रिपोर्टसोमवार, माघ १५, २०७४

उद्यमशीलताका लागि ‘व्यवस्थापन शिक्षा’

मस्त केसी

अथाह सम्भावना र फराकिलो क्षेत्रका साथै स्वयम् व्यवसायी बन्ने अवसरका कारण एमबीएस तथा एमबीएलाई उद्यमशील शिक्षाको रूपमा पनि चिनिन्छ।

काठमाडौं, थापाथलीस्थित एभरेष्ट कलेजका विद्यार्थी ।

लि क्वान यीले सन् १९५९ मा सिंगापुरको प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै उद्यमशील शिक्षा योजना अगाडि बढाए । सिंगापुरलाई समृद्ध देश बनाउनमा त्यही शिक्षा प्रणालीको पनि महत्वपूर्ण योगदान रहेको मानिन्छ । सिंगापुर ह्युमेन रिसोर्स इन्ष्टिच्यूटका अनुसार, पश्चिमा मुलुकहरूमा अहिले पनि सिंगापुरे जनशक्तिको ठूलो माग छ ।

काठमाडौं मोडल कलेज (केएमसी) का प्राचार्य सुरेन्द्र सुवेदी कुनै पनि देशको विकासको प्रमुख आधार उद्यमशील शिक्षा भएको बताउँछन् । उनका अनुसार, उद्यमविना कुनै पनि मुलुक समृद्ध हुनै सक्दैन । उद्यमका लागि त्यस देशका युवालाई उद्यमशील शिक्षा चाहिन्छ, जसबाट पढाइसँगै वा पढाइ सकेलगत्तै रोजगारी वा आफ्नै व्यवसाय सम्भव होस् ।

उद्यमका अगुवा
जुनसुकै संकाय वा विषय पढेर आफ्नै व्यवसाय गर्ने क्षमताको विकास हुँदैन । त्यसका लागि मास्टर अफ बिजनेश स्टडिज (एमबीएस)/मास्टर अफ बिजनेस एडमिनिष्ट्रेसन (एमबीए) को पढाइ आवश्यक पर्ने ‘व्यवस्थापन शिक्षा’ का जानकारहरू बताउँछन् ।

उनीहरूका अनुसार, एमबीएस/एमबीएले विद्यार्थीलाई जागिरे मानसिकताभन्दा माथि राखेर उद्यमी बन्न प्रेरित गर्छ । एभरेष्ट कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डे अन्य संकाय र विषय आफैंमा राम्रो भए पनि उद्यमशीलता र व्यवस्थापकीय क्षमता विकासका लागि एमबीएस/एमबीए उपयुक्त हुने बताउँछन् ।

ब्यांक तथा वित्तीय संस्था, हाइड्रोपावर, इन्भेष्टमेन्ट कम्पनी, कर्पोरेट हाउस र विभिन्न उद्योगहरूमा काम गरिरहेका र उच्च ओहोदामा पुगेका अधिकांश व्यवस्थापन विषय पढेका जनशक्ति छन् । एमबीएस/एमबीए पढ्दै व्यावसायिक क्षेत्रमा काम गर्नेहरू पनि उल्लेख्य छन् । त्यसकै एक उदाहरण हुन्, नवलपरासीका मोहन केसी ।

काठमाडौं मोडल कलेजले एमबीएस अध्ययनरत विद्यार्थीका लागि संचालन गरेको उद्यमशीलता सम्बन्धी कार्यशाला ।

सन् २००९ मा काठमाडौं मोडल कलेजबाट बीबीए सकेलगत्तै उनले एनएमबी ब्यांकमा असिस्टेन्टको जागिर खाँदै २०१२ मा केएफए बिजनेश स्कूलबाट एमबीए पूरा गरे । अहिले उनी एनएमबी ब्यांक, नयाँसडक शाखाका म्यानेजर छन् । ‘क’ श्रेणीको ब्यांकको शाखा हाँकिरहेका केसी व्यवस्थापन शिक्षाको व्यावहारिक ज्ञानका कारण शाखा व्यवस्थापन गर्न आफूलाई सहज भएको बताउँछन् ।

