ब्लगशनिवार, माघ १३, २०७४

आत्मबलका यात्री

सञ्जीव शर्मा

करीब ५५० किमी लामो लुम्बिनी–बोधगया यात्रा ह्वीलचेयरमै पूरा गरेका रामबहादुर तामाङको चाहना छ– ह्वीलचेयरबाटै दक्षिणएशियाका सबै राष्ट्र पुग्ने ।

लुम्बिनी-बोधगया यात्राका क्रममा भारतको गोपालगञ्ज नजिक रामबहादुर तामाङ गोले । तस्वीर: राम तामाङ

४ माघमा काभ्रेको भैंसेपाटीस्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा भेट्दा रामबहादुर तामाङ गोले (३६) कुरुसबाट गुडिया बनाउँदै थिए । “डेनमार्कबाट अर्डर आएको छ”, उनी भन्दै थिए । 

उनै गोले अघिल्लो साता मात्रै लुम्बिनीदेखि भारतको बोधगया (बिहार, भारत) सम्मको करीब ५५० किलोमिटर लामो यात्रा ह्वीलचेयरबाट पूरा गरी फर्केका हुन् । “मलाई घुमिरहन, नयाँ मान्छे भेट्न मन पर्छ तर; हाम्रो राज्य, समाज म जस्तालाई भित्रभित्रै गुम्साइरहने खालको छ”, उनी भन्छन् ।

गोलेको कम्मरमुनिको भाग चल्दैन, हिंडाउने भनेकै ह्वीलचेयरले हो । “हुन त हाम्रा सडक पेटीमा सद्देहरू पनि सजिलै हिंड्न गाह्रो छ” उनी भन्छन्, “हामी जस्तालाई त बाहिरै ननिस्क भने जसरी संरचनाहरू बनाइएका छन् ।”

उनको लुम्बिनी–बोधगया यात्राको उद्देश्य पनि यसैमा केन्द्रित थियो– आफूजस्तै फरक क्षमता भएकालाई समाजमा घुलमिल हुने वातावरण निर्माण गर्नु र ह्वीलचेयरको पहुँच बढाउनु ।

सिन्धुपाल्चोकका गोले काठमाडौंमा डकर्मीको काम गर्थे, कहिलेकाहीं भाडाको ट्याक्सी पनि चलाउँथे । दिनभरको कमाइ साँझ भट्टीमा सकिन्थ्यो । घरमा बाबु–आमा, श्रीमती, छोराछोरी सहितको परिवार थियो । तर, उनलाई कसैको परबाह हुँदैनथ्यो । “दिनभरि काम, साँझ रक्सीमा मस्त, जिन्दगी नै त्यति थियो”, उनी सम्झन्छन् ।

मस्तीकै एक दिन, १८ पुस २०६७ मा साथीहरूसँग गोले तातोपानी घुमेर फर्कंदै थिए । ५४ किलो भन्ने ठाउँको घुम्तीमा अचानक उनीहरू चढेको बस तल खस्यो । स्थानीय र प्रहरी मिलेर दुर्घटनामा परेकाहरूलाई उद्धार गरे, तर उत्तानो परेको बसको अघिल्लो भागले थिचिएका उनलाई मरिसकेको ठानियो ।

दुईघण्टापछि ब्यूँझदा उनले बाहिर कल्याङमल्याङ सुने । अरुलाई बोलाउन खोजे, तर बोली फुटेन । खुट्टा पनि चलेन । एकछिनपछि बेस्सरी कराए । कसैले नसुनेपछि उनलाई आफू साँच्चिकै मरिसकेको जस्तो लागेछ । “म मरिसकेछु, आत्मा मात्रै भट्किरहेको होला जस्तो लाग्यो”, उनी भन्छन् ।

यसैबीच उनी जीवितै रहेको कसैले थाहा पाएछ । उनी अस्पताल पुर्‍याइए । दुई दिनपछि मात्रै उनले कम्मर मुनिको भाग कहिल्यै नचल्ने भइसकेको थाहा पाए । अनि स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा भर्ना भए ।

केन्द्रमै रहँदा गोलेले कम्मर, खुट्टा नचल्दा आफूलाई कसरी सम्हाल्ने, कसरी पुनस्र्थापित हुने र जीवन निर्वाह कसरी गर्ने भन्ने तरिका सिके । परिवार र आफन्तको महत्व बुझे ।

