छन् । नक्शा पास नगरी घर बनाउन थालेका उनले राहतको पहिलो किस्ता लिएर दोस्रो किस्ताको प्रक्रिया अघि बढाएका छैनन् । “बूढी भइसकेकी आमालाई सधैं गाह्रो, हुरीबतास आउँदा उडाउला भन्ने डर” जीतबहादुर भन्छन्, “सुरक्षित पार्नुपर्‍यो भनेर कस्सिएको ।”

मुख्य समस्या लालपुर्जा
टौखेल २०० वर्षभन्दा पुरानो बस्ती हो । नेवारी भाषामा ठूलो चउरलाई तःख्य भनिन्छ । त्यसैबाट टौखेल भएको मानिन्छ । पहिले मच्छे गाउँ गाविस र अहिले चन्द्रागिरि नगरपालिकामा परेको यो पुरानो नेवार बस्तीका ५१ वर्षीय रामकृष्ण महर्जनले सरकारी जागिरे भएर पनि घर बनाएका छैनन् ।

जीतबहादुर महर्जन ।

भूकम्पपछि ६ जनाको परिवार लिएर टहरामा बसेका उनको पनि पुख्र्यौली जग्गाको पुर्जा छैन । त्यही कारण राहतको पहिलो किस्ता पाए पनि नक्शा पास नहुँदा घर बनाउन नसकेको सुनाउँदै रामकृष्ण भन्छन्, “स्वेच्छिक अवकाश लिंदा आउने रकमले घर बनाउने योजना पनि त्यत्तिकै थन्किएको छ ।”

टौखेलवासी तुलसीमाया महर्जन (६५) पनि भत्किएको पुख्र्यौली घरमा टहरा बनाएर बसिरहेकी छिन् । भूकम्पमा घरले पुरिएर उनका बुवा बिते, आमा रत्नमाया (९१) घाइते भइन् । आमाको रेखदेखमा खटिनुपर्ने उनी बुवाको आधा पेन्सनले घर चलेको बताउँछिन् । राहतको पहिलो किस्ता लिएकी उनी भन्छिन्, “त्यति पैसाले कसरी घर बनाउन थाल्नु ?” 

रामकृष्ण महर्जन ।

तुलसीमायाकी छिमेकी सपना श्रेष्ठ (३०) को तीन जनाको परिवार पनि भूकम्पपछि टहरामै छ । उनले पनि राहतको एक किस्ता त लिएकी छन्, तर जग्गा धनीपुर्जा नहुँदा कानूनी विधि पूरा गरेर घर पुनःनिर्माण थाल्न सकेकी छैनन् । पुस्तौंपुस्तादेखि बसिआएको भए पनि सरकारी प्रक्रियामा वास्ता नगर्दा टौखेलवासी पुर्जाविहीन छन् ।

वडा अध्यक्ष देवेन्द्र महर्जन भूकम्पपछिको पुनःनिर्माण मापदण्डमा पुर्जा अनिवार्य भएपछि मात्र टौखेलवासीले यसमा चासो दिन थालेको बताउँछन् । “सडक नभएको ठाउँमा नक्शा पास नहुने, नक्शा पास हुने ठाउँमा पुर्जा नहुने र नक्शा पास हुने गरिको जग्गा नपुग्ने समस्या छ” उनी भन्छन्, “त्यो पनि दुईचार जनाको होइन, आधाभन्दा बढी टौखेलवासीको ।”

दिलबहादुर महर्जन ।

लुमन्ती, आवासका लागि सहयोग समूहले भूकम्प जानुअघि नै ललितपुरको सिद्धिपुर, ठेचो र मच्छेगाउँमा ‘हेरिटेज वर्कसप’ गरेको थियो । भूकम्पपछि स्थानीयवासीले टौखेलको पुरानो बस्तीको संरक्षणसँगै व्यवस्थित बसोबासमा सहयोग मागे ।

