ब्लगआइतवार, माघ १४, २०७४

सो लङ्ग मिस हली

कनकमणि दीक्षित

संसारले मिस हलीलाई आज ‘हिमालयन क्रोनिक्लर’ भनेर चिन्छ । तर उनी आधुनिक नेपाली राजनीतिको प्रत्यक्षदर्शी र ‘आँखोदेखा’ संवाददाता पनि थिइन् ।

नेपालमै रमाउने, नेपालमै जीवन बिताउने र यतै मर्ने पश्चिमाहरूबाट हामीले केही सिकौं । आखिर किन यस्तो हुरुक्क हुन्छन् यिनीहरू– नेपालको चमक कस्तो हो, चुम्बक के हो ?

उहिले भीमसेन थापाको समयमा नेपालसँग मोहित भएथे ब्रायन हाउटन् हड्सन्, जो बन्द नेपाल संसारलाई चिनाउने अध्येता र संकलक भए । पछि गभर्नर जेनरल लर्ड एलेन्बोरोले रेजिडेन्टको पोस्टबाट झिकिदिएपछि ‘नेपाल देखिने थलो’ खोज्दै उनले दार्जीलिङमा बाह्र वर्ष बिताए ।

२००७ सालपछिको आधुनिक युगमा यस्ता कैयन् पश्चिमा छन्, जसले दिल र ज्यान नेपाललाई दिए– केहीको नाम लिनुपर्दा मार्सल मोर्‍यान्, लुड्विग स्टिलर, रोबर्ट रिफेल, क्याप्टेन किंग, जिमी रोबर्टस्, माइक चेनी, डेस्मण्ड डोइग् ।

शुक्रबार (१२ माघ) बिहान २ः४९ बजे एलिजाबेथ हलीको लैनचौरस्थित सिवेक् अस्पतालमा निधन भयो । यसका साथै हिमाली र नेपाली गाथा चिनाउने एक अन्तर्राष्ट्रिय ख्याति र महत्व बोकेकी व्यक्ति विदा भइन् ।

एलिजाबेथ हली ।

काठमाडौंमा झण्डै ६ दशक बस्दा ‘मिस हली’ भनेर चिरपरिचित एलिजाबेथ पहिलो पटक नेपाल आएको सन् १९५९ मा थियो । तत्पश्चात् १९६० देखि रोइटर्स न्यूज एजेन्सीको प्रतिनिधि भएर काठमाडौं बसिन् । उनको विशेष चासो नेपालको हिमालय र पर्वतारोहणको जानकारी संकलनमा हुनपुग्यो । ‘नेपाल हिमालय’ लाई नै ‘फोकस’ गरेकी उनले भारत, चीन, पाकिस्तान र भूटानको पर्वतारोहण सम्बन्धी अभिलेख राखिनन् ।

सन् १९०५ देखि आजसम्मको नेपाल हिमालय पर्वतारोहणको इतिहास र रिपोर्टिङ ‘हिमालयन् डाटाबेस’ अनलाइनमा विना खर्च जो कसैलाई उपलब्ध छ ।

हिमाल चढ्नेहरूको लागि मिस हलीसँगको सम्पर्क अति महत्वपूर्ण थियो । उनको तिखो आँखा र कलमले हिमाल चढेका र नचढी दाबी गर्नेहरूलाई छुट्याइहाल्थ्यो । पर्वत र पर्वतारोहणमा यत्तिको चासो राख्ने मिस हली आफैं भने ट्रेकिङ र पर्वतारोहणबाट परै रहिन् । भन्थिन्, “मलाई टेबुलमा बसेर भलाद्मी पाराले चम्चाकाँटासहित खान मन पर्छ ।”

उनले १९६० मा डिल्लीबजारको उकालोमा भण्डारीहरूको ‘कोशी कम्पाउण्ड’ मा जुन भवन भाडामा लिइन्, जीवनको अन्तिमसम्मको बसोबास त्यसैलाई बनाइन् ।

उनको हल्का नीलो फक्सवागन ‘विटल’ कार केही वर्षअघिसम्म यताउता कुदेको काठमाडौंवासीले बिर्सेका छैनन् होला । अमेरिकी पासपोर्ट रिन्यू गर्दा आफ्नो बसोबासको ठाउँ न्यूयोर्क लेख्नु पर्दा उनको मन दुखेको थियो– “मेरो घर यहीं हो, यही डिल्लीबजारको कोशी कम्पाउण्डभित्र ।”

