ब्लगशुक्रवार, माघ १२, २०७४

पर्वातारोहणकी ‘अभिलेखालय’ थिइन् एलिजाबेथ हली

कुन्द दीक्षित

नेपाली पर्वतारोहणकी इतिहासकार थिइन् एलिजाबेथ हली ।

एलिजावेथ हली

एलिजाबेथ हली पहिलो पटक नेपाल आउनुअघि फर्च्यून म्याग्जिनका लागि काम गर्थिन् । काम छोडेर विश्वभ्रमणमा निस्किएकी उनी सन् १९५७ मा पहिलोपटक नेपाल आइपुगिन् । सफा नदी, गाढा निलो आकाशमा सेता चम्किला बादलका धर्सा, सडकमा आक्कलझुक्कल देखिने गाडीहरु । त्यतिबेलाको काठमाडौं उपत्यका उनलाई अमूल्य निधिको कचौरा जस्तै लाग्यो । उनी यहीं बस्न थालिन् ।

करिब आधा शताब्दीदेखि नेपाली हिमाल आरोहणको अभिलेख राख्दै आएकी यि अध्येता ११ माघ राति ९५ वर्षको उमेरमा हामीबाट संधैका लागि विदा भएकी छन् ।

हलीले रोयटर्सका लागि नेपाल संवाददाताको काम गर्थिन् । त्यसबेला काठमाडौं डेटलाईनबाट लेखिएका अधिकांश समाचारहरु हिमाल आरोहण सम्बन्धी हुन्थे । आरोहणको बारेमा अथाह ज्ञान भएकै कारण उनलाई ‘पर्वतारोहणकी वीकीपीडीया’ पनि भनिन्थ्यो ।

वसन्त ऋतुमा दक्षिणी शिविरबाट धौलागिरि हिमाल कसले चढ्यो ? सन् १९८० मा मकालु आरोहण गरेको पोलिस–ब्रिटिश टोली कति माथिसम्म पुगेको थियो ? कोरियाली टोली साँच्चिकै कञ्जनजंघाको शिखरसम्मै पुगेको हो ? पर्वतारोहण सम्बन्धी यस्ता कुनै विषयमा अलमल हुँदा त्यसको सही जवाफ हलीबाटै पाइन्थ्यो ।

पर्वतारोहण सम्बन्धी उनको ज्ञान र सूचनाबाट अचम्भित हामी भन्ने गथ्र्यौं– ‘लिज (एलिजावेथ हली) ले नभन्दासम्म कुनै पनि पवर्तारोहीले हिमाल आरोहण गरेको औपचारिक रुपमा प्रमाणित हुँदैन ।’

पर्वतारोहण गरी फर्केका आरोहीहरुलाई काठमाडौंका होटेलका लवीमा सोधपुछ गरिरहेकी हुन्थिन् उनी । आरोहणमा लागेको समय, त्यसबेलाको मौसम, सहयात्री–आरोहीका बारेमा पर्वतारोहीलाई केरकार गरिरहेकी उनी चुचुरोमा खिचेको तस्वीर समेत देखाउन भन्थिन् । धेरैले हिमाल चढनुभन्दा उनीसँगको साक्षत्कार कडा भएको प्रतिक्रिया दिन्थे ।

हलीबस्दै आएको काठमडौंको डिल्लीबजारका भण्डारीहरुको कम्पाउण्डभित्रको एउटा घरमा ५० वर्षदेखि उनले संकलन गरेका नेपाल र आरोहण सम्बन्धी अभिलेखका फाइलहरुको चाङ थियो । ती सामग्रीहरु ‘हिमालयन डाटाबेश वेबसाइट’ मा संग्रहित गरिएको छ । अचेल प्रत्येक आरोहणको यामपछि वर्षको दुईपटक जर्मन आरोही बिली बर्लिङ लगायतले उक्त वेबसाइट अपेडट गरिरहेका छन् ।

डिल्लीबजारमा उनले रोयटर्सका लागि लेखेका सामाग्री, समय र जीवनका कथा, आफ्ना हाकिम जीम एडवर्डलाई काठमाडौंको राजनीतिबारे दिइएका जानकारीका फेहरिस्तको चाङ समेत थियो ।

एकदिन हलीलाई भेट्न पुगेका हिमाली इतिहासकार मिकेल डनह्यामले उनका फाइलहरुमा सन् १९६० पछिको नेपाली इतिहासका धेरै कुरा संग्रहित रहेको देखे । उनै डनह्याम र लिसा चोग्यालले हलीका फाइललाई ‘ट्रान्सक्राइब’ गरेपछि तीन वर्षअघि ‘द नेपाल सिनः क्रनिकल्स् अफ एलिजाबेथ हली’ नामको ठूलो पुस्तक दुई भागमा प्रकाशित भयो ।