त्यसपछि टौखेलमा प्लानिङ शुरू गरे पनि सम्पन्न गर्नका लागि विविध समस्या देखिएको लुमन्तीका आवास कार्यक्रम व्यवस्थापक लुमन्ती जोशी बताउँछिन् । भूकम्पपछि प्लानिङ अघि बढाइएकै कारण टौखेलवासीको पुर्जा समस्या बाहिर आएको हो ।

टौखेलको मूल सडकको आड र त्यस पछाडिका दुई लहरमा पुरानो बस्ती थियो । बस्तीका स–साना गल्लीमा एम्बुलेन्स र दमकल छिर्न सक्दैनथे, जहाँ भूकम्पले ६० वटा घर पूर्ण रूपमा भत्काइदियो । पुराना घरहरू भत्किएपछि खुला ठाउँ, चौडा बाटो, खानेपानी, ढल निकाससहितको बस्ती विकास गर्न समुदायको सहभागितामा टौखेल प्लानिङ ल्याइएको हो ।

५६ रोपनी क्षेत्रलाई समेटेर प्लानिङ सर्भे गरिएकोमा ४२ रोपनीमा प्लानिङ सञ्चालन गरिंदैछ । बाहिरी चक्रपथले समेत जग्गा काट्ने भएकोले मूलबाटोका बासिन्दाले प्लानिङमा समावेश हुन मानेनन् । उनीहरूको प्लटलाई छोड्दा प्लानिङको क्षेत्रफल ४२ रोपनीमा सीमित भएको लुमन्तीका कम्युनिटी इन्जिनियर मिलन महर्जन बताउँछन् । 

समस्यै समस्या

१२० घरधुरी रहेको प्लानिङमा २२० प्लट छन् । धेरै र थोरै जग्गा मिलाएर घर बनाउन पुग्ने प्लट बनाई उपलब्ध गराउने योजना अनुरूप प्लानिङगरिएको छ । जग्गा कम हुनेले बढी हुनेबाट किन्न पाउने र पुराना बासिन्दाले टौखेलबाट बसाइँ सर्नु नपर्ने गरी प्लानिङको काम अघि बढाएको छ ।

सपना श्रेष्ठ ।

त्यसअनुसार प्लटिङ गर्ने, बाटो र प्लट छुट्याएर सीमा पर्खाल बनाउने काम भइरहेकोे इन्जिनियर महर्जन बताउँछन् । प्लानिङ अनुसार, भित्री बाटोहरूलाई चार मिटरको बनाइने उनले बताए ।

सम्भावित समस्या समाधान गर्ने जिम्मेवारी टौखेल पुनःनिर्माण तथा बस्ती विकास समितिलाई दिइएको छ । समितिका उपाध्यक्ष हरिकृष्ण महर्जन काम जति ढिला भयो त्यति नै स–साना विवाद भएको बताउँछन् । खास गरेर लालपुर्जाको अभाव र केही स्थानीयबीच सहकार्य हुन नसक्दा

प्लानिङमा समस्या आएको उनले बताए ।

वडा अध्यक्ष देवेन्द्र महर्जन टौखेलमा पहिल्यैबाट बाटोको मुख्य समस्या र विवाद रहेको बताउँछन् । मुख्यतः जग्गा दर्ता नहुँदा प्लानिङ सम्पन्न गर्न समस्या भएको उनले बताए । “सबैको लालपुर्जा भइदिएको भए अहिले पुनःनिर्माण भइसक्थ्यो”, उनी भन्छन् ।

यो समस्या हटाउन अन्यत्र जग्गा नभएकाको हकमा ११ जना साक्षी राखेर सर्जमिन गराई नक्शा पास गरिदिने नियम नगरपालिकाबाट पास गराएको वडा अध्यक्ष महर्जनले बताए । त्यति मात्रले समस्या समाधान नहुने भएकोले पुनःनिर्माण प्राधिकरणले समेत चासो राख्नुपर्ने उनको भनाइ छ ।

(‘लुमन्ति आवासका लागि सहयोग समूह’को सहकार्यमा)

प्रतिकृया दिनुहोस