लुम्बिनी–बोधगया
त्यसो त गोलेको आत्मबलको यात्रा चार वर्षअघि नै शुरु भएको थियो । नमोबुद्धबाट लुम्बिनीसम्मको यात्रामा जीवनसँगिनी सानुमायाले साथ दिएकी थिइन् । “मेरा लागि हिंडिदिने, मेरा खुट्टा बनिदिने यिनै श्रीमती, छोराछोरी छन्”, ह्वीलचेयरमै कुरुस चलाइरहेका गोले भन्छन् । यसपटकको यात्रामा भने उनलाई छोरा विज्ञान र भतिजा रामले साथ दिए, साइकलमा सँगसँगै हिंडेर ।

११ पुसमा लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रमबाट विदा हुँदा साढे ११ बजिसकेको थियो । घाम लागेको थिएन, उनले ह्वीलचेयर गुडाउँदै सुनौलीबाट सिमाना काटे । त्यसदिन ३० किमीको यात्रा पूरा गरेपछि होटलमा बास बसे ।

अर्को दिन ३३ किमी यात्रापछि महाराजगंज, मोहनापुर पुगे । उनको यात्राको उद्देश्य बुझेपछि मोहनापुरका एक स्थानीयले कर गरेर घरमै खाना खुवाएछन् । नेपालको दक्षिणी समथर क्षेत्रसँगै उत्तर भारतमा शीतलहर चलिरहेका बेला पाँच दिनपछि गोरखपुर पुग्दा मात्रै घाम अलिकति देखियो ।

“चिसोले नै यात्रा सहज बनाइदियो, नत्र दिनमा ७१ किलोमिटरसम्म ह्वीलचेयर गुडाउन कहाँ सकिन्थ्यो र”, उनी भन्छन् । भारतमा नयाँ बनेको राजमार्ग छेवैछेउ ह्वीलचेयर गुडाउनु नेपालमा भन्दा धेरै सजिलो लाग्यो उनलाई ।

कुशीनगरमा रामबहादुर तामाङ गोलेसँग सामूहिक तस्वीर खिचाउँदै भारतीय पर्यटक प्रहरी

कहिले होटल, कहिले स्कूलको कोठामा पराल ओछ्याएर त कहिले कुनै मनकारीका घरमा बास बस्दै गोले १२औं दिनमा बोधगया पुगे । राजमार्गको ‘लाइन होटल’ मा एक्लैले १७ वटासम्म रोटी खाएको सम्झेर उनी मज्जाले हाँस्छन् ।

खाजा चाहिं सधैं जसो केरा खाएछन् । “केरा सस्तो, स्वादिलो र स्वस्थकर भएकाले मात्र होइन, ह्वीलचेयरमा झुत्ती खेल्न आउने बाँदर तह लगाउन पनि काम लाग्यो”, उनी सुनाउँछन् ।

बोधगयाको मुख्य मन्दिरमा भने उनले दर्शन गर्न पाएनन् । “त्यति लामो सिंढी चढेर उक्लन सम्भव थिएन, टाढै बसेर प्रार्थना गरें” खिन्न देखिएका उनी भन्छन्, “उतिबेला बनाएको मन्दिरमा त ह्वीलचेयर गुड्ने कुरा भएन तर नयाँ बनेका संरचना त ह्वीलचेयर अनुकूल बनाइदिनु नि !”

सडक नसुहाउँदा मान्छे
नेपालसँग साँध जोडिएको उत्तरी भारत पुग्दा गोलेले के फरक पाए त ? “चिल्ला सडक, ठूल्ठूला घर, रेल, मोटर, खेतबारीमा लहलह अनाज–तरकारी, विकास निकै रहेछ” उनी भन्छन्, “तर, सडक छेउ लहरै बसेर शौच गर्ने बानी चाहिं साह्रै नराम्रो ।”

ह्वीलचेयरको पांग्रामा दिसा दलिएर हैरानै पारेछ । बस्ती आउन थाल्यो कि सचेत हुनुपर्ने । दिसा र दिसा बसेका मानिस छल्दै गुड्नुपर्ने । एक दिन त बस्तीमै पुगेर भलाद्मीजस्ता देखिने एकजनालाई गोलेले सोधे पनि, “किन शौचालय नबनाएको ?” उत्तर आएछ, “हामीलाई प्रत्येकपटक शौच गरेपछि नुहाएर शुद्ध हुनुपर्छ, त्यस्तो फोहोर घरछेउमा गर्ने कुरा भएन, उतै गर्‍यो उतैबाट नुहाएर घर फर्कियो ।”