आफैं उद्यम गरेर अरूलाई रोजगार दिने कार्यमा पनि व्यवस्थापन पढेकै जनशक्ति अगाडि छन् । तिनैमध्येका एक निमराज गौतमले २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट एमबीएस दोस्रो वर्षको परीक्षा दिएलगत्तै व्यवसायको सोच बनाएका थिए । उनले ललितपुरको सातदोबाटोमा शुरू गरेको यूनिभर्सल क्याफेमा अहिले ११ जनाले रोजगारी पाएका छन् ।

नेपालमा एमबीएस÷एमबीए गरेर विदेशमा व्यवसाय गर्नेहरू पनि थुप्रै छन् । सीप विकाससँगै जनशक्ति व्यवस्थापन सिकाउने भएकोले व्यवस्थापन शिक्षा संसारभर लोकप्रिय भएको कलेज सञ्चालकहरू बताउँछन् । नेपाल मेगा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे एमबीएस÷एमबीएलाई ज्ञानसँगै सीप र नेतृत्व विकास गर्ने शिक्षा भन्छन् । “यसले विद्यार्थीहरूलाई किताबको दायराभन्दा बाहिर ल्याएर व्यवस्थित उद्यमी बन्न प्रेरित गर्छ”, उनी भन्छन् ।

एमबीएस÷एमबीए पाठ्यक्रमको उद्देश्य नै व्यापार, उद्योग, सरकारी निकाय, वित्तीय संस्थालगायत हर क्षेत्रको व्यवस्थापन गर्न योग्य र स्वरोजगारमा सक्षम बनाउनु हो ।

सेमेष्टर प्रणालीमा पढाइ हुने दुवै कोर्सको अध्ययनमा विद्यार्थीमा विश्वव्यापी व्यावसायिक दृष्टिकोण विकास गरिने लर्ड बुद्ध एजुकेसन फाउण्डेशन (एलबीईएफ) का निर्देशक पंकज जलान बताउँछन् । “दुवै कोर्सले हरेक क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउन मद्दत गर्छन्” उनी भन्छन्, “व्यावसायिक वातावरण र प्रणाली बुझ्ेका तथा जोखिम मोल्ने क्षमताको विकास भएका कारण विद्यार्थी उद्यमशीलतामा प्रेरित हुन्छन् ।”

एमबीएस÷एमबीए कोर्सले व्यक्तिलाई निर्णय लिन सक्ने र आत्मनिर्भर बनाउने भएकै कारण यसमा विद्यार्थीको आकर्षण वर्षेनि बढ्दो छ । काठमाडौं मोडल कलेजका सुवेदी तिनै विद्यार्थी कर्पोरेट क्षेत्रको नेतृत्व सम्हाल्नेदेखि उद्यमी÷व्यवसायी बन्ने बताउँछन् ।

हर क्षेत्रमा ‘फिट’
नेपालको उद्योग, कलकारखाना, कर्पोरेट हाउस, ब्यांकिङ, जलविद्युत्, शिक्षालगायतका हर क्षेत्र फराकिलो बन्दै गएका छन् । यी क्षेत्रमा प्रतिस्पर्धाले तीव्रता पाएसँगै रोजगारीका अवसरहरू सिर्जना भएका छन् । प्रतिस्पर्धामा सफल हुन योग्य व्यवस्थापक र दक्ष जनशक्ति चाहिन्छ ।

त्यसकारण, यी सबै क्षेत्रका व्यवस्थापन सम्हाल्ने, आर्थिक पाटो हेर्ने र प्रशासन चलाउनेहरू व्यवस्थापन पढेकाहरूबाटै पूर्ति हुने क्याम्पियन कलेजका कार्यक्रम संयोजक प्रणव जोशी बताउँछन् । उनी भन्छन्, “व्यावसायिक संस्थाहरूलाई सही ढंगले अगाडि बढाउन व्यवस्थापन पढेकाहरूको माग बढिरहेको छ ।”

ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्राचार्य डा. गंगाधर दाहालको भनाइमा, कुनै पनि संस्था वा निकाय सफल हुन स्रोतसाधनले सम्पन्न भएर मात्र पुग्दैन, त्यसको नेतृत्व काविल हुनै पर्छ । उनका अनुसार, एमबीएस/एमबीए पढेका जनशक्तिमा सम्भावित जोखिमहरूको आकलन र व्यवस्थापन गरेर संस्थालाई अगाडि बढाउन सक्ने क्षमता विकास भएको हुन्छ । त्यही कारण, नेपालमा एमबीएस/एमबीए पढेकाहरू विदेशमा पनि अब्बल ठहरिएको उनी बताउँछन् ।

प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, व्यवस्थापक जस्ता उपल्लो दर्जाका जनशक्ति उत्पादन गर्ने विषय भएकाले एमबीएस/एमबीएलाई ‘शक्तिमा पु‍र्‍याउने संकाय’ का रूपमा पनि हेरिन्छ । व्यापार–व्यवसाय मात्र होइन, राजनीतिक बागडोर सम्हाल्ने, प्रशासनिक संयन्त्र, कूटनीति र संघसंस्थाकोे नेतृत्व गर्ने अधिकांशले व्यवस्थापन अध्ययन गरेका हुन्छन् ।

नेपाल मेगा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे निजीदेखि गैरसरकारी संस्था र सरकारी निकायसम्मका अधिकांश क्षेत्रको नेतृत्व तहमा व्यवस्थापन पढेकाहरूकै बोलवाला रहेको बताउँछन् ।

किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल व्यवस्थापन पढेकाहरू कुनै निश्चित क्षेत्रमा खुम्चिएर बस्नु नपर्ने बताउँछन् । उनका अनुसार, व्यवस्थापन पढेका जनशक्तिले देश–विदेशका धेरै क्षेत्रमा अवसर पाउँछन् । एभरेष्ट कलेजका प्रमुख कार्यकारी अधिकृत पाण्डे एमबीएस र एमबीए दुवै कोर्समा अनिवार्य रहेको इन्टर्नसिपले विद्यार्थीलाई जुनसुकै मुलुक वा क्षेत्रमा फिट बनाउने र धेरै ‘अप्सन’ दिने बताउँछन् ।

अहिले नेपालमा त्रिभुवन विश्वविद्यालय र यसका आंगिक वा सम्बन्धन प्राप्त कलेजहरूले एमबीएस कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै त्रिविका साथै पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायत र अन्य विभिन्न विदेशी विश्वविद्यालयहरूले नेपालमा एमबीए कार्यक्रम चलाएका छन् ।

एमबीए/एमबीएसः उद्यमशील शिक्षा
सरकारले शिक्षा क्षेत्रमा वर्षेनि लगानी बढाइरहँदा निजी क्षेत्रबाट पनि ठूलो लगानी भइरहेको छ। सम्बन्धित निकायहरूले बेलाबेला पाठ्यक्रम परिमार्जन पनि गरिरहेका छन्। र पनि, नेपालको शिक्षालाई विश्वस्तरीय बनाउन शिक्षा प्रणालीको पुनर्संरचना गर्नुपर्ने यस क्षेत्रमा आवद्घहरूको धारणा छ। नेपालमा विश्वविद्यालय तहको शिक्षा र विशेषतः एमबीएस/एमबीए कार्यक्रमबारे हिमाल ले गरेको राउण्ड टेबलमा अभिव्यक्त धारणाः

अहिलेको एमबीएस/एमबीए तहको पाठ्यक्रम कति व्यावहारिक छ ?
त्रिविले स्नातकोत्तर तहको पढाइलाई सेमेष्टर प्रणालीमा बदलेसँगै पाठ्यक्रममा थुप्रै व्यावहारिक पाटो समेटिएको छ । उक्त कार्यक्रमलाई कलेजहरूले कसरी अगाडि बढाउँछन् भन्ने कुराले पनि फरक पर्छ । त्रिविले पाठ्यक्रमलाई विश्वस्तरीय बनाउन चालेको कदम सकारात्मक छ । तर यति हुँदाहुँदै पनि शैक्षिक क्यालेण्डरको अभाव र समय सुहाउँदो पाठ्यक्रम चाहिं नभएकै हो ।
विष्णुहरि पाण्डे
प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट कलेज