विभिन्न तथ्य–तथ्याङ्क, महत्वपूर्ण मिति, राजदरबारका विशिष्ट व्यक्ति, मन्त्री, कुटनीतिज्ञहरुसँगको बैठक र नेपालको सत्तामा रहेकाहरुबारे उनको विशिष्ट शैलीमा गरिएको विश्लेषण सहितको पुस्तक अध्येताहरुका लागि अमूल्य सन्दर्भ सामाग्री बनेको छ । एक पत्रकारका रुपमा लिजले जहिले पनि तथ्यहरु प्रस्तुत् गरिन् तर उनले लेखेका नोटका पंक्तिहरु बीच इमान्दारी, प्रेस स्वतन्त्रता र लोकतन्त्रका प्रति गहिरो प्रतिवद्धता देखिन्छ ।

एलिजावेथ हली (बायाँबाट दोस्रो)२०७२ वैशाखको महाभूकम्पभन्दा एक साता अघि  काठमाडौंको द्वारिका होटेलमा ‘द नेपाल सिनः क्रनिकल्स् अफ एलिजाबेथ हली’ को विमोचनका बेला । साथमा तत्कालीन अमेरिकी राजदूत पीटर बोडे, अमेरिकाका लागि नेपाली पूर्व राजदूत भेषबहादुर थापा र कुन्द दीक्षित । तस्वीर: स्टेफेन ह्युट

सन् १९८२ मा लिज हली बैंककबाट काठमाडौं फर्कदै थिइन् । उनी चढेकै विमानमा पूर्वप्रधानमन्त्री विपी कोइराला पनि थिए– बैंककमा उपचारपछि फर्कंदै गरेका । पछि नेपाली टाइम्सका लागि छिरिङ डोल्कर गुरुङलाई दिएको अन्तर्वार्तामा त्यो क्षण सम्झदै उनले भनेकी थिइन, “मैले उडान अवधिभर रोयटर्सका लागि लेखिरहेकी थिएँ साथसाथै तथ्यमा गडबड नहोओस भनेर बीपी र गिरिजालाई पनि सोधिरहें । नेपाल आइपुगेपछि त्यसै साँझ बीपीको निधन भएको खबर आयो । निकै दुखद क्षण थियो त्यो, उनी आफ्नो विश्वासमा अटल राजनीतिक नेता र असाधारण व्यक्ति थिए ।” त्यसबेलाको उनको रिपोर्ट न्यूयोर्क टाइम्सको पहिलो पृष्ठमा प्रकाशित भएको थियो ।

नेपाल सरकारले सन् २०१४ मा पुठा हिउँचुलीको एउटा चुचुरोलाई उनको सम्मानमा ‘पीक हली’ नामकरण गरेपछि उनलाई चित्त बुझेन । हिमालका आफ्नै स्थानीय नाम हुने भएकाले ती कायमै राख्नुपर्ने भन्दै उनले मानिसका नाममा हिमालको नाम नराख्न आग्रह गरिन् । तै पनि सरकारले नेपाली पर्वतारोहण क्षेत्रमा उनले पुर्‍याएको अमूल्य योगदानलाई कदर गर्दै नेपाल–चीन सीमानामा पर्ने ६१८२ मीटर अग्लो चुचुरोलाई ‘पीक हली’ नामाकरण गरेको छ ।

पीक हली

निलो रंगको फक्सवागन बिटल कार उनको ट्रेडमार्क जस्तै बनेको थियो । काठमाडौंका सडकमा ट्राफिक सहजहुँदासम्म पत्रकार सम्मेलन होस् वा पर्वतारोहीसँगको भेट जहाँ जाँदा पनि उनी यही गाडी हाँक्थिन् । पहिलो पटक सगरमाथाको सफल आरोहणपछि एडमन्ड हिलारीले स्थापना गरेको ‘द हिमालयन ट्रष्ट’ को समेत उनी अध्यक्ष थिइन् ।

लिज हली मेरो पहिलो पत्रकारिता गुरू हुन् । कडा मिजासकी उनलाई हरेक काममा निपूर्णता चाहिन्थ्यो, यही बानीले उनलाई महत्वपूर्ण र प्रभावशाली मेन्टर बनायो ।

१९८० को पूर्वाद्धमा उनी गर्मीको लामो छुट्टीमा रहँदा उनको काम मैले गर्नुपर्थ्यो । त्यसैबेला रोयटर्स र टाइममा मेरो बाइलाइन छापिएपछि मलाई पहिलोचोटी अन्तर्राष्ट्रिय मिडियामा परिचित गरायो । तीनै स्टोरीले गर्दा पञ्चायती शासकले केही दुख पनि दिए ।

अल्छी र लापरवाह खालका मानिसलाई उनी आफू नजिक ढिम्किन दिन्नथिन् । नेपाली भाषा सिक्ने झण्झट कहिल्यै नगरेकी उनी अलीअली नेपाली बुझ्थिन् । पर्वतारोहणबारे यत्रो अभिलेख राखेकी र रुची देखाएकी हलीले आफैं भने कुनै हिमाल चढिनन् र ट्रेकिङमा पनि उनलाई खासै रुची थिएन ।

एकपटक हामीसँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “मलाई हिमाली दृष्य निकै मनपर्छ, साँच्चिकै गज्जबको हुन्छ तर, चढ्न आवश्यक ठान्दिन ।”

 

प्रतिकृया दिनुहोस