संसारले मिस हलीलाई आज ‘हिमालयन क्रोनिक्लर’ भनेर चिन्छ । तर उनी आधुनिक नेपाली राजनीतिको प्रत्यक्षदर्शी र ‘आँखोदेखा’ संवाददाता पनि थिइन् । उनले रोइटर्सका लागि रिपोर्टिङ गरेको ‘वाटर्सेड मोमेन्टस्’ हरू थिए– शुरुमै राजा महेन्द्रको ‘कु’ अनि पंचायतकाल, वीरेन्द्रको राज्याभिषेक, २०३६ सालको जनमत संग्रह, पहिलो भारतीय नाकाबन्दी, २०४६ को जनआन्दोलन, नारायणहिटी नरसंहार, इत्यादि ।

पिक हली ।

उनको दशकौंको टिपोटहरू ‘द नेपाल सीनः क्रनिकल्स् अफ एलिजाबेथ हली’ शीर्षकमा दुई भोलुम् छापिएको छ, लिसा चोग्याल र मिकेल डन्हामको पहलमा ।

मिस हली विरलै हाँस्थिन्, तर उनमा गहिरो ‘सेन्स अफ ह्यूमर’ थियो । उनको सम्पूर्ण चासो तथ्य खोजी र प्रस्तुतिमा थियो न कि आफैं विचार दिनमा । एउटा अंग्रेजी कहावतको मर्म अनुसार ‘सी डिड् नट् सफर फुल्स’ । कुनै विषयवस्तुबारे पहिला आफैंले तयारी नगरिकन सोध्न जाँदा उनको तिखो नजरको सामना गर्नुपर्ने हुन्थ्यो ।

दुनियाँमा आफ्नो स्थान के होला वा कसैले सम्झेला, नसम्झेला भन्ने पीर मिस हलीलाई थिएन । काम धेरै गरिन् तर उपलब्धिहरूको बढाइँ गर्न आवश्यक ठानिनन् ।

सर एडमण्ड हिलारीसँग मिलेर उनले हिमाली भेकमा शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने काम गरिन् । नेपालको पर्यटन प्रवद्र्धन तथा नेपालबारे विश्वलाई जानकार गर्ने उनी जतिको थोरै छन् । तर अन्तर्वार्ताहरूमा उनी भन्थिन्, “धेरै बाँचेपछि धेरै गरिन्छ नि !”

९४ वर्षको उमेरसम्म बाँच्दा र अन्त्यसम्मै दिमाग चनाखो र जिज्ञासु रहँदा मिस हलीले धेरै देखिन्, बुझिन् र गरिन् पनि । तर पनि उनले अन्तर्वार्तामा भनिन्, “कसैले मलाई सम्झिदेओस्, त्यो आवश्यक छैन ।” उनको आशय थियो, “मरेपछि त खरानी बन्ने हो ।”

नेपाल सरकारले सन् २०१४ मा पुठा हिउँचुली छेवैको एउटा चुचुरोलाई ‘पिक हली’ नामकरण गरिदियो, जुन उनलाई चित्त बुझेन र भनिन्, “हिमाली चुचुरोहरूको स्थानीय नाम हुन्छन्, तिनै नाम कायम हुनुपर्छ । थरीथरीका मानिसको नाममा न्वारन गर्नु उचित होइन ।”

करीब ४० वर्ष अगाडि मलाई लेख्नको लागि रिसर्च गर्नुपर्छ भनेर सिकाउने मिस हली हुन् । मैले जर्ज म्यालरीबारे लेख्न खोज्दा उनले उतिबेलाको ब्रिटिश लाइब्रेरीमा रहेको किताब पढ्न लगाएकी थिइन् ।

यो सम्झना मैले बुधबार दिउँसो अस्पतालको शैय्यामा रहेकी मिस हलीलाई भेट्दा सुनाउन पाएँ । खुशी भएको संकेत गर्दै उनले अक्सिजन हटाएर बोल्न खोजिन्, तर शब्दहरू बुझिने गरी आएनन् । अनि मैले भनें, “तपाईं पत्रकार पनि भएकोले नेपालको हालको राजनीतिक गतिरोधबारे छोटकरीमा बताउँछु ।”

र, बताएँ सरकार बन्न ढिलाइ भएको वरिपरिको कथा ।

मिस हलीको एउटा तरिका थियो– विशेषतः नेपाली राजनीतिको कुरा गर्दा दिक्दार मान्दै आँखा घुमाउने (अंग्रेजीमा– रोलिङ्ग हर आइज्) । मैले उनलाई खबर सुनाउँदै गर्दा पनि शि रोल्ड हर आइज् । मिस हलीसँग विदा भई म बाहिरिएँ ।

प्रतिकृया दिनुहोस