एमबीएस र एमबीए दुवै कोर्स उस्तै हुन् भन्दा फरक पर्दैन । एमबीएको पाठ्यक्रममा अलि बढी प्राविधिक कुराहरू समेटिएको छ भने एमबीएसमा समग्र व्यवसायको कुरा अटाएका छन् । र पनि, देश सुहाउँदो पाठ्यक्रम भएन कि जस्तो लाग्छ । समाजसँग अलि बढी जोडिने पाठ्यक्रम आवश्यक छ ।
सुरेन्द्र सुवेदी
प्राचार्य, काठमाडौं मोडल कलेज

सेमेष्टरसँगै लागू गरिएको पाठ्यक्रम कुनै विदेशी विश्वविद्यालयको भन्दा कम छैन । निजी कलेजहरूले यसलाई प्रयोगात्मक रुपमा अगाडि बढाइरहेका छन् । पछिल्लो समय सरकारी कलेजहरूले पनि राम्रो गर्न थालेका छन् । तर, सरकारी कलेजहरूलाई विद्यार्थी राजनीतिले बढी थिचेको छ ।
मधुकर पाण्डे
कार्यक्रम निर्देशक, नेपाल मेगा कलेज

स्वदेशी र विदेशी दुवै विश्वविद्यालयको पाठ्यक्रम उत्कृष्ट छ । एमबीएको पाठ्यक्रम अलि केन्द्रीकृत छ भने एमबीएसले फराकिलो क्षेत्रलाई समेटेको छ । यसको व्यावहारिक पक्षलाई सम्बन्धित कलेज र विद्यार्थी स्वयम्को अभ्यासले फरक पार्छ ।
पंकज जलान
निर्देशक, लर्ड बुद्ध एजुकेसन फाउण्डेशन

दुवै कोर्सका आफ्नै विशेषता छन् । कसैलाई स्वदेशी विश्वविद्यालयको पाठ्यक्रम मन पर्न सक्छ, कसैलाई विदेशको, तर दुवै पाठ्यक्रम विश्वस्तरीय छन् । त्रिविले चलाएको एमबीएस कोर्स पनि अत्यन्तै सान्दर्भिक छ । विद्यार्थीहरूका लागि थुप्रै रोजाइ छन् ।
प्रणव जोशी
कार्यक्रम संयोजक, क्याम्पियन कलेज

दुईमध्ये जुन पाठ्यक्रम पढे पनि विद्यार्थीले पाउने ज्ञान एउटै हो । विदेशी विश्वविद्यालयको कोर्स नेपालमा ल्याएकै कारण ठूलो रकम विदेशिनबाट जोगिएको छ । व्यावहारिक पाठ्यक्रम भएकै कारण दुवै कोर्समा हरेक वर्ष विद्यार्थीको संख्या बढ्दो छ ।
डा. विनोदबहादुर खत्री
प्राचार्य, फिनिक्स कलेज अफ म्यानेजमेन्ट

ज्ञानको हिसाबले दुवै पाठ्यक्रम एकदमै बलिया छन् । दुवै कोर्स विद्यार्थीको व्यावसायिक सीपमा केन्द्रित छन् । यसलाई अझ व्यावहारिक बनाउन सकिने ठाउँहरू पनि छन् । समाज केन्द्रित पाठ्यक्रम बनाउनुपर्ने आवश्यकता छ । त्रिविले अलि छोटो अवधिमै पाठ्यक्रम परिमार्जन गर्दै लैजानु जरुरी छ ।
डा. गंगाधर दाहाल
प्राचार्य, ग्लोबल कलेज अफ म्यानेजमेन्ट

निश्चित मापदण्ड र गुणस्तर पूरा नगर्दा विदेशी विश्वविद्यालयले सम्बन्धन दिंदैनन् । त्रिविले पनि सम्बन्धन दिनुअघि कलेजहरूबारे गम्भीर अध्ययन गर्छ । त्यसैले दुवै पाठ्यक्रम पढाउने कलेजहरू स्तरीय नै छन् ।
नरोत्तम अर्याल
कार्यकारी निर्देशक, किंग्स कलेज