फरक दृश्य, बस्ती र मानिस, समथरमा धेरै बल नगरेरै ह्वीलचेयर गुडाउँदाको मजा, छोरा र भतिजासँगको दोहोरी, नजानी नजानी बोलेको हिन्दी सम्झेर अहिले पनि उनी रोमाञ्चित बन्छन् ।

बस्ती छेउमा रोकिएपछि घेर्न आउनेमध्ये कतिले ह्वीलचेयरमै यति लामो यात्रा गर्ने आँट भएको भनी सम्मान देखाए, कतिले यार्सागुम्बा बेच्न आएका नेपाली भन्ठाने त कोही बित्थैमा दुःख पाउन खोज्ने ‘मूर्ख’ भन्नेसम्म भेटिए ।

“तर, म कति रमाइलो गरिरहेको छु भन्ने उनीहरूलाई थाहै भएन” गोले हाँस्दै भन्छन्, “मन उस्तै हो, चाहना र आकांक्षा उस्तै हुन्, मात्र शरीरको केही भाग चल्दैन त के भो ?”

एउटा कुरा भने उनले अचम्म देखे, त्यहाँका पसल, होटलमा कतै पनि महिला थिएनन् । सडकमा पनि महिला निकै कम देखिए । भेटिएका महिलालाई नमस्कार भन्दा पनि नफर्काउने ।

उनले पछिपछि बुझ्दै गए, महिलालाई स्वतन्त्र हिंडडुल गर्न बिहार र उत्तरप्रदेशका गाउँ कस्बाहरूमा नेपालमा भन्दा निकै गाह्रो रहेछ । उनको बुझाइमा, नेपालमा अपाङ्गता भएकालाई निस्कन गाह्रो भएजस्तै रहेछ, भारतको त्यस क्षेत्रका महिलालाई निस्कन ।

बिहारको वैशाली पुगेका गोलेले एक स्थानीयलाई “म बुद्धको जन्मस्थल नेपालको लुम्बिनीबाट बुद्धले ज्ञानप्राप्त गरेको भारतको बोधगयासम्मको यात्रा गर्दैछु” भनेछन् । तर, तिनले त लुम्बिनी भारतमै रहेको र उनले झूटो बोलेको भनेर हप्काउन थालेछन् ।

अर्का व्यक्ति आएर ‘यहाँका मानिसहरू बुझ्दैनन् अनावश्यक दुःख नगर, जाऊ’ भनेपछि उनी अघि बढे । यात्राका क्रममा भेटेसम्मका मानिसलाई उनले ह्वीलचेयरमा हिंड्नेलाई सामान्य ठान्न, दुर्घटनाबाट जोगिन, ह्वीलचेयर अनुकूल संरचना निर्माण गर्न सम्झाए, बुझाए ।

काभ्रेको साँगा भैंसेपाटीस्थित स्पाइनल इञ्जरी पुनर्स्थापना केन्द्रमा रामबहादुर तामाङ गोले । तस्वीर: सञ्जीव शर्मा

जीवन– जस्तो बनायो त्यस्तै
गोले बास्केटबल खेल्छन्, स्वीमिङ पनि गर्छन् । आफूजस्तै अपाङ्गता भएकालाई पुनस्र्थापना केन्द्रमा तालिम पनि दिन्छन् । श्रीमती पनि पुनर्स्थापना केन्द्रकी सहयोगी हुन् । १६ वर्षका छोरा कक्षा ७ मा र ११ वर्षकी छोरी कक्षा ५ मा पढ्छन् ।

बोधगया घुमेर आएपछि श्रीमान् खुशी भएको र छोरो पनि रमाएको देखेर सानुमाया दङ्ग छिन् । “पहिले पहिले त यात्रामा नगए हुन्थ्यो जस्तो लाग्थ्यो, यसपटक त उहाँलाई समेत थाहै नदिई बचत गरेको तीस हजार रुपैयाँ बाटोखर्च दिएँ”, उनी भन्छिन् ।

गोलेलाई लाग्छ, दुर्घटना नभएको, आधा शरीर नगुमाएको भए उही दिनभरको काम र बेलुकाको भट्टीको लत छुट्दैनथ्यो होला, यसरी घुम्दिनथें होला । “यो यात्रापछि मैले बुझेको चाहिं जिन्दगी जस्तो बनायो त्यस्तै बन्दो रहेछ” सरल भावमा उनी भन्छन्, “जीवन पहिले भन्दा रमाइलो छ ।”

प्रतिकृया दिनुहोस