ब्लगशनिवार, माघ १३, २०७४

पाठेघरको क्यान्सरबाट कसरी बच्ने

डा. सुमनराज ताम्राकार

पाठेघरको मुखको क्यान्सरबाट जोगिने सबभन्दा सजिलो विधि हो– स्क्रिनिङ टेष्ट। 

महिलामा सबभन्दा बढी स्तन क्यान्सर र दोस्रोमा पाठेघरको मुखको क्यान्सर हुन्छ । विश्वमा प्रति वर्ष पाँचलाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुन्छन्, तीमध्ये करीब दुई लाखको मृत्यु हुन्छ ।

नेपालमा प्रति वर्ष कति महिलालाई यी रोग लाग्छ, कतिको मृत्यु हुन्छ भन्ने तथ्यांक छैन । साधारणतः ४० वर्ष उमेर कटेपछि देखा पर्ने यो रोग अविकसित देशहरूमा ३० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरूमा समेत हुने गरेको छ । 

ह्युमेन पापिलोमा भाइरस (एचपीभी) र गर्भाशयको मुखको कोषिकामा रहने प्रोटिनको रासायनिक प्रक्रियाबाट परिवर्तित हुने कोषिकाहरू कालान्तरमा क्यान्सरमा परिणत हुन्छन् ।

कम उमेरमा विवाह हुनु, धेरै जनासँग यौनसम्पर्क राख्नु, कम उमेरबाटै धेरै बच्चा पाउनु, यौनाङ्गको सरसफाइ नगर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखमा क्यान्सर लाग्नाका कारण भए पनि प्रमुख तत्व एचपीभी नै हो ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका, एचआईभी संक्रमण भएका, अधिक मोटो, लामो समय पिल्स सेवन गरेका, तीन भन्दा बढी बच्चा पाइसकेका महिला पाठेघर क्यान्सरको जोखिममा हुन्छन् ।

२५ वर्षपछि बच्चा पाएका भन्दा १७ वर्षभित्रै आमा बनेकाहरू बढी जोखिममा हुन्छन् । पिल्स खाइरहँदा यसको जोखिम बढ्छ भने पाठेघरमा राख्ने परिवार नियोजनका साधनले जोखिम घटाउँछ । आफ्नै परिवारका आमा वा दिदीबहिनीलाई यस्तो क्यान्सर छ भने दुई–तीन गुणाले जोखिम बढ्छ ।

लक्षण र रोकथाम
महीनावारी सुकिसकेकी महिलामा फेरि रगत र रगत मिसिएको योनीस्राव देखा पर्न सक्छ । त्यसैगरी यौनसम्पर्क पश्चात् पनि रगत देखा पर्न सक्छ । महीनावारीका बेला धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ ।

यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न । दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि हुन्छ ।

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो । बालविवाहलाई निरुत्साह गर्ने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, यौनाङ्गको सरसफाइमा ध्यान दिने, सुर्तीजन्य पदार्थ सेवन नगर्ने, कुनै पनि यौनरोगको समयमै उपचार गराए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । यसका लागि स्क्रिनिङ परीक्षण सजिलो विधि हो ।

पाठेघरको मुखको क्यान्सर रोक्ने अरू उपाय पनि छन्– प्याप स्मियर वा एचपीभी डीएनए टेष्टिङ गर्ने, एचपीभी भ्याक्सिन लगाउने । एचपीभीले योनी वरिपरि, योनी, पुरुष लिङ्ग, मलद्वार र घाँटीमा असर गर्न सक्छ । एचपीभी यी अङ्गका सतहको कोषमा हुने हुनाले छालाबाट छाला अर्थात् प्रत्यक्ष सम्पर्कबाट सर्ने सम्भावना हुन्छ ।

एचपीभी विरुद्धको खोप गत वर्षबाट विश्वका धेरै मुलुकमा प्रचलनमा आएको छ । केटा र केटी दुवैमा ९ देखि १२ वर्षसम्मको उमेरमा यो भ्याक्सिन सिफारिश गरिएको छ ।

१३ देखि २६ वर्षको उमेरसम्म यो भ्याक्सिन लगाउनु राम्रो हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाले पनि एचपीभी भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । यो खोप ६ महीनाभित्र तीनवटा खोपमार्पmत दिइन्छ– दुई र तीन महीनाको अन्तरमा ।

यस भ्याक्सिनमा खासै हानिकारक तत्व छैन र नराम्रो असर पनि हुँदैन । यो भ्याक्सिनका कारण भविष्यमा गर्भ आउन समस्या हुँदैन, तर यसको मतलब अब धेरै जनासँग यौनसम्पर्क गर्न मिल्यो भन्ने चाहिं होइन । 

क्यान्सरको स्क्रिनिङ
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सबै महिलाको स्क्रिनिङ २१ वर्षको उमेरमा शुरु गर्नुपर्छ । २१ देखि २९ वर्षका महिलामा हरेक तीन वर्षमा प्याप स्मियरबाट स्क्रिनिङ गराउनुपर्दछ ।

३० देखि ६५ वर्षको उमेरसम्म हरेक पाँच वर्षको अन्तरालमा प्याप स्मियरसँगै एचपीभी डीएनए टेष्टिङ गराउनुपर्छ । सुविधा छैन भने ६५ वर्षसम्म यी दुवै टेष्टको विकल्पमा प्याप स्मियर मात्र भए पनि गराउनुपर्छ ।

एचआईभी संक्रमण भएका, अङ्ग प्रत्यारोपण गरेका, स्टेराइड औषधि सेवनका कारण शरीरको रोगसँग लड्ने क्षमता कम भएको परिस्थितिमा यस्ता स्क्रिनिङ अलि छिटो अर्थात् धेरै गर्नुपर्छ ।

पाठेघरको मुखको क्यान्सर पूर्वको अवस्थाका लागि पाठेघर निकालेको भए पनि माथि भनिए झैं उमेर अनुसारको स्क्रिनिङ जारी राख्नुपर्छ । मुखसहित पाठेघर निकालिसकेको अवस्थामा भने स्क्रिनिङ गर्नुपर्दैन ।

कुनै महिलाले बच्चा पाइसकेपछि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ रोक्नुपर्छ भन्ने होइन । कुनै महिलामा स्क्रिनिङ टेष्टको परिणाम असामान्य छ भने हरेक ६ महीनामा प्याप स्मियरबाट स्क्रिनिङ गराइराख्नुपर्छ ।

स्क्रिनिङ टेष्टको माध्यमबाट पाठेघरको मुखको कोषको असामान्य परिवर्तन पत्ता लगाएर अधिकांश क्यान्सर रोक्न सकिन्छ । समयमै पत्ता लागे पाठेघरको मुखको क्यान्सर सबभन्दा उपचारयोग्य क्यान्सर हो ।

स्क्रिनिङ टेष्टका कारण अमेरिकामा पछिल्लो ३० वर्षमा पाठेघरको मुखको क्यान्सरले हुने मृत्युमा ५० प्रतिशत कमी आएको छ । नेपालमा भने आधाजसो पाठेघरको मुखको क्यान्सरका बिरामी कहिल्यै स्क्रिनिङ नगराइएका हुन्छन् ।

प्रतिकृया दिनुहोस