एमबीएस/एमबीए पढेका विद्यार्थीको भविष्य कस्तो छ ?
विष्णुहरि पाण्डेः यो उद्यमशील कोर्स भएकाले व्यावसायिक सीप र क्षमता विकास गर्छ । व्यवसायमा आत्मविश्वास, व्यवसाय विस्तारको योजना र जोखिम थाहा पाउने क्षमता बढाउने हुनाले एमबीएस/एमबीए पढेकाहरूलाई संसारभर प्रशस्तै अवसर छन् ।

सुरेन्द्र सुवेदीः यद्यपि सिक्ने उत्सुकता र लगावले पनि विद्यार्थीको भविष्यमा फरक पार्छ । यो पनि सत्य हो कि एमबीएस÷एमबीए पढेकाहरूले व्यावसायिक ज्ञान हासिल गर्ने हुँदा आर्थिक कारोबार हुने हरेक क्षेत्रमा उनीहरूको माग पनि तीव्र छ ।

मधुकर पाण्डेः व्यवस्थापन पढ्नेहरूका लागि असीमित सम्भावना छन् । सरकारी वा गैरसरकारी निकाय, उद्योगधन्दा, कलकारखाना, कर्पोरेट हाउस, शैक्षिक क्षेत्र सबैतिर व्यवस्थापनकै विद्यार्थीको माग छ ।

पंकज जलानः एमबीएस/एमबीएको व्यावहारिक कोर्सले दैनिक जीवनदेखि कार्यालयसम्मको व्यवस्थापन गर्ने क्षमताको विकास गर्छ । व्यवस्थापकीय क्षमता विस्तारको लागि यो निर्विकल्प छ । दुवै कोर्स गुणस्तरीय शिक्षामा केन्द्रित भएकाले विद्यार्थीहरू जुनसुकै क्षेत्रमा पनि सफल हुनसक्छन् ।

प्रणव जोशीः यो धेरै फराकिलो क्षेत्र हो । नेपालमा एमबीएस÷एमबीए पढेर विदेशमा जागिर र उद्यम गर्नेहरू प्रशस्तै छन् । त्यसैले यो कोर्सलाई निश्चित दायरामा राखेर नहेरौं । यो निकै ठूलो सम्भावना भएको क्षेत्र हो ।

डा. विनोदबहादुर खत्रीः यो कोर्स पढेकाहरू व्यवस्थापनदेखि नीतिनिर्माण तहसम्म जान सक्छन् । संघसंस्था वा निकायलाई सही रुपमा कसरी अगाडि बढाउने भन्ने व्यवस्थापन शिक्षाले सिकाउँछ । आफैं उद्यमी बन्न चाहनेहरूका लागि यसले बलियो आत्मविश्वास जगाउँछ ।

नरोत्तम अर्यालः दुवै कोर्स पढ्नेको भविष्य उत्तिकै राम्रो छ । कुन क्षेत्रमा जाने भन्ने कुरा विद्यार्थीको निर्णयमा भर पर्छ । सफल वा असफल हुने पनि विद्यार्थीकै हातमा हुन्छ । जुनसुकै कलेज वा विश्वविद्यालयमा पढे पनि पाउने ज्ञान र सीप त्यही नै हो ।

समग्र शैक्षिक क्षेत्र सुधारको लागि सरकार वा निजी क्षेत्रले के–के गर्नुपर्ला ?
विष्णुहरि पाण्डेः नेपालको समग्र शैक्षिक क्षेत्रकै पुनर्संरचना गर्ने बेला आएको छ । अब पुरानो निर्देशिकाले शैक्षिक क्षेत्रलाई अगाडि बढाउन सक्दैन । नीति–नियम, ऐन, कानून सबै परिवर्तन गर्नुपर्छ । सन्ततिलाई गुणस्तरीय शिक्षा दिने हो भने आजै शिक्षा मन्त्रालयले विज्ञ सम्मिलित टोली बनाएर कम्तीमा २५ वर्षे शैक्षिक खाका तयार पार्नुपर्छ । व्यावसायिक र प्राविधिक शिक्षामा राज्यले लगानी गर्नुपर्छ ।

सुरेन्द्र सुवेदीः हाम्रो शिक्षा प्रणाली समाजसँग राम्ररी जोडिन सकेको छैन । समाज अनुकूलको पाठ्यक्रम चाहिएको छ । प्रमाणपत्र बोक्न मात्र पढ्ने वातावरण हटाउनुपर्छ । डिग्रीसँगै व्यावसायिक सीप र क्षमता विकास हुने शिक्षा प्रणालीको विकास गर्नुपर्छ । पाठ्यक्रमले समेटेका कतिपय पक्षलाई कलेजहरूको आर्थिक, भौतिक क्षमताले सम्बोधन गर्न नसकेको अवस्था पनि छ ।

मधुकर पाण्डेः पहिलो कुरा, शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त पार्नु जरुरी छ । राजनीतिक पहुँच र भागबण्डाका आधारमा विश्वविद्यालयमा गरिने नियुक्तिमा प्रतिबन्ध नै लगाउनुपर्छ । प्रतिस्पर्धाबाट नियुक्ति हुने वातावरण भए शैक्षिक क्षेत्रमा धेरै हदसम्म सुधार हुन्छ । विद्यार्थी संगठनहरूले पनि शैक्षिक केन्द्रलाई राजनीति गर्ने थलो बनाउनु भएन ।

डा. गंगाधर दाहालः संसारका कुनै मुलुकमा नभएको शिक्षा प्रणाली हाम्रै देशमा छ । सरासर पढ्ने अनि पढाइ सकेर मात्रै जागिर वा काममा लाग्ने चलन अन्य मुलुकमा छैन । त्यसैले, विद्यमान पाठ्यक्रमलाई पूर्णरुपमा परिवर्तन गरेर सीप केन्द्रित बनाउनुपर्छ ।

प्रणव जोशीः पाठ्यक्रमलाई बढी प्रयोगात्मक बनाउन जरुरी छ । सेमेष्टर प्रणालीमा प्रवेश गरेसँगै त्रिविको पाठ्यक्रम पनि ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत प्रयोगात्मक अभ्यासमा आधारित छ, तर यतिले पुग्दैन । पाठ्यक्रमले दैनिक जीवनका विभिन्न गतिविधिलाई सम्बोधन गर्नु जरुरी छ ।

पंकज जलानः सन् १९९८ मा पहिलोपटक लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम ल्याउँदा नेपालमा त्यसको ऐन/कानून नै थिएन । अहिले निर्देशिका त छ तर समस्या पनि यथावत् छन् । सरकारले निजी शैक्षिक संस्थालाई खासै सहयोग गरेको छैन । संसारका जुनसुकै विश्वविद्यालयको सम्बन्धनबाट चलेका भए पनि सरकारले समान व्यवहार गर्न सक्नुपर्छ । धिमा गतिको सुधारलाई तीव्र बनाउन आवश्यक छ ।

डा. विनोदबहादुर खत्रीः सरकारले शैक्षिक क्रियाकलापभन्दा आफू अनुकूलको निर्देशिक बनाएर लागू गरिरहेको छ । शैक्षिक विकासको मुख्य बाधक यही निर्देशिका हो । विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूले झन् बढी समस्या भोग्नुपरेको छ । नेपालमा विदेशी शिक्षा भित्र्याएबापत ठूलो रकम विदेशिनबाट जोगिएको तथ्य सरकारले बुझ्न जरुरी छ ।

नरोत्तम अर्यालः नेपाली र विदेशी सम्बन्धनबाट चलेका कलेजहरूले पाठ्यक्रम अनुसारको ज्ञान र सीप बाँड्न सक्षम देखिएका छैनन् । सरकार र हामीले पनि सुधार गर्नुपर्ने थुप्रै ठाउँ छन् । पहिला त कलेजहरूले नै सुधार गर्दै जानुपर्नेछ । सरकारले समयसमयमा अनुगमन र नियमन गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस