सप्तरीमा सडक दुर्घटना एकको मृत्यु, चार घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहामा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ५५६६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ८७३० तथा ना ७ ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको मृत्यु भएको छ ।
दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का साईला दनुवार, सञ्जना दनुवार, रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् ।
घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस